सुविसु सुरु हुने समयमा टीभी र इन्टरनेट दिने सेवाप्रदायक एउटै थिएनन् । बजारमा टीभी च्यानल सेवा प्रदायक कम्पनीहरु र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छुट्टा छुट्टै रुपमा थिए । तर इन्टरनेट कम्पनीहरु डायलप र वायरलेसमा थिए । केबल टेलिभिजन प्रणाली भने एकोहोरो प्रकृतिको ‘कोएक्सेल केबल’ मा चलिरहेको थियो ।
त्यो बेला हामी भर्खरै इंजिनियरिङ पास गरेर देशमै केही गरौं भनेर आएका थियौं । म, सुधीर, र मेरो पार्टनर सुरेन्द्रले केही गरौं भनेर सल्लाह गर्यौँ । तर जब कोएक्सेल केबलमार्फत अमेरिकामा टीभी र इन्टरनेट एउटै तारबाट दिन सुरु भएको कुरा थाहा हुन आयो, त्यसपछि हामी एकदमै उत्साहित भयौं । डक्सिस नामक यो प्रविधि अमेरिकामा निकै चर्चित भइरहेको थियो ।
यो प्रविधिमा इन्टरनेट र टीभी एउटै तारबाट चल्थ्यो । हामीले सोच्यौं, यो नेपालमा प्रयोग गर्न सकियो भने, राम्रो हुन्छ । किनभने डायलअपमा एक त ब्याण्डविथ पनि पर्याप्त नपाइने । वायरलेसमा पनि ब्याण्डविथ नपुग्ने । यसरी इन्टरनेट ‘स्लो’ हुँदा ब्रोडब्याण्डको विस्तारले नै चुनौति खेपिरहेको थियो ।
हामीले केबलमार्फत यो समस्या समाधान गर्न सक्छौं भन्ने अठोटका साथ अनुमतिपत्रका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दियौँ । पहिलोपटक हाम्रो आवेदन रद्द भयो । दोस्रो पटक पनि त्यस्तै भयो ।
नेपालमा डक्सिस प्रविधि आउनै पर्ने थियो । अमेरिकामा छ भने कुनै न कुनै समय यहाँ आउँछ भन्ने हिसावले नै हामीले लाइसेन्स माग गरेका थियौँ । त्यसै हिसावमा हामीले सन् २००१ (१७ पुष २०५७) मा टीभी कम्पनी सुरु गर्यौँ । केबल टीभी सेवाप्रदायकको रुपमा सुरु गरिएको भए पनि हामीले त्यसबेलादेखि नै दोहोरो प्रणाली (टू वे सिस्टम) सेटअप गरेका थियौँ ।
हामीलाई लाइसेन्स किन दिइएन भन्ने वास्तविक कारण त अहिलेसम्म थाहा पाउन सकिएको छैन । वायरलेस, डायलप र स्याटेलाइट इन्टरनेट सेवाका लागि लाइसेन्स दिइन्थ्यो । तर, त्यो बेला केबललाई दिइने लाइसेन्सको विषयमा स्पष्ट नियम नभएरै हुनुपर्छ ।
विस्तारै नियामकको सोँचमा पनि परिवर्तन आउन थाल्यो । तेस्रो पटकको प्रयासमा मुस्किलसँग सन् २००४ मा मात्रै हामीले लाइसेन्स पायौँ । यसरी नेपालमा केबल इन्टरनेट सेवाको लाइसेन्स पाउने पहिलो कम्पनी हामी नै हौँ । लाइसेन्स पाएको ६ महिनामै सेवा सुरु गर्नुपर्ने थियो । तोकिएकै समयमा इन्टरनेट र टेलिभिजन एक साथ दिन सफल पनि भयौँ ।
अहिले सुविसु स्थापना गरेको १९ वर्ष पुग्यो । लाइसेन्स पाउन भएको ढिलाईका कारण हामीले केबल टीभीबाट सुरु गरे पनि पछि इन्टरनेट समेत दिन थाल्यौँ । यस किसिमको ‘टू वे सिस्टम’ बनाउन धेरै नै लगानी लागेको थियो ।
बजारमा त आयौँ, तर हामीसँग विज्ञताको कमी थियो । टीभी त चलिरहेको थियो, तर इन्टरनेट चलाउन आवश्यक ‘टू वे सिस्टम’मा काम गर्ने जनशक्ति भने पर्याप्त मात्रामा थिएन । त्यसले गर्दा हामीलाई प्राविधिक टोली तयार गर्न समय लाग्यो ।
त्यो बेला डायलपमा अधिकतम स्पीड २५६ देखि ५१२ केबीपीएस हुन्थ्यो । त्यसमा फाइदा के थियो भने हामीले उच्च गतिको इन्टरनेट दिन सक्थ्यौँ । अरुको भन्दा हाम्रो स्पीड अलि बढी नै हुन्थ्यो । हामीले भने एक एमबीपीएसदेखि दुई एमबीपीएससम्म दिइरहेका थियौँ ।
जसले इन्टरनेटको अनुभव एकदमै फरक बन्यो । बजारले पनि हाम्रो सेवालाई एकदमै राम्रो रुपमा लियो । जसले हामीलाई छोटो समयमै सेवा विस्तार गर्न सजिलो भयो । विशेषगरी हामीले डायलअप र वायरलेस प्रविधिलाई प्रतिस्थापन नै गर्यौँ भन्नुपर्छ ।
त्यस समय बजारमा हामीले यो व्यवसायलाई पूर्णरुपमा फरक सोचेका थियौं । हामीले टिभी पनि डिजिटल रुपमै दिने कुरा सोचेका थियौं । जब कि त्यो बेला नेपालमा सबै टीभी एनालग प्रणालीमा मात्रै थिय । अर्कोतर्फ इन्टरनेटमा डायलप, स्याटेलाइट वायरलेस चलिरहेको थियो । हामीले केबलमा दिन थालेका थियौँ । त्यसबाट प्रयोगकर्ताले फरक अनुभव पाउँथे ।
जब हामीले केबल इन्टरनेट सुरु गर्यौं त्यो बेला हाम्रो प्रविधिले तीब्र रुपमा ग्राहक बढाउन पनि सहयोग मिल्यो । वितेको दुई तिन वर्षमा फाइर प्रविधि निकै प्रयोगमा आउन थाल्यो । हुन त हामीले २००८ देखि नै कर्पोरेट ग्राहकहरुलाई फाइबर प्रविधिमा सेवा दिँदै आइरहेका थियौँ । यद्यपी, केबलमा रहेका ग्राहकले पनि राम्रो स्पिड पनि पाइरहेकै छन् ।
प्रविधिगत हिसाबले एफटीटीएच र डक्सिसको तुलना गर्ने हो भने खासै फरक छैन, उस्तै नै छ । युरोप–अमेरिका तिर आज पनि डक्सिस प्रयोगमा छ । ठुलठुला सेवाप्रदायकले त्यसैलाई चलाइरहेका छन् । तर नेपालको सन्दर्भमा विद्युत चुनौतिको रुपमा थियो ।
आरएफमा काम गर्ने विशेषज्ञताको अभावका कारण एफटीटीएच सर्वाधिक लोकप्रिय भईरहेको छ । त्यसैले गएको दुई–तीन वर्षदेखि हामीले पनि यो सेवा हाम्रा ग्राहकलाई समेत दिन थालेका छौँ । एफटीटीएचमै भविष्य छ भन्ने कुरा हामीलाई पनि महसुस भएको छ ।
हामीले प्रयोग गर्ने प्रविधि विशुद्ध कोएक्सेले हुँदैन थियो । हाइब्रिड फाइबर कोएक्स भनिन्थ्यो । जसमा आधा फाइबरमै जान्थ्यो । त्यसपछि अप्टिकलबाट आरएफमा रुपान्तरण हुन्थ्यो । त्यसलाई चाहिँ एचएफसी नेटवर्कको नामले पनि चिनिन्छ, त्यही हामीले चालाईरहेका थियौँ ।
यसको मतलब हामीसँग अप्टिकलमा कुनै किसिमको अनुभव नै थिएन भन्ने चाहिँ होइन । एफटीटीएचमा जाँदा टीभी ग्राहकलाई कसरी अप्टिकलमा लैजाने भन्ने विषय चाहिँ हामीलाई चुनौतिको रुपमा थियो । अहिले आएर नयाँ प्रविधिको विकासले त्यसलाई सम्बोधन गरिदिएको छ ।
जनवरी १ मा हामी १९ औँ वार्षिकोत्सव मनाउँदै छौँ । यो १९ वर्षको अवधिमा धेरै उतारचढाव आए । कम्पनीका लागि राम्रोसँगै नराम्रो पनि रह्यो । गएको ७ अगस्टमा हाम्रो मूख्य कार्यालमा आगालागि भयो ।
जब हाम्रो मूख्य कार्यालयमा आगो लाग्यो, त्यसबाट सबैभन्दा बढी टीभीका ग्राहकहरु प्रभावित भएका थिए । इन्टरनेटको कुरा गर्दा बालुवाटारबाट वितरण गरिएका ग्राहकहरु प्रभावित हुन पुगे । त्यस बाहेक काठमाडौंका अधिकांश ठाउँ र बाहिरका स्थानमा भने नियमित रुपमा सेवा चलिरहेको थियो ।
आगलागीबाट २४/२५ प्रतिशत ग्राहकहरु प्रभावित हुन पुगेका थिए । तर, टेलिभिजन भने विहान २ बजे नै सुचारु गरिसकेका थियौँ । जे होस् धेरैजसो ग्राहकहरु प्रभावित भएनन् ।
सुरुदेखि नै पुर्वाधार बनाउने सवालमा नेटवर्क तत्काल सुचारु गर्न सकिने किसिमको हुनुपर्छ भन्नेमा हामी सचेत नै थियौँ । त्यसै हिसावले पूर्वाधारको क्षेत्रमा धेरै नै लगानी गरेका छौँ । आजको दिनमा बालुवाटार, थापाथली र बुटवलमा गरी तीन ओटा स्थानमा हाम्रा डाटा सेन्टरहरु छन् ।
हामीले प्रविधिको क्षेत्रमा लगानी गरेकै भएर ठूला ठूला कर्पोरेट ग्राहकहरुले आजको दिनमा पनि हामीलाई नै चाहिरहेका हुनछन् । आउने दिनमा हामीले ग्राहकहरुलाई अझै राम्रो सेवा दिने भनेर योजना पनि बनाइरहेका छौँ ।
आजको दिनमा हाम्रो कर्पोरेट ग्राहकको कुरा गर्दा नेपाली बजारमा हामी नै ‘नम्बर वान’ छौँ । घरेलु ग्राहक समेतको कुरा गर्ने हो भने दोश्रो स्थानमा छौँ । आउने दिनहरुमा निश्चित रुपमा नयाँ प्रविधि ल्याएर अगाडि बढ्ने योजनामै छौँ । आईपीटीभी, ब्रोडब्याण्डमा थप स्तरीय सेवा, कर्पोरेटमा पनि नयाँ इन्टरप्राइज प्रविधि ल्याएर छिट्टै नै बजारमा आउँदैछौँ ।