close

प्रभुपे प्रयोगकर्ताले अब फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

माघ २६, २०७८ १५:५७

प्रभुपे प्रयोगकर्ताले अब फोनपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक प्रभुपेबीच सहकार्य भएको छ ।

बुधबार एक कार्यक्रमका बीच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले सम्झाैतामा हस्ताक्षर गरे ।

सम्झौतासँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभुपे प्रयोगकर्ताले फोनपेको क्यूआर (Scan & Pay) मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, “हामी पहिलादेखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौं, पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि एक आपसमा अन्तरआबद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाईं भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्याशलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हाम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौं ।

यस्तै प्रभुपेका प्रमुख कार्यकारी अधिकृत शाहीले भने, ‘फोनपेसँगका यस सहकार्यका लागि सबैलाई धन्यवाद छ । हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल पाँच लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

प्रभु ग्रुप अन्तर्गत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडि बढाइरहेको छ । हाल यस कम्पनीका सात लाखभन्दा धेरै ग्राहक रहेका छन् । प्रभुपे मार्फत मोबाइल र टिभी रिजार्च, हवाइ टिकट, मुभी टिकट लगायतका सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदान गर्न सकिन्छ ।

हालसालै खल्ती वालेट पनि फोनपेको क्यूआर सेवामा एकीकृत भएको छ । देशका प्रमुख डिजिटल वालेट फोनपे नेटवर्कमा आवद्ध भएसँगै थप लाखौं नेपालीले क्यूआर स्क्यान गरी विभिन्न भुक्तानी गर्नसक्ने भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२