close

के चीन नक्कली मान्छे बनाउँछ ? आफ्नो जस्तै अनुहारका चिनियाँमाथि मस्कको प्रतिक्रिया

टेकपाना टेकपाना

पुस १५, २०७८ १५:५९

के चीन नक्कली मान्छे बनाउँछ ? आफ्नो जस्तै अनुहारका चिनियाँमाथि मस्कको प्रतिक्रिया

काठमाडौं । हालै सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बन्यो । जसमा टेस्लाका संस्थापक एलन मस्कको जस्तै अनुहार भएका चिनियाँ व्यक्ति थिए ।

उक्त भिडिओमा कयौँ व्यक्तिले प्रश्न उठाइरहेका थिए भने कसैले वास्तविक भएको बताइरहेका थिए । यसैक्रममा एलन मस्क स्वयम्‌ले समेत उक्त भिडिओमाथि प्रतिक्रिया जनाएका छन् ।

उनले भिडिओको रिप्लाईमा ट्वीट गर्दै ‘सायद म हल्का चाइनिज जस्तै छु’ भनेका छन् । यो भिडिओ सुरुमा टिकटकको चिनियाँ भर्सन ड्युइनमा पोस्ट गरिएको थियो ।

जसमा मस्क जस्तै देखिने एक चिनियाँ व्यक्ति कालो कारको नजिक उभिएका देखिन्छन् । उनलाई मानिसहरूले यी लङ मस्क बताउन सुरु गरे । यो भिडिओ ट्वीटर र अन्य सामाजिक सञ्जालमा समेत भाइरल हुन थाल्यो ।

त्यही भिडिओमा टेस्लाका सीईओ मस्कले प्रतिक्रिया दिएका हुन् । एकजना ट्वीटर प्रयोगकर्ताले उक्त भिडिओको विषयमा लेख्दै चीनसँग सबै चिजको आफ्नै भर्सन हुने गरेको बताए ।

कयौँ प्रयोगकर्ताले भिडिओकै विषयमा प्रश्न उठाउँदै त्यसलाई डिप फेक समेत बताए । एक व्यक्तिले त्यसलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट डिप फेक भिडिओ भएको प्रतिक्रिया दिए ।

डिपफेक एउटा त्यस्तो एआई प्रविधि हो, जसको सहयोगमा प्रयोगकर्ताले एडिटेड भिडिओ बनाउन सक्छन् ।  यो यति धेरै कुशलतापूर्वक तयार हुन्छ कि भिडिओमा देखिने व्यक्ति वास्तविक व्यक्ति समान लाग्छ ।

त्यसैले त डिपफेक र आधिकारिक भिडिओलाई छुट्याउनै मुस्किल हुने गर्छ । चिनियाँ प्रकाशन द ग्लोबल टाइम्सले समेत यस विषयलाई यकिन साथ खुलाउन सकेको छैन ।

एआई प्रविधि प्रयोग गरी आफ्नो अनुहारलाई मस्कको अनुहारले छोपेको भन्ने आरोपको विषयमा ती व्यक्तिले आफ्नो पछिल्लो भिडिओमार्फत आइतबार लाइभमा आउने बताएका छन् । जसमा उनले आफ्नो भिडिओ १० हजार पटक रि-पोस्ट भएकाले लाइभमा आउने बताएको विषय समेत ग्लोबल टाइम्समा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२