दीर्घकालीन सूचना प्रविधि रणनीति र डिजिटल पूर्वाधार सरकारको उच्च प्राथमिकता: सञ्चारमन्त्री
बैशाख १९, २०८३ ८:४७
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले आगामी दशक-लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
‘सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आज मनाइँदै गरेको ‘नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३’ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री तिमिल्सिनाले डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्न सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे ।
उनले नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था विस्तार भइरहेको जानकारी दिए । उनले नेपाललाई डिजिटल नवप्रवर्तन, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना रहेको सुनाए ।
“नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई मन्त्रालयले तीव्रता दिएको छ। सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता हो,” उनले उल्लेख गरेका छन् ।
मन्त्री तिमिल्सिनाले देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डेटा सेन्टरको सुदृढीकरण र डिजिटल साक्षरतामार्फत डिजिटल विभाजन न्यूनीकरण गरिने प्रतिबद्धता समेत व्यक्त गरे । सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, स्टार्टअप विकास र राष्ट्रिय अर्थतन्त्रको नयाँ 'वृद्धि इन्जिन'का रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।
डिजिटल रूपान्तरणका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले निजी क्षेत्र, प्राज्ञिक संस्था र सरोकारवालाहरूलाई समृद्ध र आधुनिक नेपाल निर्माणको साझा यात्रामा हातेमालो गर्न आह्वान गरे ।
नेपालमा सूचना प्रविधिको विकास र प्रयोगलाई बढावा दिने उद्देश्यले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रूपमा मनाउने गरिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ ८:४७
