काठमाडौं । भारतको राजस्थान राज्यले परीक्षामा हुने चिटिङ रोक्न इन्टरनेट सेवा बन्द गरेको छ । इन्टरनेट बन्द हुँदा लाखौं प्रयोगकर्ता प्रभावित बनेका छन् ।
राजस्थान एलिजिबिलिटी एक्जाम फर टिचर्स (रिट) ले ४० हजार शिक्षकका लागि दरबन्दी खुलाएको थियो । सोही दरबन्दीका लागि आइतबार करिब १५ लाख परीक्षार्थीहरूले परीक्षा दिने अनुमानसहित बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म इन्टरनेट बन्द गरेको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब १६ लाख परिक्षार्थीहरूले परिक्षा दिएको थियो, जबकि ८५ लाख प्रयोगकर्ताको इन्टरनेट काटिएको थियो ।
यद्यपि भोइस कल र वायर्ड इन्टरनेट (तार प्रयोग गरी जोडिएको इन्टरनेट) भने चालु नै थियो । तर राज्यभरी नै भएको करिब ८० करोड ब्रोडब्याण्ड सब्स्क्रिप्सनमध्ये करिब दुई करोड ४० लाखमात्र वायर्ड इन्टनेट रहेको छ ।
सरोकारवालाहरूले भने सरकारको यो कदम निन्दनीय भएको बताएका छन् । इण्डियन सफ्टवेयर फ्रिडम ल सेन्टरले इन्टरनेट बन्द हुँदा आर्थिक घाटासहित शैक्षिक, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा असर परेको भन्दै सरकारको यो कदमप्रति आपत्ति जनाएको छ ।
‘यस्तो महामारीको समयमा इन्टरनेट बन्द हुँदा आफ्नो काम, शिक्षालगायत सूचनाका लागि इन्टरनेट प्रयोग गर्ने धेरै प्रयोगकर्ता प्रभावित भएका छन्,’ सेन्टरले बताएको छ ।
सामाजिक सञ्जालमा यो विषयलाई लिएर केहीले आलोचना गरेका छन् भने केहीले हाँसोको पात्रो बनाएका छन् ।