काठमाडौं । एप्पलले हालै राज्य संरक्षित साइबर आक्रमणको कानुनी लडाइ सुरु गरेपछि आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई चेतावनी म्यासेज दिन थालेको छ । केही समय अगाडि मात्र एप्पलले पेगासस जस्तो जासुसी स्पाइवेयर बनाउने इजरायली कम्पनी एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त सफ्टवेयरमार्फत डिभाइसलाई ह्याक गरेर ह्याकरले त्यहाँबाट फोटो, म्यासेज, ईमेल लगायतका जानकारीहरू प्राप्त गर्न सक्छन् । यसका साथै गोप्य रुपमा लक्षित व्यक्तिको डिभाइसमा माइक्रोफोन वा क्यामेरा एक्टिभेट समेत गरिदिन सक्छन् ।
यसैबीच एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई यस्तो प्रकारको आक्रमणबारे जानकारी दिनको लागि ‘एप्पल थ्रेट नोटिफिकेसन’ फिचर सञ्चालनमा ल्याएको छ । जसले यसरी हुने आक्रमणबारे लक्षित व्यक्तिलाई सचेत गराउनेछ ।
यो फिचर उपलब्ध भएसँगै एप्पलले अभियन्ता र अनुसन्धानकर्ता गरी छ जनालाई थाइल्यान्ड सरकारले लक्षित गरेको भन्दै अलर्ट म्यासेज पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यस्तो म्यासेज पाउनेहरूमा ब्याङककका थम्मसत विश्वविद्यालयका राजनीतिक वैज्ञानिक प्राजक कोङकिराती, अनुसन्धानकर्ता सरिन अचाननुतकुल, अभियन्ता यिङचिप अट्चानोन्त लगायत घाना र अन्य देशका केही नागरिकहरू रहेका छन् ।