close

राष्ट्रिय किताबखाना (निजामती) का सबै सेवा आजदेखि अनलाइनबाटै, कार्यालय धाउनु नपर्ने

टेकपाना टेकपाना

बैशाख १६, २०८३ २१:४५

राष्ट्रिय किताबखाना (निजामती) का सबै सेवा आजदेखि अनलाइनबाटै, कार्यालय धाउनु नपर्ने

काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले आफ्ना सम्पूर्ण सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने भएको छ । एक विज्ञप्ति जारी गर्दै विभागले वैशाख १६ अर्थात् आजदेखि सबै सेवा अनलाइनमार्फत प्रवाह हुने जानकारी दिएको हो ।

नयाँ व्यवस्था लागु भएपछि निजामती कर्मचारीहरूले सिटरोल दर्ता र वैयक्तिक विवरण अद्यावधिक (अपडेट) गर्न विभागको कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनु पर्ने छैन । कर्मचारीहरूले आफू रहेकै स्थानबाट अनलाइन प्रणाली प्रयोग गरी यी सेवा लिन सक्नेछन् ।

विभागका अनुसार तलबी प्रतिवेदन पारित गर्ने प्रक्रियालाई सहज बनाउन 'डेडिकेटेड' ईमेलको व्यवस्था गरिएको छ । अब कर्मचारी वा सम्बन्धित कार्यालयले [email protected] मार्फत प्रतिवेदन पठाउन सक्नेछन् । निवृत्तभरण अधिकारपत्र (पेन्सन पट्टा) जारी गर्ने कार्यमा पनि विभागले सरलीकरण गरेको छ ।

अब कर्मचारीले सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय वा आफू कार्यरत कार्यालयमार्फत नै विभागको प्रणालीमा एक्सेस प्राप्त गरी अनलाइन सेवा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

अनलाइन सेवा प्रयोग गर्दा हुन सक्ने अन्योल हटाउन विभागले आफ्नो आधिकारिक वेबसाइटमा सूचना र भिडियो ट्युटोरियलसमेत राखेको छ । सेवाग्राहीले उक्त भिडियो हेरेर प्रक्रियाका बारेमा जानकारी लिन सक्नेछन् । प्रशासनिक कार्यलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले यो कदम चालिएको विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ २३:२७