सीप्यानलमा गम्भीर सुरक्षा त्रुटि फेला, विश्वभरका करोडौँ वेबसाइट ह्याक हुने जोखिम
बैशाख १८, २०८३ १७:४९
काठमाडौँ । करोडौँ वेबसाइटहरूले प्रयोग गर्ने चर्चित वेब सर्भर म्यानेजमेन्ट सफ्टवेयर ‘सीप्यानल’ (cPanel) र वेबहोस्ट म्यानेजर (WHM) मा सुरक्षा त्रुटि फेला परेको छ । यस त्रुटिको माध्यमबाट ह्याकरहरूले लगइन प्रक्रियालाई छलेर सर्भरमा पूर्ण नियन्त्रण जमाउन सक्ने भन्दै सुरक्षा अनुसन्धानकर्ताहरूले गम्भीर चेतावनी दिएका छन् ।
‘CVE-2026-41940’ नाम दिइएको यस बग ह्याकरहरूलाई रिमोट प्रविधिबाट लगइन स्क्रिन बाइपास गरी सफ्टवेयरको एड्मिन प्यानलमा पूर्ण पहुँच दिने क्षमता राख्छ । सीप्यानल र डब्लूएचएमले वेबसाइट होस्टिङ, ईमेल व्यवस्थापन, डेटाबेस जस्ता संवेदनशील काम गर्ने हुनाले यसमा ह्याकरको पहुँच पुग्नुलाई निकै खतरनाक मानिएको छ । यसबाट ह्याकरहरूले सर्भरमा रहेका डेटामा अनधिकृत पहुँच बनाउन सक्छन् ।
यसैबिच क्यानडाको राष्ट्रिय साइबर सुरक्षा एजेन्सीले एक एड्भाइजरी जारी गर्दै यस कमजोरीको दुरुपयोग हुने सम्भावना उच्च रहेको जनाएको छ । एजेन्सीका अनुसार विशेषगरी ठुला वेब होस्टिङ कम्पनीहरूका शेयर्ड सर्भरमा रहेका वेबसाइटहरू यसबाट बढी प्रभावित हुन सक्ने देखिन्छ । एजेन्सीले सीप्यानलका ग्राहक र वेब होस्टिङ कम्पनीहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरेको छ ।
सुरक्षा त्रुटि सार्वजनिक भएपछि विश्वका ठुला वेब होस्टिङ कम्पनीहरूले आफ्ना ग्राहकहरूको सिस्टम प्याच गर्न सुरु गरेका छन् । वेब होस्टिङ क्षेत्रको चर्चित नाम नेमचिप (Namecheap) ले सुरक्षा सुनिश्चित गर्न र प्याच लगाउन केही समयका लागि ग्राहकको सीप्यानल पहुँच नै बन्द गरिदिएको थियो । त्यस्तै, होस्टगेटर (HostGator) ले पनि यसलाई क्रिटिकल समस्या भन्दै आफ्नो सिस्टम अपडेट गरिसकेको जनाएको छ ।
यता, नोनहोस्ट (KnownHost) का सीईओ डेनियल पियर्सनले ह्याकरहरूले फेब्रुअरी २३ देखि नै यस त्रुटिको फाइदा उठाउने प्रयास गरिरहेको प्रमाण भेटिएको दाबी गरेका छन् । उनका अनुसार उनीहरूको नेटवर्कमा रहेका करिब ३० ओटा सर्भरमा यस्तो अनधिकृत पहुँचको प्रयास गरिएको थियो ।
सीप्यानल निर्माताले आफ्ना सबै सपोर्टेड भर्सनहरूमा यो समस्या रहेको स्वीकार गर्दै ग्राहकहरूलाई तत्काल सिस्टम अपडेट गर्न आग्रह गरेको छ । कम्पनीले वर्डप्रेस वेबसाइटहरू व्यवस्थापन गर्न प्रयोग गरिने टुल डब्लूपी स्क्वायर्ड (WP Squared) का लागि पनि सेक्युरिटी अपडेट जारी गरिसकेको जानकारी दिएको छ ।
विशेषज्ञहरूले वेबसाइट सञ्चालकहरूलाई आफ्नो वेब होस्टिङ प्रदायकसँग सम्पर्क गरी सिस्टम प्याच भएको सुनिश्चित गर्न सुझाव दिएका छन् ।
-टेकक्रन्चको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १८:५२
