काठमाडौं । मोबाइल टावरको रेडियसनले मानव जीवनमा असर पार्छ/पार्दैन भन्ने विषयमा फरक-फरक राय आउने गरेका छन् । कतिपयले यो मानव जीवनका लागि हानिकारक छ भन्दै आएका छन् भने कसैले यसले कुनै असर नपार्ने दावी गर्दै आएका छन् ।
जसका कारण पछिल्लो समय घर र बस्तीमा मोबाइल टावर निर्माण गर्न नदिने प्रवृत्तिसमेत देखापरेको छ । जसको असर दूरसञ्चार कम्पनीहरुलाई परिरहेको छ ।
टावरबाट विकिरण उत्सर्जन हुने र यसले स्वास्थ्यमा असर गर्नेभन्दै धेरै ठाउँमा स्थानीयले टावर राख्न रूचि नदेखाएको गुनासो सेवाप्रदायकलाई गर्दै आएका छन् ।
यसैले पनि केही समयअघि मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल टावरबाट निस्कने विकिरणले मानव स्वास्थ्यमा असर गर्छ कि गर्दैन वा जोखिम न्यूनीयकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक अध्ययन गर्न निर्देशन दिएको थियो ।
हुन त प्राधिकरण आफैंले पनि चालू आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रममा समेत यसलाई समावेश गरेको थियो । त्यसैका आधारमा हाल प्राधिकरणले यसको अध्ययन प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरणले आइतबार सार्वजनकि रुपमा अध्ययनका लागि प्रस्ताव आह्वान गरेको छ । प्राधिरकणले मोबाइल टावरबाट उत्सर्जन हुने विरणले पार्ने अध्ययनका लागि यही जनवरी १३ तारिखसम्म आवेदन दिनसक्ने जनाएको छ ।
उक्त मितिसम्म आएको आवदेनका आधारमा अन्त्तिम चरणमा दुई ओटा कम्पनीलाई प्रदेशअनुसार अध्ययनको जिम्मा दिने तयारी गरिएको छ । प्राधिकरणले यो अध्ययनलाई दुईवटा प्याकेजको रुपमा अघि बढाएको छ । जसमा पहिलो प्याकेज अन्तर्गत प्रदेश १ र २ समेटिएको छ ।
जसमा थोरैमा पनि ६०० ओटा मोबाइल टावरको अध्ययनका लागि समेटिनुपर्ने जनाइएको छ । त्यस्तै दोस्रो प्याकेज अन्तगर्त कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको छ ।
उक्त क्षेत्रका करिब ४०० मोबाइल टावर अध्ययनमा समेटिनु पर्ने प्रावधान राखिएको छ । विशेष गरेर बजारमा टावरबाट उत्सर्जन हुने विकरणकोको विषयमा देखिएको दुवीधालाई निर्मुल गर्ने उद्देश्यले यो अध्ययन अघि बढाएको जनाएको छ ।
हुन त यसअघि प्राधिकरणले मोबाइल टावरबाट उत्सर्जन हुने विकिरण न्यूनीकरणका लागि मापदण्ड तयार पारेको थियो । मानिसको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्राधिकरणले हालै मोबाइल टावरबाट सिर्जित विद्युतीय चुम्बकीय विकिरण (ईएमआर) बाट सर्वसाधारण तथा कामदारको सुरक्षासम्बन्धी विनियमावलीमा, २०७६ जारी गरेको छ ।
यसअन्तर्गत मोबाइल टावर स्थापना र सञ्चालन गर्ने दूरसञ्चार सेवाप्रदायकले तोकिए बमोजिम मात्र विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ । नियमावलीअनुसार सामान्य मानिस र सो टावरमा काम गर्ने व्यक्तिका लागि भनेर फरक मापदण्ड तोकिएको छ ।
त्यस्तो विकिरण उत्सर्जनको मापदण्ड रेडियो फ्रिक्वेन्सी रेन्जअनुसार पनि फरक फरक हुनुपर्ने उल्लेख गरिएको छ । नियमावलीअनुसार मोबाइलको बेस स्टेशनका लागि १० देखि ४०० मेगाहर्जको तहमा इलेक्ट्रिक फिल्ड स्ट्रेन्थ २८ भोल्ट प्रति मिटर हुनुपर्नेछ ।
म्याग्नेटिक फिल्ड स्ट्रेन्थ ०.०७३ एम्प्लि प्रतिमिटर र पावर डेन्सिटी २ वाट प्रतिमिटर स्क्वायर हुने पर्नेछ । त्यसैगरी, ४०० देखि २ हजार मेगाहर्ज, २ देखि ३०० गिगाहर्जको इलेक्ट्रिक फिल्ड स्ट्रेन्थ, म्याग्नेटिक फिल्ड स्ट्रेन्थ र पावर डेन्सिटी सामान्य मानिस र कामदारको फरक–फरक तोकिएको छ ।
जसअनुसार साधारण मानिस लागि कामदारको तुलनामा ५ गुणा कम विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन गर्ने किसिमले टावरको स्थापना गर्नुपर्ने प्रावधान छ ।
यस्ता प्रावधानका बावजुद पनि घर तथा बस्तीमा मोबाइल टावर निर्माण गर्न नदिने प्रवृत्ति बढिरहेको भन्दै प्राधिकरणले यसको यथार्थ अध्ययन गर्न प्रक्रिया अघि बढाएको हो । जसले मोबाइल टावरबाट विकिरण उत्सर्जन हुन नहुने तथा त्यसको असर मानव शरीरमा पर्नेरनपर्ने लगायतको विषयमा अध्ययन गर्नेछ ।