close

एकाङ्की रूपमा विकास हुने डिजिटल प्रणालीले ‘डिजिटल डिभाइड’ मात्रै बनाउँछ: प्रचण्ड

टेकपाना टेकपाना

बैशाख २९, २०८३ १६:४

एकाङ्की रूपमा विकास हुने डिजिटल प्रणालीले ‘डिजिटल डिभाइड’ मात्रै बनाउँछ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकाङ्की रूपमा विकास हुने डिजिटल प्रणालीले समाजमा ‘डिजिटल डिभाइड’ (डिजिटल खाडल) मात्र सिर्जना गर्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

संयोजक प्रचण्डले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटलाइजेसन गर्न आफ्नो कार्यकालमा तयार भएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’, सूचना प्रविधिलाई प्राथमिकता दिँदै घोषणा गरिएको ‘आईटी दशक’ र एकद्वार सेवा प्रणालीका विषयहरू अहिलेको कार्यक्रममा पर्नु स्वागतयोग्य भएको बताए । तर, यी कार्यक्रमहरूले सरकारले दाबी गरेअनुसारको गति समात्न नसकेको उनको टिप्पणी छ ।

“आर्थिक रूपान्तरण र सामाजिक न्यायका विषयहरू स्पष्ट नहुँदा डिजिटल प्रणाली एकाङ्की बन्ने खतरा छ । डिजिटलाइजेसनलाई उत्पादन, उत्पादकत्व र सामाजिक न्यायसँग समानान्तर रूपमा अघि बढाउन सके मात्र यसले सही परिणाम दिन सक्छ,” उनले भने । उनले प्रविधिको विकासले मात्रै नपुग्ने भन्दै त्यसलाई आम जनताको जीवनस्तर सुधार र न्यायसँग जोड्नुपर्नेमा जोड दिए ।

 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ १६:४