close

८,५०० एमएएच ब्याट्री भएको ह्वावेको ‘नोभा १५ म्याक्स’ आउँदो साता विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

बैशाख १८, २०८३ १२:५५

८,५०० एमएएच ब्याट्री भएको ह्वावेको ‘नोभा १५ म्याक्स’ आउँदो साता विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

काठमाडौँ । ह्वावेले नोभा १५ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ‘नोभा १५ म्याक्स’ विश्वव्यापी रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ । आगामी मे ७ मा थाइल्यान्डमा एक कार्यक्रम गर्दै कम्पनीले यो मोडेल सार्वजनिक गर्न लागेको हो । 

ह्वावेले सन् २०२५ को डिसेम्बरमा चीनमा नोभा १५, नोभा १५ प्रो र नोभा १५ अल्ट्रा मोडेलहरू सार्वजनिक गरिसकेको छ ।

कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको टिजर अनुसार नोभा १५ म्याक्सको मुख्य आकर्षण ८,५०० एमएएच ठुलो ब्याट्री हो । यसका साथै फोनमा ५० मेगापिक्सेलको आरवाईवाईबी मुख्य क्यामेरा र साउन्डका लागि स्टेरियो स्पिकरहरू जडान गरिएको छ ।

यस फोनको डिजाइन नोभा १५ सिरिजका अन्य मोडेलभन्दा केही परिमार्जित र भिन्न रहेको कम्पनीले जनाएको छ । सार्वजनिक तस्बिरहरूका आधारमा यो स्मार्टफोन तीन विभिन्न रङहरूमा उपलब्ध हुने देखिएको छ ।

बजार विश्लेषकहरूका अनुसार नोभा १५ म्याक्स गत महिना चीनमा सार्वजनिक भएको ‘इन्जोय ९० प्रो म्याक्स’ (Enjoy 90 Pro Max) को रिब्रान्डेड संस्करण हुन सक्ने सम्भावना छ ।

यदि सोही स्पेसिफिकेसन भएमा यसमा ६.८४ इन्चको एमोलेड डिस्प्ले, किरिन ८००० चिपसेट र ४० वाटको फास्ट चार्जिङ सपोर्ट रहनेछ ।

त्यस्तै, सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहने चर्चा छ । ह्वावेले फोनको मूल्य र अन्य विस्तृत विवरण मे ७ को औपचारिक सार्वजनिक कार्यक्रममै खुलाउने छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १३:३७