८६०० एमएएच ब्याट्रीसहित ‘वनप्लस एस ६ अल्ट्रा’ सार्वजनिक, १६५ एफपीएसमा गेम खेल्न सकिने
बैशाख १६, २०८३ १४:५३
काठमाडौँ । वनप्लसले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘वनप्लस एस ६ अल्ट्रा’ (OnePlus Ace 6 Ultra) आधिकारिक रूपमा सार्वजनिक गरेको छ । गेमिङका शौखिनहरूलाई लक्षित गर्दै कम्पनीले यस फोनका लागि विशेष रूपमा डिजाइन गरिएको नयाँ गेमिङ कन्ट्रोलर पनि बजारमा ल्याएको छ ।
यसअघिका मोडलहरू एस ६ र एस ६टी भन्दा फरक यस अल्ट्रा भेरियन्टमा मिडियाटेक डाइमेन्सिटी ९५०० चिपसेट प्रयोग गरिएको छ । यो चिपसेटले ‘लिग अफ लेजेन्ड्स: वाइल्ड रिफ्ट’, ‘क्ल्यास अफ क्ल्यान्स’, ‘सोल नाइट’ र ‘सबवे सर्फर्स’ जस्ता चर्चित खेलहरू १६५ एफपीएसको उच्च फ्रेम रेटमा चलाउन सक्ने दाबी कम्पनीले गरेको छ ।
यसमा राखिएको ‘Mali-G1 Ultra’ जीपीयूमा १२ वटा कोर रहेका छन्, जसले ‘रे ट्रेसिङ’ पर्फेन्सलाई अघिल्लो पुस्ताको तुलनामा दोब्बरभन्दा बढी बनाउँछ । यसको समग्र पर्फमेन्समा ३३ प्रतिशत र सिंगल-कोर प्रदर्शनमा ३२ प्रतिशतले सुधार आएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो फोनले डेल्टा फोर्स जस्ता हेभी गेमहरू १६५ एफपीएसमा लगातार तीन घण्टासम्म कुनै अवरोधबिना चलाउन सक्छ ।
ब्याट्री र चार्जिङ
वनप्लस एस ६ अल्ट्रामा ८,६०० एमएएच क्षमताको ठुलो ब्याट्री पाउन सक्नुहुन्छ । जुन वनप्लस फोनहरूमा हालसम्मकै दोस्रो ठुलो ब्याट्री हो । १२० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने यो फोन २० मिनेटमा ५३ प्रतिशत र ४९ मिनेटमा शतप्रतिशत चार्ज हुन्छ । फोनमा ‘बाइपास चार्जिङ’ को सुविधा पनि छ, जसले गेम खेल्दा सिधै बाह्य ऊर्जा प्रयोग गरी ब्याट्रीलाई तात्नबाट जोगाउँछ ।
डिस्प्ले र गेमिङ कन्ट्रोलर
फोनमा ६.७८ इन्चको ओएलईडी डिस्प्ले छ, जसले ३,६०० निट्ससम्मको पिक ब्राइटनेस र १६५ हर्ज रिफ्रेस रेट सपोर्ट गर्दछ । गेमिङ अनुभवलाई थप सहज बनाउन छुट्टै किन्न मिल्ने गेमिङ कन्ट्रोलरमा चार वटा ब्याक बटन राखिएका छन् । यस कन्ट्रोलरले सिग्नल बलियो बनाउन थप एन्टेना, ३.५ एमएम हेडफोन ज्याक र कुलिङ फ्यानका लागि म्याग्नेटिक प्वाइन्टको सुविधा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
क्यामेरा र अन्य विशेषता
फोटोग्राफीका लागि यसको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामेरा (ओआईएस सहित) र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । फोन आल्मुनियम एलोय फ्रेमबाट बनेको छ भने धुलो तथा पानीबाट जोगिन आईपी६९के सम्मको सुरक्षा रेटिङ प्राप्त छ ।
मूल्य र उपलब्धता
चीनमा सार्वजनिक गरिएको यस फोनको सुरुवाती मूल्य (१२ जीबी र्याम र २५६ जीबी स्टोरेज) ३,८०० चिनियाँ यूआन (करिब ८४ हजार रुपैयाँ) तोकिएको छ । त्यस्तै, १६ जीबी र्याम र १ टीबी स्टोरेज भएको उच्च भेरियन्टको मूल्य ५,४०० यूआन (करिब एक लाख २० हजार रुपैयाँ) रहेको छ । गेमिङ कन्ट्रोलरको मूल्य भने ४५० युआन (करिब १० हजार रुपैयाँ) तोकिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १५:४८
