close

कतारी दूतावासबाट ई-पासपोर्ट बुकिङ सुरु

टेकपाना टेकपाना

माघ २४, २०७८ १०:१२

कतारी दूतावासबाट ई-पासपोर्ट बुकिङ सुरु

काठमाडौं । सरकारले कतारबाट विद्युतीय राहदानी (ईपासपोर्ट) जारी गर्न सुरु गरेको छ । आइतबार परीक्षणको रुपमा नेपाली दूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको राहदानी विभागले जनाएको छ ।

विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आइतबारदेखि विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ ।

अन्य खाडी मुलुक र मलेसियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीका लागि आवश्यक पर्ने उपकरणहरु पठाइसकिएको पनि विभागले जानकारी दिएको छ ।

उक्त सामानहरु जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा शुरुवात हुने जनाइएको छ । त्यस्तै यी बाहेकका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम छ ।

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य गरिरहेको विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२