close

डिजिटल नेटवर्कलाई अझ बलियो र सुरक्षित बनाउने कुरामा जोड दिँदै आज विश्व दूरसञ्चार दिवस मनाइँदै

टेकपाना टेकपाना

जेठ ३, २०८३ १०:५०

डिजिटल नेटवर्कलाई अझ बलियो र सुरक्षित बनाउने कुरामा जोड दिँदै आज विश्व दूरसञ्चार दिवस मनाइँदै

काठमाडौँ । आज १७ मे का दिन विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विश्वभर मनाइँदैछ । यस वर्षको नारा Digital Lifelines: Strengthening resilience in a connected world तय गरिएको छ ।

यसले हाम्रो दैनिक जीवनको आधार बनेका डिजिटल नेटवर्कलाई अझ बलियो र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ । हाम्रो वर्तमान संसार सञ्चार र प्रविधिमा पूर्ण रूपमा निर्भर छ । टेरेस्ट्रियल नेटवर्क, समुद्री केबुल, स्याटलाइट र डेटा प्रणालीहरूलाई डिजिटल लाइफलाइन्स भनिएको छ ।

किनभने यिनैले हाम्रा समुदाय र अर्थतन्त्रलाई चलायमान राख्छन् । शिक्षा, स्वास्थ्य, बैङ्किङ, मनोरञ्जन र सरकारी सेवाहरू अब डिजिटल माध्यममा सरेका छन् ।

तर यो डिजिटल संसारमा सानो समस्या आउनासाथ ठुलो प्रभाव पर्ने गरेको छ । उदाहरणका लागि बैङ्कको सर्भरमा प्राविधिक गडबडी हुँदा एटीएम चल्न छाड्ने, समुद्री केबुल काटिँदा इन्टरनेटको गति सुस्त हुने वा प्राकृतिक विपत्तिले सञ्चार विच्छेद हुँदा उद्धार कार्यमा बाधा पुग्ने जस्ता समस्याहरू देखिने गरेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को यस वर्षको अभियानले प्रणालीहरूलाई निर्माणको चरणदेखि नै लचिलो (Resilient by design) बनाउन आह्वान गरेको छ । यसको अर्थ कुनै पनि विपत्ति वा अवरोध आएपछि नेटवर्कहरू तुरुन्तै पुनः सञ्चालनमा आउन सकून् ।

बाढी, भूकम्प, सुनामी र सौर्य ज्वाला जस्ता प्राकृतिक विपत्ति, विद्युत् आपूर्तिमा समस्या वा सफ्टवेयरमा खराबी लगायतका पूर्वाधार विफलता र साइबर आक्रमण वा जानाजानी भौतिक पूर्वाधारमा पुर्‍याइने क्षतिलेे अवरोध पुग्ने गरेको छ ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि हरेक वर्ष १७ मेमा मनाउन थालिएको हो । यसले सन् १८६५ मा पेरिसमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको र संयुक्त राष्ट्र सङ्घको एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को स्थापना भएको सम्झना गराउँछ । सन् २००६ देखि यसलाई विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको रूपमा संयुक्त रूपमा मनाउन थालिएको छ ।

डिजिटल लचिलोपन सुदृढ गर्न ज्ञानको आधार निर्माण, जोखिम व्यवस्थापन ढाँचा, अन्तर्राष्ट्रिय मापदण्ड, सक्रिय समन्वय, विश्वासको निर्माण र विश्वव्यापी सहकार्यको आवश्यकता पर्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८३ १०:५१