close

टिम्सको शुल्क घटाउने माइक्रोसफ्टको घोषणा, जुमसँग कडा प्रतिस्पर्धा हुने अनुमान

टेकपाना टेकपाना

मंसिर २०, २०७८ ९:५

टिम्सको शुल्क घटाउने माइक्रोसफ्टको घोषणा, जुमसँग कडा प्रतिस्पर्धा हुने अनुमान

काठमाडौं । माइक्रोसफ्ट टिम्स भर्चुअल मिटिङ मात्रै नभएर कार्यालयको काम घरमै बसेर गर्नको लागि पनि उपयोगी छ । यसमा भएका विभिन्न फिचरले ‘वर्क फ्रम होम’ हुँदा पनि विभिन्न व्यक्तिले के काम गरिरहेका छन् भनेर अनुगमन गर्न मिल्छ ।

भर्चुअल मिटिङका लागि जुमसँग प्रतिस्पर्धा गरिरहेको माइक्रोसफ्ट टिम्सलाई आक्रामक रुपमा अघि बढाउन माइक्रोसफ्टले नयाँ निर्णय गरेको छ ।

अब कुनै पनि साना कार्यालयले व्यवसायिक प्रयोजनको लागि टिम्सलाई छुट्टै किनेर प्रयोग गर्न सक्छन् । यसअघि टिम माइक्रोसफ्टको विभिन्न अफिस प्याकेज किन्नेलाई पनि उपलब्ध थियो ।

माइक्रोसफ्टले टिम्सलाई मात्रै प्रयोग गर्न मिल्ने गरी नयाँ भर्सन सार्वजनिक गर्ने घोषणा गरेसँगै यसले जुमसँग शुल्क र सुविधाको हिसाबले चर्को प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

एकै पटकमा तीन सय जना व्यक्तिले प्रयोग गर्न मिल्ने गरी टिम्सको इसेन्सियल भर्सन सार्वजनिक गर्ने माइक्रोसफ्टले जनाएको छ ।

यो भर्सनमा एकै पटकमा तीन सय जनाले लगातार ३० घण्टा भर्चुअल रुपमा जोडिन सक्ने सुविधा हुनेछ भने १० जीबीसम्मको क्लाउड स्टोरेजको सुविधा उपलब्ध हुनेछ । यसको लागि प्रति प्रयोगकर्ता प्रतिमहिना चार डलर मात्रै शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टले घोषणा गरेको यो शुल्क र सुविधा जुमले अहिले दिइरहेको भन्दा उपयोगी हुनेछ । जुमले आफ्नो प्रो भर्सनमा प्रति प्रयोगकर्ता प्रतिमहिना १५ डलर शुल्क लिइरहेको छ जसमा एक पटकमा बढीमा एक सय जना सहभागी हुन सक्छन् ।

यस्तै, जुम बिजनेश भर्सन प्रयोग गर्नेले प्रति प्रयोगकर्ता प्रतिमहिना २० डलर तिर्नुपर्ने हुन्छ भने यसमा १ जीबीसम्म मात्रै क्लाउड स्टोरेजको सुविधा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२