८५०० एमएएच ब्याट्री भएको स्मार्टफोनसहित ह्वावे वाच फिट ५ सिरिज सार्वजनिक, यस्ता छन् फिचर
बैशाख २५, २०८३ ८:५७
काठमाडौँ । ह्वावेले थाइल्यान्डको बैंककमा आयोजित ‘नाउ इज योर स्पार्क’ नामक ग्लोबल लन्च कार्यक्रममार्फत आफ्ना नयाँ उत्पादनहरू विश्व बजारमा सार्वजनिक गरेको छ । बिहीबार आयोजित उक्त समारोहमा कम्पनीले नयाँ स्मार्टवाच, स्मार्टफोन, ट्याबलेट र अन्य वेयरेबल डिभाइसहरू प्रस्तुत गरेको हो ।
कार्यक्रममा ह्वावे वाच फिट ५ सिरिजलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो ।
ह्वावेले वाच फिट ५ सिरिज अन्तर्गत ‘वाच फिट ५’ र ‘वाच फिट ५ प्रो’ गरी दुई मोडल सार्वजनिक गरेको छ । आधुनिक डिजाइनमा आधारित यी घडीहरूमा स्वास्थ्य निगरानी र फिटनेस फिचरलाई प्राथमिकता दिइएको छ ।
कम्पनीका अनुसार वाच फिट ५ मा रिसाइकल गरिएको आल्मुनियम फ्रेम प्रयोग गरिएको छ भने प्रो मोडेलमा प्रिमियम टाइटेनियम एलोय फ्रेम दिइएको छ । यसले घडीलाई हल्का बनाउनुका साथै स्क्र्याच प्रतिरोधी र बलियो समेत बनाएको छ ।
वाचमा एमोलेड डिस्प्ले प्रयोग गरिएको छ । विशेषगरी प्रो मोडलमा ३००० निट्ससम्मको अधिकतम ब्राइटनेस र निकै पातलो बेजेलयुक्त डिस्प्ले राखिएको छ । यसले गर्दा चर्को घाममा समेत स्क्रिनमा भएका अक्षर वा चित्रहरू स्पष्टसँग देख्न सकिन्छ ।
ह्वावेले यो सिरिजमा नयाँ हेल्थ सेन्सरहरू समावेश गरेको छ, जसले मुटुको धड्कन, निद्राको अवस्था र ईसीजी विश्लेषणलाई अझ सूक्ष्म र प्रभावकारी बनाउने बताइएको छ ।
कम्पनीले पहिलो पटक घडीमै ३० प्रकारका ‘माइक्रो–मुभमेन्ट स्ट्रेचिङ’ अभ्यासहरू समावेश गरेको छ । विशेषगरी लामो समयसम्म कार्यालयमा बसेर काम गर्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएका यी अभ्यासहरूले घाँटी, काँध र ढाड दुख्ने समस्या कम गर्न सहयोग पुर्याउने दाबी गरिएको छ ।
यी वाचमा ब्लुटुथ ६.०, एनएफसी र जीपीएसजस्ता सुविधा छन् । साथै धुलो र पानीबाट बचाउन आईपीएक्स रेटिङ दिइएको छ । सामान्य प्रयोगमा यसको ब्याट्री सात दिनसम्म टिक्ने कम्पनीले जनाएको छ । मूल्यको हकमा वाच फिट ५ को सुरुवाती मूल्य १९९ युरो र प्रो मोडलको २९९ युरो तोकिएको छ ।
स्मार्टवाचसँगै ह्वावेले शक्तिशाली ब्याट्री भएको ‘नोभा १५ म्याक्स’ स्मार्टफोन पनि सार्वजनिक गरेको छ । यसमा ८५०० एमएएचको ब्याट्री, ५० मेगापिक्सेलको आरवाईवाईबी अल्ट्रा भिजन क्यामेरा र ४० वाटको फास्ट चार्जिङ सुविधा रहेको छ ।
त्यसैगरी, कम्पनीले अहिलेसम्मकै पातलो मध्येको एक ‘मेट प्याड प्रो म्याक्स’ ट्याबलेट पनि ल्याएको छ। १३ इन्चभन्दा ठुलो डिस्प्ले भएको यो ट्याबलेटको मोटाइ मात्र ४.७ एमएम छ र यसको तौल ४९९ ग्राम मात्र रहेको छ ।
कार्यक्रममा यी डिभाइसका साथै बालबालिकाका लागि ‘वाच किड्स एक्स १’ र लक्जरी डिजाइनको ‘वाच अल्टिमेट डिजाइन स्प्रिङ एडिसन’ समेत प्रदर्शन गरिएको थियो ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ ८:५७
