काठमाडाैं । अहिले यस्तो जमाना आइसक्यो कि, सबैजसोको हातमा फोन छ । अझ भनौं धेरैजसोले स्मार्टफोन प्रयोग गरिरहेका छन् । वास्तवमा फाेन अब कल गर्न वा टेक्स्ट गर्न मात्रै सीमित रहेन । आजकल यसबाटै असंख्य काम गर्न सकिन्छ ।
फाेनबिनाको जीवन अधुरो जस्तै बनिरहेको छ । खेल खेल्न, भिडिओ कल गर्न, इन्टरनेट ब्राउज गर्न, च्याटिङ गर्नुका साथमा स्ट्रिमिङ गर्न पनि स्मार्टफाेनको प्रयोग भइरहेको छ ।
यतिमात्रै हाेइन, विभिन्न सिर्जनात्मक कामसमेत स्मार्टफाेनबाटै गर्न सकिन्छ । आउनुहोस्, आज हामी स्मार्टफोनलाई अझ उपयोगी बनाउने एउटा तरिकाबारे छलफल गरौं ।
ग्राफिक्स डिजाइनका लागि प्राय हामी डेस्कटप वा ल्यापटपमै निर्भर हुन्छाैं । तर कतिपय डिजाइनिङका काम माेबाइलमै पनि गर्न सकिन्छ । र, याे सजिलाे पनि छ ।
चाडपर्व वा विभिन्न उत्सवमा मानिसले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट शुभकामना आदानप्रदान गरिरहेका हुन्छन् । शुभकामना आदानप्रदान लेखाइबाट भन्दा पनि पोस्टर वा ग्राफिक्स डिजाइनबाट गर्दा प्रभावकारी देखिन्छ ।
धेरैजसो प्रयोगकर्ताले अरू कम्पनीले बनाएका डिजाइन आफ्नो वालमा राखेर शेयर गरिरहेका हुन्छन् । सायद तपाईंले पनि गर्नुभएको होला ।
तपाईंले पनि आफ्नो नाम सहितको आकर्षित पोस्टर बनाएर सामाजिक सञ्जालमा शेयर गर्न सक्नुहुन्छ । यसका लागि हामीसँग धेरै एप उपलब्ध छन्, कतिपय निःशुल्क छन् भने कतिपय एप चलाउन पैसा लाग्छ ।
आज हामी यिनै एपमध्ये एक उपयाेगी एप ‘पिक्सेल ल्याब’ को चर्चा गर्दैछौं ।
एप ओपन गरेपछि त्यहाँ एउटा नाैलाे इन्टरफेस खुल्छ, जहाँ डिजाइन गर्न आवश्यक बेसिक कुरा सबै समेटिएको छ ।
विभिन्न किसिमका फन्टहरू डिफल्ट रूपमै इन्स्टल भएर आएको हुन्छ । तपाईंले नेपाली फन्ट पनि इन्स्टल गर्न सक्नुहुन्छ । यसका लागि केही सानो विधि अपनाउनुपर्ने हुन्छ । त्यसका लागि गुगलमा गएर नेपाली फन्ट डाउनलोड सर्च गर्नुहोस् ।
विभिन्न किसिमका वेबसाइटबाट विभिन्न फन्टको जिप फाइल देखिन्छ । त्यसमध्ये कुनै एकलाई डाउनलाेड गर्नुहोस् । डाउनलोड भइसकेपछि त्यस फाइललाई एक्स्ट्रक्याक्ट गर्नुपर्ने हुन्छ । पुनः पिक्सेलल्याबमा गएर फन्टमा थिचिसकेपछि नयाँ फन्ट इन्स्टल गर्ने विकल्प आउँछ ।
यसरी नेपाली फन्ट इन्स्टल गरेर पनि आफूलाई मनपर्ने ग्राफिक्स डिजाइन फोनबाट नै गर्न सक्नुहुन्छ ।
याे एपमा प्रिसेट, फन्ट, स्टिकर र ब्याकग्राउन्डका लागि थुप्रै अप्सन दिइएको छ, जसकाे प्रयाेग गरी आफ्नो चाहनाअनुसार डिजाइन बनाउन सक्नुहुन्छ ।
एपबाटै ब्याकग्राउन्ड इफेक्ट परिवर्तन गर्न र फोटोबाट ब्याकग्राउन्ड हटाउन समेत सकिन्छ । तपाईंले पेन साइज र कलर छनोट गरी आफूले चाहेको डुडल कोर्न सक्नुहुन्छ ।
यसमा टेक्स्ट एड गर्न वा आफूले चाहेअनुसार कस्टमाइज गर्न सकिन्छ । साथै थ्रीडी टेक्स्ट क्रियट गरी फोटो/डिजाइनमा प्रयोग गर्न सक्नुहुन्छ ।
टेक्स्टलाई स्तरीय बनाउन एपमा आधा दर्जनजति टेक्स्ट इफेक्ट उपलब्ध छ भने थरीथरीका कलर अप्सनले सुन्दर डिजाइन सिर्जना गर्न थप सहयोग पुग्नेछ ।
यो एपका आधारभूत सुविधा निःशुल्क रूपमै उपलब्ध छ, जसबाट डेस्कटपबिना पनि स्तरीय ग्राफिक्स डिजाइन बनाउन सकिन्छ ।
पिक्सेलल्याब बाहेक Canva, Procreate, Infinite Design, Adobe Illustrator Draw, Autodesk Sketchbook, Adobe Capture, Art Flow, Sketcher लगायतका एप पनि तपाईंका लागि उपयोगी हुनसक्छ ।