काठमाडौं । राजस्व अनुसन्धान विभागले स्क्रिल र बिनान्स मार्फत अवैध रुपमा डलर कारोबार गरेको भन्दै चार जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले एकै परिवारका तीन जना सहित चार जना विरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार अभियुक्तमा कैलाली लम्की चुवा स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ टोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, वबुबा नरबहादुर खड्का र दिनेशकै केटी साथी अनिता धिताल रहेका छन् । विभागले दिनेश, उनकी दिदी भगवती र बुबा नरबहादुरसँगको बयान, विभिन्न बैंकका स्टेटमेन्ट, बरामद मोबाइलमा प्राप्त मिसिल, संलग्न डेटा लगायत कल डिटेल समेतलाई मिसिलमा प्रमाणको रुपमा राखेको छ ।
उनीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप स्क्रिल र बिनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसुर गरेको आरोप विभागले लगाएको छ । उक्त कार्यमा संलग्न रही सामूहिक रुपमा काठमाडौंको कालोपुल समेतमा डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।
दिनेश खड्काले स्क्रिल र बिनान्समार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरेर दिनेश खड्काको ग्लोबल आईएमई बैंक समेतबाट नौ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँको कारोबार गरेका थ ए । त्यस्तै उनले अनिता धितालको लक्ष्मी बैंक समेतबाट पाँच करोड ७७ लाख छ हजार ८२६ रुपैयाँ, भगवती खड्काको एनआईसी एसिया बैंक समेतबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र नरबहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँको कारोबार गरेका थिए ।
यसरी उनीहरूमाथि कूल ३७ करोड ६४ लाख ११ ११ हजार १०० रुपैयाँ (३१ लाख २७ हजार ८९६ अमेरिकी डलर) बिगो दाबी गरिएको छ । चारै जना प्रतिवादीले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंकको सूचना समेतले निषेध गरेको कसूर गरेको पुष्टि हुन आएको विभागले जनाएको छ । जसअनुसार दिनेश खड्का विरुद्ध सोही ऐन अनुसार बिगो जफत गरी तीन वर्षसम्मको कैद सजाय माग गरिएको छ ।