गुगल जेमिनाईमा अब च्याटबाटै निःशुल्क पीडीएफ, वर्ड र एक्सेल फाइल बनाउन सकिने
बैशाख १९, २०८३ ९:४३
काठमाडौँ । गुगलको एआई टुल ‘जेमिनाई’ मा च्याटबाटै विभिन्न फर्म्याटका फाइल बनाउन र डाउनलोड गर्न मिल्ने फिचर थपिएको छ । यो अपडेटसँगै प्रयोगकर्ताले प्रम्प्ट दिएर जेमिनाई एपभित्रै पीडीएफ, माइक्रोसफ्ट वर्ड, एक्सेल, गुगल डक्स, शिट्स, स्लाइड्स लगायतका फाइल तयार गर्न सक्छन् ।
यसका लागि प्रयोगकर्ता फाइल बनाउन जेमिनाई एपबाट बाहिरिनु पर्दैन । यसअघि जेमिनाईमा प्राप्त विवरणलाई अन्य एप्लिकेसनमा कपी-पेस्ट गरी फर्म्याट मिलाउनुपर्ने अवस्था थियो । नयाँ अपडेटपछि प्रयोगकर्ताले डेटालाई एक्सेल (.xlsx) फाइलमा, विवरणलाई बुँदागत ड्राफ्टमा र लामो टेक्स्टलाई पीडीएफ वा वर्ड (.docx) डकुमेन्टमा बदल्न सक्छन् । यसरी तयार भएका फाइल सोझै डिभाइसमा डाउनलोड गर्न वा गुगल ड्राइभमा एक्सपोर्ट गर्न सकिन्छ ।
यस फिचरले गुगल वर्कस्पेसका डक्स, सिट्स र स्लाइड्ससहित पीडीएफ (.pdf), वर्ड (.docx), एक्सेल (.xlsx), सीएसभी (.csv), ल्याटेक्स (LaTeX), प्लेन टेक्स्ट (TXT), रिच टेक्स्ट फर्म्याट (RTF) र मार्कडाउन (MD) फर्म्याट सपोर्ट गर्छ ।
गुगलका अनुसार यो सुविधा विश्वभरका जेमिनाई प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । फाइल तयार गर्न प्रयोगकर्ताले जेमिनाई च्याटमा आफूलाई आवश्यक फाइलको प्रकार खुलाएर प्रम्प्ट दिनुपर्नेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ १३:०
