close

गिटहबमा बेतुकको प्रोजेक्ट बनाउँदा यसरी भाइरल भए नेपाली डेभलपर- आशिष पोखरेल

टेकपाना टेकपाना

जेठ ३०, २०८२ १६:५३

गिटहबमा बेतुकको प्रोजेक्ट बनाउँदा यसरी भाइरल भए नेपाली डेभलपर- आशिष पोखरेल

काठमाडौँ । प्रविधिको दुनियाँ, त्यसमा पनि प्रोग्रामिङ क्षेत्र प्रायः जटिल कोड, एल्गोरिदम र विशेष किसिमको आविष्कारले भरिएको हुन्छ । यहाँ हरेक क्षण केही न केही नयाँ घटना सतहमा आइरहेका हुन्छन् । तर कहिलेकाहीँ यही दुनियाँभित्र यस्ता रमाइला संयोग जन्मन्छन्, जसले इन्टरनेटभर तहल्हा मच्चाइदिन्छ । यस्तै एक अविस्मरणीय घटनाको केन्द्रमा छन् एक नेपाली सफ्टवेयर डेभलपर- आशिष पोखरेल । 

पोखरेलको एउटा सामान्य ठट्टाले उनलाई विश्वव्यापी चर्चामा मात्र नभई प्रविधि इतिहासको एक महत्त्वपूर्ण क्षणसँग पनि जोडेको छ । यस घटनाको सुरुवात गिटहब (GitHub) बाट हुन्छ । गिटहब क्लाउडमा आधारित भर्सन कन्ट्रोल प्लेटफर्म हो, जसले डेभलपरलाई आफ्नो कोड सुरक्षित राख्न, सहकार्य गर्न र प्रोजेक्ट व्यवस्थित गर्न मद्दत गर्छ ।

यही प्लेटफर्ममा आशिष पोखरेलले ‘शिट’ नामको एउटा रिपोजिटरी बनाए । अङ्ग्रेजीमा यस शब्दको अर्थ सन्दर्भ अनुसार फरक-फरक लाग्छ । नेपालीमा हत्तेरिका भनेको जस्तो प्रायः सन्दर्भमा ‘शिट’को प्रयोग हुन्छ । तर, यसलाई कुन अर्थमा पोखरेलले राखेका हुन् भन्ने स्पष्ट छैन । 

यो नाम आफैँमा एउटा व्यङ्ग्य थियो, जसले सफ्टवेयर विकासको क्रममा बनाइने कैयौं उद्देश्यहीन प्रोजेक्टलाई सङ्केत गर्थ्यो । यो एक सरल र आफैँलाई व्यङ्ग्य गरिएको रिपोजिटरी डेभलपर कम्युनिटीमाझ निकै सान्दर्भिक ठट्टा थियो ।

तर कसलाई के थाहा थियो र यो सामान्य ठट्टाले एउटा ऐतिहासिक मोड लिँदैछ भनेर ! संयोग यस्तो पर्‍यो कि आशिषले बनाएको यही ‘shit’ रिपोजिटरी गिटहबमा सिर्जना भएको एक अर्बौं प्रोजेक्ट बन्न पुग्यो । 

यो थाहा पाएपछि गिटहबका एक वरिष्ठ इन्जिनियर जोन रोहनले त्यो रिपोजिटरीको ‘Issues’ सेक्सनमा पुगे र रमाइलो पारामा बधाई दिए । उनले प्रमाणसहित यो एक अर्बौं रिपोजिटरी भएको पुष्टि गरे र अन्त्यमा लेखे, “तपाईंले केही उत्कृष्ट 💩 बनाउने मौका पाउनुहुनेछ भन्ने हामी आशा गर्छौं ! तपाईंको दिन शुभ रहोस् ।” 

प्रायः औपचारिकताले भरिएको डेभलपर प्लेटफर्म गिटहबमा अनौपचारिक, तर रमाइलो क्षण देखिएपछि यसले व्यापक चर्चा पायो । झन् त्यसैमा गिटहबकै सफ्टवेयर इन्जिनियरले पुष्टि गरेपछि थप बहसको विषय बन्यो । यो घटना इन्टरनेटमा आँधीझैँ फैलियो ।

ह्याकर न्युज, रेडिट एक्स जस्ता प्लेटफर्ममा यो समाचारले प्रमुख स्थान पायो । अधिकांशले यसलाई प्रविधिको संसारमा हुने दुर्लभ र रमाइलो संयोगको रूपमा लिए । ठुला प्रविधि कम्पनी पनि आफ्नो कम्युनिटीसँग रमाइलो गर्न सक्छन्, अनि नियम र औपचारिकताभन्दा माथि उठेर प्रयोगकर्तासँग सम्बन्ध बनाउन सक्छन् भन्ने यस घटनाले देखाएको छ । 

एक नेपाली डेभलपर यस्तो विश्वव्यापी घटनाको केन्द्रमा हुनुले नेपाली प्रविधि समुदायमा पनि चर्चाको लहर ल्यायो । प्रविधिमा रुचि राख्नेहरूको समूह ‘आस्क बडिज’मा पनि यसको चर्चा भएको छ । यसैलाई लक्षित गर्दै नेपाली प्रोग्रामिङ प्लेटफर्म प्रोग्रामिजका संस्थापक तथा सीईओ पुनित जाजोदियाले रमाइलो गर्दै प्रोग्रामिज प्रोको लाइफ टाइम एक्सेस निःशुल्क दिने घोषणा गरे । उनले लिङ्क्डइनमा लेखेका छन्, “म आशिष पोखरेल ब्रोलाई प्रोग्रामिज प्रोको लाइफटाइम फ्री एक्सेस दिन चाहन्छु, ताकि उनले आफ्नो काम सुधार्न सकून् ।” उनले विश्वका सबै आशिष पोखरेल नाम गरेका व्यक्तिलाई यो अफर दिने घोषणा पनि गरेका छन् ।

यस घटनाले प्रशंसासँगै आलोचनाको पनि सामना गरेको छ । केहीले गिटहबजस्तो प्रतिष्ठित प्लेटफर्मको यति ठुलो माइलस्टोन एउटा ‘अशिष्ट’ नाम भएको प्रोजेक्टसँग जोडिनुलाई व्यावसायिकताको कमीको रूपमा व्याख्या गरे । यसले गिटहबमा ‘शिटपोस्टिङ’ (shitposting) अर्थात् काम नलाग्ने प्रोजेक्ट बनाउने प्रवृत्तिलाई बढावा दिन सक्ने केहीको तर्क छ । केहीले त यस्तो ऐतिहासिक स्थान एउटा गम्भीर र उपयोगी ओपन-सोर्स प्रोजेक्टले पाउनुपर्थ्यो भन्ने विचार पनि राखेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १७:१२