गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको सूचना भए ईमेलमार्फत उजुरी दिन सम्पत्ति छानबिन आयोगको आग्रह
बैशाख ३१, २०८३ १२:४०
काठमाडौँ । सम्पत्ति छानबिन आयोग, २०८३ ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अस्वाभाविक र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो वा परिवारका सदस्य, आफन्त वा अन्य व्यक्तिको नाममा स्वदेश तथा विदेशमा राखेको अवैध सम्पत्तिबारे जानकारी भएमा उजुरी दिन आग्रह गरेको हो ।
आयोगको सूचना नं. २ अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले गैरकानुनी रूपमा सम्पत्ति थुपारेको सूचना, जानकारी वा प्रमाण भएमा जो कसैले उजुरी दर्ता गर्न सक्नेछन् । उजुरी दिँदा उपलब्ध भएसम्मका प्रमाणहरू उल्लेख गर्नुपर्नेछ । सम्भव भएमा त्यस्ता व्यक्तिको सम्पर्क नम्बर र ईमेल ठेगानासहितको विवरण पनि उपलब्ध गराउन भनिएको छ ।
उजुरीकर्ताले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर खुलाएर आयोगको कार्यालय (केशरमहल, काठमाडौँ) मा स्वयँ उपस्थित भई, हुलाक मार्फत वा आयोगको आधिकारिक ईमेल ठेगाना [email protected] मा उजुरी पठाउन सक्ने व्यवस्था गरिएको छ । आयोगले उजुरीकर्ताको नाम, थर र ठेगाना पूर्ण रूपमा गोप्य राखिने स्पष्ट पारेको छ ।
को-को छन् छानबिनको दायरामा ?
आयोगले सूचना नं. १ मार्फत आर्थिक वर्ष २०६२/६३ देखि २०८२ साल चैत मसान्तसम्म सार्वजनिक पदमा बहाल रहेका व्यक्तिहरूको विस्तृत सूची नै सार्वजनिक गरेको छ । छानबिनको दायरामा पर्ने मुख्य पदहरू निम्नानुसार छन्:
-
तत्कालीन श्री ५ को सरकार र नेपाल सरकारका पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरू ।
-
तत्कालीन संसद् सदस्य र व्यवस्थापिका संसद्का सदस्यहरू ।
-
संवैधानिक निकायका पदाधिकारी, पूर्व न्यायाधीशहरू र नेपाली सेनाका अवकाश प्राप्त राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका अधिकृतहरू ।
-
प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरू ।
-
राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू ।
-
नेपाल राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर, सञ्चालक समिति सदस्य र राजपत्राङ्कित प्रथम श्रेणी सरहका कर्मचारी ।
-
सरकारी बैङ्क, वित्तीय संस्था, संस्थान, प्राधिकरण र बोर्डका कार्यकारी प्रमुख तथा सञ्चालकहरू ।
-
वर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र उनीहरूका सल्लाहकार एवं स्वकीय सचिवहरू (पारिश्रमिक वा सुविधा लिए/नलिएको जोसुकै) ।
सम्पत्ति विवरण बुझाउन निर्देशन
उल्लिखित पदमा रहेका व्यक्तिहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको स्वदेश तथा विदेशको सम्पत्ति विवरण यो सूचना प्रकाशित भएको ३० दिनभित्र आयोगमा बुझाउनुपर्नेछ । सम्पत्ति विवरण फाराम आयोगको वेबसाइट www.pic.gov.np बाट डाउनलोड गर्न सकिने गरी राखिएको छ ।
आयोगले तोकिएको समयभित्र विवरण नबुझाउने वा जानाजानी अपूर्ण वा झुट्टा विवरण बुझाउनेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । थप जानकारीका लागि आयोगको केशरमहलस्थित कार्यालय वा फोन नम्बरहरू ०१-४५४६४८८ र ०१-४५४६५८८ मा सम्पर्क गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १२:४०
