आईफोन १८ प्रो सिरिजमा सानो डाइनामिक आइल्याण्ड हुने, यस्तो देखिनेछ नयाँ डिजाइन
बैशाख २२, २०८३ ११:५०
काठमाडौँ । एप्पलको आगामी आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा स्क्रिनको माथिल्लो भागमा रहेको डाइनामिक आइल्याण्डको आकार साविकको भन्दा सानो हुने भएको छ । विगत केही महिनादेखि भइरहेका विभिन्न चर्चाका बीच सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक भएको नयाँ क्याड फाइलले यस्तो संकेत गरेको हो ।
एउटा टिपस्टरले सार्वजनिक गरेको उक्त फाइल अनुसार नयाँ आईफोनको पञ्च-होल कटआउट आईफोन १४ प्रो पछि प्रयोगमा आएको वर्तमान डिजाइनभन्दा निकै सानो देखिन्छ । यो कटआउट पहिलेको भन्दा कम चौडा तर केही अग्लो हुनसक्ने अनुमान छ ।
एप्पलले फेस आईडीसँग सम्बन्धित केही सेन्सरहरूलाई स्क्रिनभित्र राख्न सफल भएकाले कटआउटको आकार घटाउन सम्भव भएको विश्लेषण गरिएको छ ।
आईफोन १८ प्रो सिरिजको पछाडिको डिजाइन आफ्ना पूर्ववर्ती मोडेलहरू जस्तै रहने चर्चाका बीच फ्रन्ट डिस्प्लेमा हुने यो परिमार्जन नै यस वर्षको मुख्य डिजाइन परिवर्तन हुनसक्ने देखिएको छ । यद्यपि, एप्पलले यस विषयमा आधिकारिक जानकारी भने दिएको छैन ।
The new CAD confirms the smaller dynamic island of the iPhone 18 pro. The same goes for other designs. pic.twitter.com/v5T2kjGILe
— Early Apple (@earlyappleleaks) May 4, 2026
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ ११:५०
