close

घर बिरामी हुँदा सम्झिनुपर्ने नाम ‘स्किल सेवा’

टेकपाना टेकपाना

पुस २९, २०७७ १४:२१

घर बिरामी हुँदा सम्झिनुपर्ने नाम ‘स्किल सेवा’

काठमाडौं । २०७२ सालको भूकम्पपछि घर तथा भवन निर्माणलाई लिएर मानिसहरु सचेत बन्न थालेका छन् । जीवनभरको कमाई सञ्चय गरेर बनाएको घरले पुस्तौं पुस्तालाई दरिलो जग र छत प्रदान गर्न सकोस् भन्ने सबैको चाहना हुन्छ ।

तर घर निर्माणको प्राविधिक पक्ष सबैले कहाँ बुझ्न सक्छन् र ? घर निर्माणको विभिन्न चरणमा प्राविधिक समस्या व्याप्त छन् । बनिसकेको घरमा ठेकेदारले सम्झौता अनुसार संरचना, फिनिसिङ तथा फूल फर्निसिङको काम गरेको छ कि छैन ?

किन्न लागेको पुरानो घरको अवस्था ठीक छ कि छैन ? त्यसमा कुनै मेसन तथा इलेक्ट्रोनिक्सको समस्या छ कि ? घरमा कतै चर्किएको छ कि, संरचनात्मक त्रुटि वा मोइस्चर उत्पन्न हुने समस्या छन् कि ? यी सबै कुरा एउटा सामान्य व्यक्तिले थाहा पाउन सक्दैन ।

घरका यी प्राविधिक संरचनाका कारण थाहा नपाउँदा वर्षौंको खुन पसिनाको लगानी सबै बालुवामा खन्याएको पानी जस्तो भइदिन्छ । जस्तो घर बन्यो त्यसैमा सम्झौता गरी चित्त बुझाएर बस्नुपर्ने बाध्यता आउन सक्छ ।

ठूला भवन तथा भौतिक संरचनाका परियोजनामा जस्तो सिभिल इन्जिनियरिङ खटाएर नक्साङ्कन गरी घर निमार्ण गर्ने आर्थिक क्षमता सबैमा हुँदैन ।

यी आम समस्यालाई भक्तपुरस्थित ख्वपा इन्जिनियरिङ कलेजका तीनजना विद्यार्थीहरु रमेश तिमिल्सिना, शरण विक्रम थापा र महेश तिमिल्सिना गम्भीर ढङ्गबाट हेर्दै आइरहेका थिए ।

२०१८ मा इन्जिनियरिङ सकेपछि यो आम समस्याको हलभित्र तीनै युवाहरुले आफ्नो व्यवसायिक भिजन देखे । त्यही भिजनबाट निर्देशित भएर तीन युवाहरुले डेढ वर्षअघि मात्र नेपालमा पहिलो इन्जिनियरिङ स्टार्टअप कम्पनी स्किल सेवाको स्थापना गरेका छन् ।

स्किल सेवा टिम

स्किल सेवा को प्राथमिक सेवा क्षेत्र भनेको अपरेटेड अर्थात् पुरानो घरको निरीक्षण हो । ‘तपाईंले कुनै घर खरिद गर्दै हुनुहुन्छ भने घरको अवस्था ठीक छ कि छैन स्किल सेवाले निरीक्षण गरिदिन्छ,’ कम्पनीका सीईओ रमेश तिमिल्सिना भन्छन्, ‘घरभित्रको मेसन, विद्युतीय, संरचनात्मक सबै कमजोरी तथा त्रुटिहरुलाई निरीक्षण गर्छौं ।’

यस कामका लागि स्किल सेवाको आफ्नै प्राविधिक टोली तथा सिभिल इन्जिनियरहरुको समूह छ । ‘घरभित्रको समस्याको गहिरो निरीक्षण गरी मर्मत सम्हारका लागि लाग्ने खर्चको बजेट प्रपोजल पनि दिन्छौं । साथै कुनै घर किन्दा फाइदाजनक छ कि छैन भनेर परामर्श समेत दिन्छौं,’ रमेश भन्छन्

यसबाहेक घरलाई ‘फूल फंसनल’ बनाउन मर्मत सम्हारका लागि स्किल सेवाको इनहाउस टिम पनि रहेको कम्पनीका अपरेसन अफिसर महेश तिमिल्सिनाले बताए । भवन निरीक्षणका लागि कम्पनीसँग दर्जनौं हाइटेक डिभाइस छन् ।

आँखाले गर्ने निरीक्षण बाहेक स्क्यानरबाट पनि काम गरेर घरभित्रका नदेखिने त्रूटिहरु पनि पत्ता लगाउन सकिने महेश तिमिल्सिना बताउँछन्  ।

‘डेटा रिड गरेर त्यसको समस्या थाहा पाउँछौं । समस्याकाे गहिराइ के हो र कसरी भयो भनेर बुझ्छौं,’ उनले भने ।

निरीक्षण गर्ने प्राविधिक टोली तथा कम्पनीका लागि स्किल सेवाको आफ्नै आन्तरिक एप पनि छ । उक्त मोबाइल एप्लिकेसनभित्र निरीक्षण गर्दा के के कुरा हेर्ने, के के खिच्ने र कुन कुन डेटा लिने भनेर गाइडलाइन छ ।

प्राप्त डेटालाई प्राविधिकहरुले एपभित्र इन्ट्री गर्दछन् र त्यसबाट एउटा पीडीएफ निकालेर क्लाइन्टलाई दिन्छन् । क्लाइन्टहरुको समस्या र आवश्यकता अनुसारको इस्टिमेसन प्रपोजल स्किल सेवाले क्लाइन्टलाई दिन्छ ।

पुरानो घरको निरीक्षण बाहेक स्किल सेवासँग अर्को पोस्ट कन्स्ट्रक्सन इन्सपेक्सन प्याकेज पनि छ । उक्त प्याकेज अन्तर्गत ठेकेदारले घर निर्माण गरिसकेपछि सम्झौता अनुसार निर्माण प्रक्रिया र संरचना पुरा गरेको छ कि छैन भनेर निरीक्षण गर्ने महेश बताउँछन् ।

कम्पनी सञ्चालन गरेको डेढ वर्षमा कम्पनीले ३ सयभन्दा धेरै घरको निरीक्षण गरिसकेको कम्पनीका बजार वित्त प्रमुख शरण विक्रम थापा बताउँछन् । कोभिड १९ का कारण देशका ठूलठूला व्यवसायहरु प्रभावित हुँदा स्किल सेवा पनि अछुतो रहन सकेन ।

घरभित्र निरीक्षण गर्न जाने वातावरण थिएन । त्यसैले ३,४ महिना कम्पनीको सम्पूर्ण सेवा नै बन्द गरेर बस्नु परेको थापाले सुनाए । समस्या सामान्य बन्दै जाँदा अहिले दैनिक औषत ३ वटासम्म घरहरुको निरीक्षण गरिरहेको उनी बताउँछन् ।

हालसम्म कम्पनीले कुनै पनि बीटुबी ढाँचामा काम गरेको छैन । सबै काम व्यक्तिगत क्लाइन्टसँग मात्र सम्पन्न भएका छन् । ठूलठुला अपार्टमेन्ट तथा हाउजिङ भित्रका रेजिडेन्सहरुलाई सेवा दिइसकेको थापाले बताए ।

यसबाहेक स्किल सेवाले साना ठूला ९० वटा घरमा पनि मर्मत सम्हारको काम गरिसकेको छ ।काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सेवा दिइरहेको स्किल सेवाको कामको माग हेटौंडा, पोखरा र धरान जस्ता शहरमा बढिरहेको थापाले टेकपानालाई बताए ।

यी क्षेत्रलाई पनि समेटेर जान कम्पनीले नयाँ योजनामा काम गरिरहेको उनले बताए ।इन्जिनियरिङको पढाई सकेर विभिन्न कम्पनीका इन्टर्न गरेका यी २३ देखि २६ वर्षबीचका युवाहरुले नेपालमा पहिलोपटक इन्जिनियरिङ स्टार्टअपको सुरुवात गरे ।

बीचमा कोभिड १९ को धक्का पनि झेले तर आयस्रोतको मोडल स्पष्ट भएका कारण अहिले कम्पनी सन्तोषजनक रुपमा राम्ररी चलिरहेको थापा बताउँछन् । घरको निरीक्षणसँगै र मर्मत सम्हार पनि आफ्नै श्रम र सामग्री खर्चेर गर्ने हुँदा कम्पनीको आयस्रोत पनि राम्रै रहेको महेशले बताए ।

‘क्लाइन्टसँग हामी प्याकेजको क्याटेगोरी अनुसार इन्स्पेक्सन भिजिट चार्ज लिन्छौं । रिनोभेसन पनि हाम्रै इनहाउस सर्भिस भएको कारणले त्यताबाट पनि पैसा कमाउँछौं । त्यसका लागि लेबर, मटेरियल र सेफ्टी गियर हाम्रै हुन्छन्,’ महेशले भने ।

कम्पनीमा ३ जना कोर टिमबाहेक ८ जना प्राविधिकहरु छन् र बाँकी फ्रिल्यान्सर तथा आउटसोर्सिङ लगायत १६ जनाको टिम रहेको सीईओ रमेश तिमिल्सिनाले बताए ।

स्किल सेवाको सेवा लिनुपरेको खण्डमा सेवाग्राहीहरुले वेबसाइटको च्याटबडमा म्यासेज गर्न तथा वेबसाइटबाटै सीआरएम फर्म भर्न सक्छन् । सानै टिम भए पनि सहकार्यले कम्पनीलाई कोभिड जस्तो महामारीपछि पनि सस्टेन गराइरहेको तीन युवा बताउँछन् ।

स्किल सेवामा उद्यमी भएर काम गरिरहँदा आफूहरुले धेरै कुरा परिवर्तन गरेको उनीहरुको अनुभव छ । योजना एकथरी हुन्छ तर बजारको माग अर्कै हुन्छ । यस्तोमा आफू रिजिड भएर बसे मार्केट सर्भाइभल गर्न सकिन्न भनेर पाठ सिकिसकेको उनीहरु बताउँछन् ।

‘बिजनेसमा रिस्क फ्याक्टर ठूलो छ । करियर नै दाउमा राखेको छौं भोलि असफल भयौं भने फेरि शुन्यदेखि नै सुरु गर्नुपर्ने हुनसक्छ । त्यसैले आफ्नो वर्क प्रोसिड्युर क्लियर हुनुपर्छ । त्यसले भोलि काम गर्दै जादाँ समस्या वा विवाद उत्पन्न गरायो भने त्यसलाई कसरी मिलाएर जाने स्पष्ट टिम प्लान तथा भिजन हुनुपर्‍यो,’ महेशले भने ।

उनी थप्छन्, ‘केही गलत कुरा छन् भने काम गर्दै जाँदा  थाहा हुन्छ । त्यसलाई सुधार गर्दै लग्ने हो । यो एउटा एक्सपेरिमेन्टकै जर्नी भएको कारण यतिले पुग्छ, यति भए ठीक छ भनेर बस्नु हुँदैन । विस्तारै इम्प्रोभाइज्ड गर्दै लग्नुपर्छ,’ महेशले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१