close

चर्को आलोचना भएपछि आशिका तामाङले फेसबुकबाट सुटुक्क हटाइन् विवादित भिडिओ

टेकपाना टेकपाना

बैशाख ७, २०८२ १७:३४

चर्को आलोचना भएपछि आशिका तामाङले फेसबुकबाट सुटुक्क हटाइन् विवादित भिडिओ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले शनिबार एक सरकारी कर्मचारीसँग पास मागेको विवादित भिडिओ आफ्नो फेसबुक पेजबाट हटाएकी छन् । शनिबार दिउँसो अपलोड गरिएको उक्त भिडिओ छोटो समयमै भाइरल भए पनि आइतबार उनको १६ लाखभन्दा बढी फलोअर भएको पेजबाट गायब भएको हो ।

भिडिओ अनुसार ट्राफिक जाममा रोकिएका सरकारी मोटरसाइकल चलाइरहेका एक कर्मचारीलाई तामाङले नमस्ते गर्दै सोध्छिन्, “आज शनिबार होइन ?” प्रत्युत्तरमा कर्मचारीले शनिबार भए पनि अफिसमा काम रहेको बताउँछन् ।

त्यसपछि तामाङले ‘पास छ ?’ भनी प्रश्न गर्छिन् । कर्मचारीले ‘पास छ । पास बिनै कोही सरकारी गाडी चलाउँछ र ?’ भनी जवाफ दिँदै जङ्गिन्छन् । तामाङले फेरि पास देखाउन आग्रह गर्छिन् ।

त्यसपछि ती कर्मचारीले नजिकै रहेका ट्राफिक प्रहरीलाई देखाउँदै ‘प्रहरीलाई बोलाउनुस्, म उहाँलाई नै देखाउँछु । तपाईंलाई किन देखाउने ?’ भन्छन् ।

तामाङले छेउमा रहेका अर्का एक व्यक्तिलाई सरकारी मोटरसाइकल चढ्ने व्यक्तिलाई हेर्न भन्दै ट्राफिक प्रहरी बोलाउँछिन् । ट्राफिक प्रहरी आएर ती कर्मचारीले देखाएको पास हेर्छन् र सही रहेको पुष्टि गर्छन् । त्यसपछि तामाङले प्रहरीले हेरेको पास आफैंले लिन खोज्दा कर्मचारीले ‘तपाईं पास हेर्ने आधिकारिक व्यक्ति वा निकाय होइन । अथोरिटी उहाँ (ट्राफिक प्रहरी) हो,’ भन्दै दिन अस्वीकार गर्छन् । भिडिओमा कर्मचारीले ‘जहाँ पनि स्टन्ट मच्चाएको छ’ भन्दै तामाङलाई आरोप लगाएको पनि सुनिन्छ ।

तामाङले यो सम्पूर्ण कुराकानी गोप्य क्यामेराबाट खिचेको र ‘सरकारी कर्मचारीको व्यवहार हेर्नुस्’ भन्दै शनिबार दिउँसो अपलोड गरेकी थिइन् । यो भिडिओ अपलोड भएको छोटो समयमै विभिन्न सामाजिक सञ्जालमा फैलिँदै भाइरल भएको थियो ।

तामाङले राखेको सो भिडिओमा अधिकांश टिप्पणीले उनको कार्यशैलीको आलोचना गरेका थिए । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले तामाङको गल्ती भएको आशय व्यक्त गरेका थिए । यद्यपि, केहीले जनताको करबाट सञ्चालित सरकारी साधन सदुपयोग वा दुरुपयोग भइरहेको छ कि छैन भनी जाँच्ने अधिकार आम नागरिकमा रहेको भन्दै तामाङको कार्यको समर्थन पनि गरेका थिए । अर्को पक्षले भने तामाङले पब्लिसिटीका लागि स्टन्ट गरेको र सरकारी कर्मचारीलाई अनावश्यक दुःख दिएको टिप्पणी गरेका थिए ।

आइतबार दिउँसोसम्म तामाङको १६ लाख बढी फलोअर भएको आधिकारिक फेसबुक पेजबाट उक्त भिडिओ हटिसकेको छ । तामाङले आफ्नो पेजबाट भिडिओ हटाउनुको कारणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । यद्यपि, उक्त भिडिओ अन्य धेरै फेसबुक पेज, टिकटक, एक्स र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अहिले पनि उपलब्ध छ र चर्चा भइरहेको छ ।

“चाहे त्यो प्रहरी होस्, आम सर्वसाधारण होस् वा अभियन्ता नै किन नहोस्, जसलाई जे अधिकार दिएको छ, त्यही गर्नुपर्छ,” टेकपानासँग कुरा गर्दै उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले भने, “कानुन विपरीत काम गरेको छ भने जो कोहीलाई कारबाही हुन्छ ।”

सामाजिक सञ्जाल एक्समा आशिका तामाङको नामबाट खोलिएको अकाउन्टबाट पनि उक्त भिडिओ राखिएको थियो । एक्समा भने उक्त भिडिओ यथावत छ । सो भिडिओ कोट गर्दै धेरैले तामाङको शैली अराजक भएको टिप्पणी गरेका छन् ।

“तपाईं को हो बाटोमा बसेर अरूसँग कागजपत्र माग्ने ? त्यसरी बाटो हिँड्ने, गाडी चढ्नेको कागजात माग्ने अधिकारप्राप्त अधिकारी हो ? माग्ने अख्तियार लिएको मानिस हो ?” एक्समा यादव देवकोटा लेख्छन्, “कानुनले हल्लाखोरसँग आत्मसमर्पण नगरेको भए तपाईंको हर्कत कानुनले दालभात खुवाउनै पर्ने खालको छ ।”

त्यस्तै, नेपाल प्रहरी र उपत्यका ट्राफिकलाई मेन्सन गर्दै अम्रेन्द्र नारायणले एक्समा लेखेका छन्, “यो बाटोमा आम नागरिकसँग पास माग्ने अख्तियार प्राप्त व्यक्ति हो कि होइन ? उहाँको कार्य कानुन विपरीत हो कि होइन ? ट्राफिकलाई पास चेक गर्न आदेश दिन सकिन्छ भने त्यसरी नै अरूले भने के हुन्छ ?”

एक्समा मुखिया बा नामका प्रयोगकर्ताले यस्तो भिडिओले भोलिदेखि जो–कोहीले बाटोमा गएर सबैसँग पास माग्न सक्ने अवस्था सिर्जना हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनी लेख्छन्, “अबका दिनमा अर्कोले रोकेर लौ बिना अनुमतिपत्र सवारी चलाउदै हुनुहुन्छ कागजपत्र देखाउनु भन्दा चुप लागेर देखाउने हो ? बिना अनुमति बाटोमा हिँडेकाको फोटो भिडिओ खिचेको छ हैरानी दिएको छ यस्तोमा कानुन आकर्षित हुँदैन ? मलाई यस्तो गर्यो भनेर उजुरी नै दिनुपर्ने हो ?”

एक्समा क्षितिज नाम गरेका प्रयोगकर्ताले तामाङको गतिविधिले गोपनीयता उल्लङ्घन भएको उल्लेख गरेका छन् । “तपाईंलाई कसैको कानुनी अनुमति माग्ने कुनै अधिकार छैन । यदि कसैले सुविधाको दुरुपयोग गरिरहेको देखिन्छ भने, नम्बर प्लेटको फोटो खिचेर सम्बन्धित निकायमा उजुरी गर्नुहोस् । तर यसलाई अति नगर्नुहोस् । आफ्नो सीमा ननाघ्नुहोस्,” भन्दै टिप्पणी गरेका छन् ।

त्यस्तै सागर नाम गरेका प्रयोगकर्ताले तामाङले भिडिओ खिचेर गोपनीयता भङ्ग गरेको आरोप लगाएका छन् । “सरकारी कर्मचारीले आधिकारिक ठाउँमा जवाफ दिने हो । न तिमी कानुन, न तिमी प्रशासन, तिमीलाई पास देखाउनुपर्ने के छ ? क्यामेरा तेर्साएर मान्छे थर्काउने के तरिका हो? इच्छाविपरीत भिडिओ खिचेर गोपनीयता भङ्ग गरेको कसुरमा फेरि जेल जानुपर्ला नि ! देश सुधार्ने ठेक्का तिम्रो होइन । पहिला आफूलाई सुधार,” उनी लेख्छन् ।

अधिकारप्राप्त व्यक्ति वा निकाय बाहेक अन्यले जो कोहीसँग पास, सवारी चालक अनुमति पत्र वा ब्लुबुक माग्ने अधिकार नभएको अधिवक्ता बाबुराम अर्याल बताउँछन् । “असान्दर्भिक व्यक्तिले बाटोमा रोकेर पास वा अन्य कागजात माग्नु कानुन विपरीत हुन्छ,” उनी भन्छन् । सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएमा प्रक्रियागत रूपमा सम्बन्धित निकायलाई जानकारी दिन सकिने उनले सुझाव दिएका छन् । “तर, दुर्व्यवहार गर्दै भिडिओ खिच्नु भने अराजकता हो । यसले समाजमा अराजकता फैलाउँछ,” अधिवक्ता अर्यालले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १७:३९