काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चरित्रहत्या हुने गरी आफ्नो तस्बिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको उपमेयर सुनिता डङ्गोलसहित पाँच सदस्यीय वार्ताका क्रममा उनले महानगरका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले आफ्नो तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कानुनी लडाईमा जान सक्ने चेतावनी दिएका हुन् ।
उक्त बैठकमा बालेन, सुनिता, मानन्धरसँगै वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलसमेत सहभागी थिए । बैठकमा प्रवक्ता मानन्धरले टेलिभिजन कार्यक्रममा तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर दुवै जनाबिच सवालजवाफ भएको महानगर स्रोतले जनाएको छ ।
महानगर स्रोतका अनुसार ‘टेलिभिजन कार्यक्रममा गएर फोटो सार्वजनिक गरेर मुठभेड नै गर्न खोजेको हो भने कानुनी लडाइँमा जान सकिन्छ’ भन्दै बालेनले चेतावनी दिएका थिए । स्रोतले भन्यो, “बैठकका क्रममा वडाध्यक्षहरूसहित पाँच जनाबिच २ घण्टा लामो कुराकानी चलेको थियो । मेयर र उपमेयर दुई जना मात्रैले पनि २ घण्टा लामो कुराकानी गर्नुभएको थियो । यसबिचमा धेरै विषयमा मतभेद र कुराकानी भएको थियो ।”
तर, उक्त घटनालाई लिएर वास्तवमा नै कानुनी लडाइमा जाने विषयमा भने बालेनले कुनै प्रतिक्रिया दिएका छैनन् । प्रवक्ता मानन्धरले ८ अप्रिलमा योहो टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा बालेनले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर देखाउँदै आफूलाई कतैबाट प्राप्त भएको बताएका थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल समेत बनेको थियो ।
त्यसपछि व्यक्तिगत चरित्रलाई लिएर आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बालेन सचिवालयले मानन्धरलाई गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न पत्राचार गरेको थियो । उता बालेनकी श्रीमती सबिना काफ्लेले भाइरल तस्बिर खिचिएकै दिनका अन्य तस्बिर पनि सार्वजनिक गर्दै भाइरल बनाउन अरूपनि कन्टेन्ट दिने भन्दै व्यङ्ग्य गरेकी थिइन् ।
पछिल्लो केही समयदेखि काठमाडौँ महानगरमा बालेन र अन्य जनप्रतिनिधिबिच असन्तुष्टि गहिरिँदै गएको छ । जसले गर्दा लामो समयदेखि महानगरको कार्यपालिका बैठकसमेत बस्न सकेको छैन । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याउनु पर्ने समय नजिकिँदै गर्दा पनि बैठक बस्न नसकेपछि बुधबार वार्ता भएको हो ।
उक्त वार्ता महानगरको आगामी कार्यपालिका बैठक सञ्चालनका लागि सकारात्मक देखिएको बताइएको छ ।