close

केही नबोली एकाएक टिकटकमा यसरी लोकप्रिय बने खाबे लामे

टेकपाना टेकपाना

असोज १९, २०७८ १२:३८

केही नबोली एकाएक टिकटकमा यसरी लोकप्रिय बने खाबे लामे

काठमाडौं । गत वर्ष कोरोना महामारीको बेला जब इटलीले पहिलो लकडाउन घोषणा गर्‍यो, तब टरेन सहरमा काम गर्ने खाबे लामेले आफ्नो जागिर गुमाए । नयाँ जागिरको खोजीको क्रममा रहँदा उनले त्यो महामारीको बेला समय कटाउन टिकटक बनाउन सुरु गरे ।

खाबे लामे (Khaby lame) को नामले उनले पनि नाच्ने, भिडिओ गेमहरू हेर्ने लगायत अन्य कमेडी भिडिओहरू बनाउन थाले । त्यतिन्जेल उनी त्यति चर्चित भइसकेका थिएनन् । यही वर्षको सुरुवात देखि उनले टिकटकमा भएका लाइफ ह्याक भिडिओ अर्थात् दैनिक जीवनको कामलाई सहज बनाउनको लागि बनाइने भिडिओहरूको मजाक बनाएर टिकटक भिडिओ बनाउन सुरु गरे । 

उनका यस्ता भिडिओहरूलाई मान्छेले धेरै मन पराउन थाले र एकाएक उनी टिकटकमा चर्चित हुँदै गए । टिकटक मात्र होइन, अन्य सामाजिक सञ्जालहरूमा पनि उनको चर्चा हुन थाल्यो । आज टिकटकमा उनका ११ करोड ४० लाख भन्दा बढी फलोअर छन् ।

रोचक कुरा त के छ भने आज सम्म उनले आफ्नो कुनै पनि भिडिओमा एक शब्द पनि बोलेका छैनन् । तर पनि २१ वर्षीय लामेले टिकटकमा राज जमाएका छन् । 

‘टिकटकमा आएका भिडिओहरू हेरेर त्यसमा केही साधारण बनाउ भन्ने सोचले मैले सामान्य भिडिओ बनाएको मात्र हो । मैले हातको हाउभाउमा भिडिओ बनाउँदा बनाउँदै आएको हो । तर भिडिओमा नबोल्ने मेरै रोजाइ हो । म धेरै भन्दा धेरै मान्छेले मेरो भिडिओ हेरोस् भन्ने चाहन्थे र त्यसको लागि राम्रो उपायको रुपमा मैले मौन बस्न चाहेँ , ’  लामेले सीएनएन सँगको अन्तर्वार्तामा भनेका छन् । 

उनले बताए जस्तै उनका भिडिओहरू साच्चै नै साधारण र एकै प्रकारका हुने गर्छन् । प्राय: जसो अरुहरूले बनाएको लाइफ ह्याकको भिडिओहरूमा सोही काम गर्ने साधारण तरिका बताएर डुयट गर्ने गर्छन् ।

एक जना मान्छेले चक्कुले केरा तासेको भिडिओमा उनले हातले केरा तासेर डुयट गरेका छन् । त्यस्तै गरी एउटी महिलाले दाँतले काक्रो तासिरहेको भिडिओमा उनले तरकारी तास्नेले तासेर डुयट भिडिओ बनाएका छन् ।

उनले यस्ता भिडिओहरूमा सहज तरिकाले काम गरेपछि भिडिओको अन्तमा उनले आफ्नो दुई हात अगाडि बढाएर यसरी गर्न पर्छ भन्ने हिसाबले हातको हाउभाउमा सन्देश दिने गर्छन् । कुनै शब्द प्रयोग नभएपनि उनको हातको इसारा र अनुहारको हाउभाउले नै भिडिओ आकर्षक बनेका छन् र त्यसैलाई धेरै मान्छेले मन पराएका पनि छन् ।

‘सायद मेरो अनुहारको भावभङ्गी हाँसो उठ्दो छ, जसले मान्छेहरूलाई हसाउँछ । मेरो यस्तो साधारण कामले पनि मान्छेहरू हाँसेको मलाई एकदमै मनपर्छ,’ उनले भनेका छन् । एक अर्काको कुरा बुझ्नको लागि बोल्नै पर्छ भन्ने छैन  र जिन्दगी सामान्य छ भन्ने सन्देश उनले दिएको उनका फलोअरहरूले बताउने गरेका छन् ।  

यति मात्र होइन, पछिल्लो समयमा मान्छेहरूले अप्ठ्यारा कामहरूको भिडिओ बनाएर लामेलाई ट्याग गर्ने गर्छन् । उनी त्यस्ता भिडिओहरूमा पनि डुयट गरेर काम फत्ते गर्ने गर्छन् । टिकटकमा छिट्टै नाम कमाउनेहरूमा उनी पनि एक हुन् । प्रत्येक दिन करिब दुई लाख नयाँ फलोअरले उनलाई फलो गरिरहेका हुन्छन् ।

‘टिकटकमा चर्चित हुने अथवा नम्बर वान हुने उद्देश्यले मैले टिकटक सुरु गरेको थिइनँ । म त लकडाउनको बेलामा मान्छेहरूलाई हसाउन चाहन्थेँ । त्यसैले मैले टिकटक बनाउन सुरु गरेँ,’ उनी भन्छन्, ‘पक्कै पनि म मेरो लोकप्रियता देखि खुसी छु । तर त्यो मेरो चाहना थिएन ।’

आज उनी आफ्नो इटलीमा मात्र होइन विश्वभर नै चर्चित छन् । यसले गर्दा इन्स्टाग्राममा पनि उनका हाल चार करोड ७० लाख फलोअर पुगेका छन् । जसका कारण नेटफ्लिक्स, इटालियन खाद्य कम्पनी बारिल्ला लगायत अन्तराष्ट्रिय कम्पनीहरूले उनको इन्स्टाग्राम अकाउन्ट मार्फत आफ्ना उत्पादनहरूको प्रबर्द्धन पनि गर्न थालेका छन् ।

उनले आफूले यसरी सामाजिक सञ्जाल मार्फत कति आम्दानी गरिरहेका छन् भन्ने विषयमा खुलाउन नचाहे पनि आफ्नै कमाईले आईफोन १२ भने किनेको बताएका छन् । अठार महिना अगाडि मात्र बेरोजगार भएका लामेको जिन्दगी सामाजिक सञ्जालले परिवर्तन गरिदियो भन्दा केही फरक नपर्ला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५