काठमाडौँ । डिजिटल जमानामा काम गर्ने तरिका पनि फेरिँदै छ । अब काम गर्न कम्प्युटर वा ल्यापटपको अगाडि बसिरहनु पर्दैन । तपाईं जहाँ भएपनि मोबाइलबाटै आफ्नो अफिसको कम्प्युटर चलाउन सक्नुहुन्छ । कलेजको प्रोजेक्ट कम्प्युटरमै सेभ छ भने मोबाइलबाटै हेर्नु सक्नुहुन्छ । वा टिभी हेर्दै मिडिया प्लेयर कन्ट्रोल गर्न सकिन्छ । यसले सुविधासँगै तपाईंको समय र ऊर्जा पनि बचाउँछ ।
सामान्यतया हामी मोबाइललाई सामाजिक सञ्जाल हेर्न, गेम खेल्न र फोन कल गर्न प्रयोग गर्छौं । तर, धेरैलाई थाहा यही मोबाइल फोनले पीसी वा म्याक चलाउन सकिन्छ भन्ने थाहा छैन । यही सन्दर्भमा आज हामी तपाईंका लागि मोबाइलबाटै कम्प्युटर चलाउने पाँच उपयोगी, भरपर्दो र स्मार्ट तरिकाबारे जानकारी दिँदैछाैँ:
१. क्रोम रिमोट डेस्कटप (Chrome Remote Desktop)
गुगलको यो निःशुल्क र भरपर्दो एप प्रयोग गरी मोबाइलबाट पीसी र म्याक दुबै चलाउन दिन्छ । यसका लागि यी बेसिक तरिका अपनाए पुग्छ:
एउटै गुगल एकाउन्टले दुवै डिभाइस साइन इन गरेपछि आफ्नो कम्प्युटर मोबाइलमै देख्न सक्नुहुन्छ ।
एक पटक सेटअप गरेपछि तपाईं मोबाइलमा माउस कन्ट्रोल, किबोर्ड टाइपिङ, फाइल खोल्ने, एप चलाउने, मिडिया कन्ट्रोल गर्ने जस्ता सुविधा सजिलै लिन सक्नुहुन्छ । भिडिओ क्वालिटीदेखि फ्रेमरेट, सेसन भ्यु सबै कस्टमाइज गर्न सकिने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको पाइन्छ ।
२. टिमभ्युअर (TeamViewer)
विश्वभर चर्चित टिमभ्युअर मोबाइलबाट कम्प्युटर चलाउन मात्रै होइन, रिमोट सपोर्ट दिन पनि मिल्छ । कतै समस्या परेमा टाढाबाट साथीलाई सपोर्ट दिन टिमभ्युअर काम लाग्छ । मोबाइलमा पनि टिमभ्युअरको एप हुन्छ । कम्प्युटरमा TeamViewer इनस्टल गरेर ID र पासवर्ड राखेपछी मोबाइलबाट सजिलै कनेक्ट गर्न सकिन्छ । इन्टरनेट स्पिड कम हुँदा ‘Optimize speed’ सेटिङ अन गर्दा स्क्रिन केही धमिलो देखिए पनि कन्ट्रोल स्मुथ हुन्छ । यदि बारम्बार कनेक्ट गर्नु छ भने ‘Unattended Access’ सेट गर्दा पासवर्ड पटक–पटक हाल्न नपर्ने सुविधा पाइन्छ ।
Windows, macOS, Linux, Android सबैमा काम गर्छ ।
मोबाइलबाट कम्प्युटर कन्ट्रोल गर्दा च्याट र भ्वाइस कल सुविधा पनि छ ।
फाइल ट्रान्सफर, स्क्रिन सेयरिङ र रिमोट सेटिङ कन्ट्रोल गर्न सकिन्छ ।
३. एनीडेस्क (AnyDesk)
एनीडेस्क पनि क्रोम रिमोट डेस्कटप र टिमभ्युअर जस्तै एप हो । तर यो अझ लो लेटेन्सी र उच्च सुरक्षाका लागि चर्चित छ । एनीडेस्कले कम्प्युटरको स्क्रिन मोबाइलमा बिलकुलै सजिलै देखाइदिन्छ । डेस्कटप आईडी मोबाइलमा बुकमार्क गर्न सकिन्छ, ताकि बारम्बार आईडी खोज्न नपरोस् । यदि इन्टरनेट स्पिड कम छ भने फ्रेम रेट घटाउन सकिन्छ र काम स्मुथ गराउन सकिन्छ । रिमोट एक्सेस सुरक्षा संवेदनशील विषय भएकाले पासवर्ड सधैं बलियो राख्न नभुल्नुहोला ।
लो लेटेन्सीमा पनि राम्रो चल्छ
अनलाइन कनेक्सन कमजोर हुँदा समेत काम गर्ने
डेटा सुरक्षामा ध्यान दिइएको एप
४. स्प्लाशटप (Splashtop)
स्प्लाशटप एप खासगरी भिडिओ हेर्न, गेम खेल्न वा मिडिया कन्ट्रोलका लागि बढी काम लाग्छ । यो एपले लो लेटेन्सीमा राम्रो रेस्पोन्स दिन्छ । भिडिओ चलाउँदा ‘High Performance Mode’ अन गर्नुभयो भने स्क्रिन क्लियर देखिन्छ । तर मोबाइल डेटामा चलाउँदा ‘Low Quality Mode’ राख्दा डेटा पनि बच्छ र कनेक्सन पनि स्मुथ हुन्छ ।
Game वा भिडियो चलाउँदा ‘High Performance Mode’ अन गर्नुहोस्
हटस्पट कनेक्शनमा काम गर्दा ‘Low Quality Mode’ प्रयोग गर्नुहोस्
यदि आवाज चाहिंदैन भने कनेक्सन सेटिङमा Audio Routing अफ गर्न सक्नुहुन्छ ।
५. रस्टडेस्क (RustDesk)
रस्टडेस्क ओपन सोर्स एप हो । सुरक्षाका हिसाबले यो एप बढी मन पराइन्छ । यसको सबै डेटा प्राइभेट सर्भरबाट चलाउन सकिन्छ । तर रस्टडेस्क इनस्टल गर्दा कम्प्युटरको फाइरवाल पर्मिसन दिन जरुरी हुन्छ । यदि इन्टरनेट कमजोर छ भने ‘Low Quality Mode’ राखेर काम गर्दा राम्रो रेस्पोन्स आउँछ । तर रस्टडेस्कको एपीके फाइल चाहिँ विश्वसनीय साइटबाट मात्र डाउनलोड गर्न आवश्यक छ ।
एपीके फाइल डाउनलोड गर्दा विश्वासिलो साइटबाट मात्र लिनुहोस् । अफिसियल साइट वा गिटहबबाट डाउनलोड गर्न सक्नुहुन्छ ।
Firewall Permission दिन नबिर्सनुहोस् । कम्प्युटरमा रस्टडेस्क चलाउँदा Firewall अनुमति दिनुपर्ने हुन्छ, नत्र कनेक्ट हुँदैन ।
‘Low Quality Mode’ एक्टिभ गर्नुहोस् । यदि इन्टरनेट स्पिड कम छ भने यसले भिडियो क्वालिटी घटाएर कन्ट्रोल स्मुथ बनाउँछ ।
यी सबै एप चलाउँदा केही कुरा सधैं ध्यान दिनुपर्छ । मोबाइल र कम्प्युटर दुवैलाई एकै वाईफाई नेटवर्कमा जोड्दा कनेक्सन अझ राम्रो हुन्छ । मोबाइल डेटामा चलाउँदा इन्टरनेट स्पिड कम हुने र डेटा छिट्टै सकिन सक्छ । ‘Remote Session’ सकिएपछि एप बन्द गर्न नभुल्नुहोला । किनभने ब्याकग्राउन्डमा खुलेर छाड्दा डेटा खर्चिन्छ र मोबाइल स्लो हुन सक्छ ।
यदि कुनै प्रोजेक्ट फाइल, मिडिया वा पावरप्वाइन्ट प्रिजेन्टेसन मोबाइलबाट कन्ट्रोल गर्नुपर्नेछ भने मोबाइलमा पनि सम्बन्धित एप राखेर चलाउन सकिन्छ । मोबाइलबाट स्लाइड स्क्रोल, मिडिया स्टार्ट, स्टप वा फाइल एडिट गर्न सकिन्छ ।