close

ब्रिटिश कलेजमा ‘हल्ट प्राइज’ हुँदै, उत्कृष्ट विद्यार्थी टोलीलाई १० लाख डलर पुरस्कार पाउने अवसर

टेकपाना टेकपाना

फागुन ३, २०७८ १६:२२

ब्रिटिश कलेजमा ‘हल्ट प्राइज’ हुँदै, उत्कृष्ट विद्यार्थी टोलीलाई १० लाख डलर पुरस्कार पाउने अवसर

काठमाडौं । द ब्रिटिश कलेजमा यस वर्ष पनि हल्ट प्राइज कार्यक्रम आयोजना हुने भएको छ । विद्यार्थीका लागि नोबेल पुरस्कारका रुपमा परिचित ‘हल्ट प्राइज’ काे ‘अनक्याम्पस प्राेग्राम’ ब्रिटिश कलेजमा पनि हुन लागेकाे हाे ।

ब्रिटिश कलेजका बीबीए लेभल ५ का विद्यार्थी र हल्ट प्राइजका क्याम्पस डाइरेक्टर ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी विद्यार्थीको टोलीले यो कार्यक्रम आयोजना गर्न कडा परिश्रम गरिरहेको कलेजले जनाएको छ ।

विश्वभर तीन हजारभन्दा बढी यस्ता अनक्याम्पस प्रोग्राम हुने गरेका छन् । यस्ताे कार्यक्रमले विद्यार्थीहरुलाई तोकिएको विषयमा बिजनेश आइडिया बनाउन, पिच गर्न विभिन्न तालिम, सेमिनार आयोजना गर्ने गर्छन् ।

अनक्याम्पस प्राेग्रामबाट उत्कृष्ट विद्यार्थी समूह बनी हल्ट प्राइजको क्षेत्रीय प्रतिस्पर्धा (रिजनल समिट) मा सहभाग हुन सकिनेछ ।

कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले अनक्याम्पस प्रोग्राम हुँदै रिजनल समिटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

हल्ट प्राइजको रिजनल समिटका लागि अनक्याम्पस प्रोग्रामबाहेक विद्यार्थी आफैंले पनि सिधै अप्लाई गर्न सक्नेछन् ।

रिजनल समिटमा विजयी भए विद्यार्थी टोली ‘ग्लोबल एक्सिलेरेटर’ कार्यक्रमका लागि छानिने छ । सो अवसरमा निर्णायकका अगाडि उत्कृष्ट बिजनेश आइडिया प्रस्तुत (पिच) गर्ने टोली ग्लोबल फाइनलमा प्रवेश गर्नेछ ।

ग्लोबल फाइनलमा पनि विजयी भए विद्यार्थी टोलीले १० लाख डलर लगानी हात पार्नेछ । खाद्य सुरक्षा, पानी, ऊर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष भिन्न शीर्षक प्रदान गरिन्छ ।

यसपटक ‘Getting the World Back to Work’ शीर्षकमा विद्यार्थीले बिजनेश प्लान बनाउनुपर्ने बताइएको छ । यसअन्तर्गत सन् २०२४ सम्म दुई हजार जनालाई आफ्नो व्यवसायबाट प्रत्यक्ष प्रभाव पार्नसक्ने गरी व्यवसायिक योजना बनाउनुपर्ने छ ।

नेपालमा पनि त्रिभुवन विश्वविद्यायलय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय एवं विदेश विश्वविद्यालयमा हल्ट प्राइजको ‘अनक्याम्पस प्रोग्राम’ सञ्चालन भइरहेको छ ।

साथै यी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरुमा पनि हल्टप्राइज प्रतिस्पर्धा सुरु भएको छ । हरेक अनक्याम्पस प्रोग्रामका लागि एक जना क्याम्पस डाइरेक्टर नियुक्त भएका छन् ।

ब्रिटिश कलेजमा पनि हल्ट प्राइजबारे जानकारी दिन सहभागीलाई भर्चुअल अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

उक्त कार्यक्रममा सय जनाभन्दा बढीको सहभागिता थियो । केक सेवा, उद्यमी इनोभेसन र भरेन्द्र युनिभर्सिटी इन्टरनेशनल अफेयर्स काउन्सिल लगायतले यो कार्यक्रम प्रायोजनका लागि ब्रिटिश कलेजसँग सहकार्य गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२