काठमाडौँ । अब फेसबुक, मेसेन्जर, टिकटकजस्ता सामाजिक सञ्जालका मेसेज तथा कल एकै स्थानबाट व्यवस्थापन गर्न सकिने भएको छ । सूचना तथा सञ्चार प्रविधि कम्पनी आकाश टेलले यस किसिमको सुविधा सहित ओम्नीच्यान कम्युनिकेसन प्लेटफर्म सार्वजनिक गरेको हो ।
पछिल्लो समय फेसबुक, मेसेन्जर, टिकटकजस्ता सामाजिक सञ्जाललाई आधार बनाएर व्यवसाय सञ्चालन गर्ने क्रम बढिरहेको छ । सामाजिक सञ्जालमै आफ्नो उत्पादनको प्रचार गर्ने र त्यहीँबाट ग्राहकसँग जोडिएर व्यवसाय सञ्चालन गरिरहँदा विभिन्न प्लेटफर्ममा आउने मेसेज र कमेन्टहरूलाई व्यवस्थित गर्ने काम चुनौतीपूर्ण बन्दै गएको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै कम्पनीले यो नयाँ प्लेटफर्म ल्याएको हो । जसले विभिन्न सामाजिक सञ्जालमा आएका मेसेज, कल तथा कमेन्टहरूलाई एकै ठाउँमा ल्याएर त्यहीँबाट सबैलाई सहज रूपमा प्रतिक्रिया दिन सघाउने बताइएको छ ।
‘‘यो प्लेटफर्ममार्फत ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम डीएम, कलका साथै त्यहाँ आउने कमेन्टहरूलाई एउटै ड्याशबोर्डमा एकीकृत गरिएको छ,’’ कम्पनीका भाइस प्रेसिडेन्ट राजन कोइरालाले भने, ‘‘यसले व्यवसायहरूलाई फरक-फरक एप खोलिरहनु पर्ने झन्झटको अन्त्य गर्दे एकै प्लेटफर्ममार्फत सबै ग्राहकसँगको कुराकानीलाई सहज रूपमा व्यवस्थापन गर्न सहयोग गर्नेछ ।’’
त्यति मात्रै नभएर यसले समय र जनशक्ति कम गर्दै ग्राहक सेवालाई थप प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ । कम्पनीका अनुसार यस प्लेटफर्ममा मल्टी-एजेन्ट सपोर्ट सिस्टम पनि रहेको छ ।
जसले धेरै कर्मचारीहरूले एकै पटक ग्राहकका सन्देशहरू ह्यान्डल गर्न सक्छन् । साथै यसमा उपलब्ध स्मार्ट एआई असिस्टेन्टले ग्राहकले सोधेका सामान्य प्रश्नहरूको उत्तर आफैँ दिनुका साथै जटिल समस्याहरू सम्बन्धित कर्मचारीलाई पठाउने गर्छ ।
कम्पनीका अनुसार आगामी दिनमा यसमा टेलिग्राम, भाइबर, ईमेल, लाइभ च्याट, गुगल बिजनेस मेसेन्जर लगायतका प्लेटफर्महरू पनि जोडिनेछन् । साथै एआईमा आधारित अटोमेसन, सेन्टिमेन्ट एनालाइसिस, भ्वाइस टु च्याट जस्ता नयाँ फिचरहरू थपिँदै जाने उल्लेख छ ।
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ ७:४३
