close

लामो समय कम्प्युटरमा काम गर्दा हुनसक्छ यस्तो समस्या, जोगिने कसरी ?

टेकपाना टेकपाना

असोज २३, २०७८ ८:५९

लामो समय कम्प्युटरमा काम गर्दा हुनसक्छ यस्तो समस्या, जोगिने कसरी ?

काठमाडौं । कम्प्युटरमा  बसेर काम गर्दा तपाईंको आसन मिलेको हुनुपर्छ । आसन मिलेको छैन भने  ढाड,  गर्धन  र  हात  दुख्ने  समस्या  आउन  सक्छ ।

आसन नमिलाई कम्प्युटरमा धेरै बेर बस्दा यस्तो  समस्या  आउने चिकित्सकको भनाई छ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद  अनुसन्धान  तथा  तालिम  केन्द्रका  फिजियोथेरापिस्ट  डा.  विजयकुमार  झा बताउँछन् । 

यस्तो  समस्या लिएर दैनिक २५ देखि ३० जना अस्पतालमा आउने उनले जानकारी दिए । ‘कसैकसैलाई हिँड्न, डुल्न  तथा  उठ्नबस्न  समेत  गाह्रो  हुन्छ  ।  कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ,’ उनले भने ।

लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्ने उनको भनाई छ ।

डा. झाका अनुसार यस्तो समस्या बढ्दै गएमा औँलाहरूमा कमजोरी देखा पर्ने, हातखुट्टा सुक्दै जाने र प्यारालाइसिसजस्ता समस्या हुनसक्छ ।

उनी समस्या गम्भीर भए मलमूत्र बिसर्जनमा समस्या देखा  परेमा तुरुन्त उपचार गर्नुपर्ने सुझाव दिन्छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक  तरिकाले  गर्न  सकिन्छ  भने  १०  प्रतिशत रोगलाई शल्यक्रिया गर्नुपर्ने अवस्था आउने डा. झा बताउँछन् ।

यस्तो समस्या हुन नदिन नियमित रूपमा  व्यायाम  गर्ने,  अङ्ग,  मेरुदण्ड, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउनुका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्‍याउँछन् ।

लामो  समयसम्म  कुर्सी  तथा  टुलमा  झुकेर  बस्न नहुने  डा.  झाको सुझाव छ । ‘बस्नु  परेपछि  कुसनको  सहायतामा  ढाड बसाउने गर्नुहोस्,’ डा. झाले भने, ‘कम्प्युटरको काममा एक/दुई घण्टा बसिसकेपछि पाँचदेखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुहोस् ।’

उपरखुट्टी  लगाएर  वा  शरीरको  एक  भागलाई  मात्र  दबाब  दिएर  बस्ने  बानी  नबसाल्न उनको सुझाव छ ।

‘सुत्दा सिधा सुत्नुपर्छ । घोप्टो वा कोल्टे भन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । यदि नसा च्यापिएको छ भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडा मुनी तकिया राखेर सुत्नुपर्छ,’ उनले भने ।

-गोरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१