काठमाडाैं । आजको युग कम्प्युटरको हो । हरेक क्षेत्रमा कुनै न कुनै रूपले कम्प्युटर प्रयोग भइरहेको छ । कुनै क्षेत्रमा कम्प्युटर यति अपरिहार्य बनेको छ कि, जहाँ यसको अनुपस्थितिमा कुनै पनि काम सम्भव नै हुँदैन ।
बैंक तथा वित्तीय संस्था, कृषि, अस्पताल, कलकारखाना, अन्य व्यापार व्यवसायका क्षेत्र, विद्यालय, क्याम्पस, सरकारी कार्यालयजस्ता तमाम ठाउँमा हिसाब गर्न, आय व्ययको जानकारी राख्न, सूचना भण्डारण गर्न वा अन्य विविध प्रयोजनका लागि कम्प्युटर र इन्टरनेटको प्रयोग भइरहेको हुन्छ ।
हामीमध्ये कतिपयको जिन्दगीमा कम्प्युटर र इन्टरनेटले महत्वपूर्ण भूमिका पनि खेलेको हुन सक्छ । अरू केही नभए पनि मनोरञ्जनका लागि, कुनै कुराको जानकारी पाउन कम्प्युटर र इन्टरनेटको प्रयोग गरिरहेका हुन्छौं ।
जसरी हामी मानवको दैनिकी कम्प्युटर वा फोनबाट सुरुवात हुन्छ, त्यस्तै कम्प्युटरको सुरुवात ‘बायोस’ बाट हुन्छ ।
कम्युटर वा फोनको अनुपस्थितिमा बरू हाम्रो दिनको सुरुवात होला, तर बायोसको अनुपस्थितिमा कसै गरेपनि कम्युटर वा फोनको सुरुवात हुन सक्दैन ।
आखिर बायोस किन यति महत्वपूर्ण छ त ? बायोस भनेको के हो ? यसले कसरी काम गरेको हुन्छ ? हाम्रो जीवनको यति महत्वपूर्ण हिस्सा बनेको कम्प्यटरको एउटा सुक्ष्म तथा महत्वपूर्ण विषय बायोस (BIOS –Basic Input Output System) का बारेमा केही चर्चा गरौँ ।
जब कम्प्युटर खोल्नुहुन्छ, त्यसपछि सबैभन्दा पहिले त्यसमा एउटा पेज देखिन्छ । वास्तवमा त्यसलाई नै बायोस भनिछ । अरू सफ्टवेयर जस्तै बायोस पनि एक प्रकारको सफ्टवेयर हो । यसले नै कम्प्युटरको सबैभन्दा महत्वपूर्ण हिस्सा ओगटेको हुन्छ ।
बायोसको पूर्णरूप ‘बेसिक इनपुट आउटपुट सिस्टम’ हो । जसको अर्थ हुन्छ, इनपुट र आउटपुटको आधारभूत प्रणाली । यो मोदरबोर्डमा जोडिएको एउटा सफ्टवेयर हो । जसले तपाईंको कम्प्युटर सिस्टमलाई सुरु गराउन निकै ठूलो भूमिका खेलेको हुन्छ ।
कम्प्युटर खुलिसकेपछि सबैभन्दा पहिला काम सुरु गर्ने सफ्टवेयर नै बायोस हो । यो भएन भने कम्प्युटर स्टार्ट नै हुँदैन । विन्डोज सुरु हुँदा बायोसले पोस्ट (POST- Power On Self Test) सञ्चालन गर्छ । जसले कम्प्युटरका सम्पूर्ण हार्डवेयर जस्तै र्याम, प्रोसेसर, किबोर्ड, माउस, हार्डड्राइभ, यूएसबी पोर्ट, साउन्ड कार्ड, भिडिओ कार्ड सबै ठीक भए/नभएको सुनिश्चित गर्छ ।
ठीक भए/नभएको सुनिश्चित गरिसकेपछि त्यसलाई कन्फिग्युर गर्छ । त्यसपछि कम्प्युटर मेमोरीमा विन्डोज लोड हुन्छ । लोड हुने काम सकिएपछि हाम्रो कम्प्युटर स्टार्ट हुन्छ ।
स्टार्ट भइसकेपछि हाम्रो आवश्यकता अनुसार अन्य सफ्टवेयर वा प्रोग्रामहरू चलाउन सकिन्छ । यदि सेल्फ टेस्टको समयमा केही डिफेक्ट भएको छ भने त्यसलाई ठीक गर्न बायोसले कम्युटरलाई एउटा कोड उपलब्ध गराउँछ ।
त्यस्तो कोड कम्प्युटर चलाउँदा प्रायः बीपका रूपमा बाहिर सुनिन्छ । जसलाई कम्प्युटरलाई स्वतः सुल्झाएर सिस्टमलाई सहजै रन गराउन सहयोग गर्छ । आखिर बायोस कहाँ राखिएको हुन्छ होला ? बायोस रोम (ROM-Read only memory) मेमोरीमा मा रहेको हुन्छ ।
यसले त्यँहा भएका सबै हार्डवेयरलाई सहजै पहिचान गर्छ । यसले विशेष गरि कम्प्युटरको अपरेटिङ सिस्टमलाई बुट गर्न काम गरेको हुन्छ । बायोस कम्युटरमा पहिले नै इन्स्टल भएर आएको हुन्छ ।
त्यसपछि मात्र सिपियूमा अन्य हार्डवेयरहरू इन्स्टल गर्न सकिन्छ । यो कम्प्युटरको स्थिर मेमोरी हो । जो रोमको भित्र इन्स्टल हुन्छ जुन हाम्रो कम्प्युटरको मोदरबोर्डमा राखिएको हुन्छ ।
यसलाई हामीले चाहेर पनि डिलिट गर्न सक्दैनौं । यसलाई बेलाबेलामा अपडेट गरेर इन्स्टल भने गर्न सकिन्छ । यसलाई एपरोम (EEPROM- Electrically Erasable Programmable Read Only Memory) पनि भनिन्छ । जसलाई इलोक्ट्रोनिकल रूपमा मेटाउँन वा प्रोग्राम गर्न सकिन्छ ।
मोदरबोर्डमा सिमोस (CMOS-Complementary Metal Oxide Semiconductor) नामको एउटा चिप जडान गरिएको हुन्छ जसमा बायोसका सबै सेटिङ भण्डारण भएका हुन्छन् । सिमोसले एउटा ब्याट्रीको काम गरिरहेको हुन्छ जसले बायोसमा भएका सबै सेटिङलाई सुरक्षित राख्छ । यसैको मद्दतबाट बायोसले कम्टुटरको बूटिङ प्रक्रिया सुचारू गर्छ ।
सिमोस एउटा सानो सेल हो जसको कारणले कम्प्युटरका आधारभूत जानकारी जस्तै मिति, समय सुरक्षित रहेका हुन्छन् । यो ब्याट्री सकियो या यसलाई निकालियो भने बायोसका सबै सेटिङ रिसेट हुन्छन् ।
हामीले कम्प्युटरलाई अफ गरेर पुनः स्टार्ट गर्दा पनि समय, मिति जस्ता आधारभूत जानकारीमा केही परिवर्तन आएको हुँदैन, किनकि यसको सबै सेटिङ बायोसमा सेभ भएको हुन्छ जुन सिमोसको ब्याट्रीबाट चलेको हुन्छ ।
बायोसका कामहरू के के हुन सक्छन् ?
बायोसले सामान्यदेखि विभिन्न जटिल कामहरू गरेको हुन्छ । कतिपय काम गर्ने शैली हामीले म्यानुअल्ली परिवर्तन गर्न सक्छौं भने कतिपय सिस्टमले नै संपादन गरिरहेको हुन्छ । यसले गर्ने प्रमुख कामहरू यस प्रकार छन् ।
-जब कम्प्युटर स्टार्ट हुन्छ, त्यसपछि सबैभन्दा पहिले बायोसले सिमोसमा भएका सबै सेटिङ जाँच गर्छ, जसले गर्दा बाँकी चिजले राम्रोसँग काम गर्न सकोस् ।
-त्यसपछि बायोसले डिभाइस ड्राइभलाई लोड गरिदिन्छ, जसले अपरेटिङ सिस्टम र डिभाइसका बीचमा इउटा पुलको काम गर्छ । त्यसो गर्दा सम्पूर्ण हार्डवेयरले सफ्फवेयरसँग अन्तरक्रिया गर्छन् ।
-त्यसपछि बायसले विभिन्न रेसिस्टर उपयोग हुनका लागि तयार पार्छ ।
-रेसिस्टर तयार पारिसकेपछि बायोसले सम्पूर्ण हार्डवेयर डिभाइस जस्तै किबोर्ड, माउस आदिलाई परीक्षण गर्छ । यो प्रक्रियालाई पोस्ट (POST- Power on Self Test) भनिन्छ ।
-परीक्षणपछि बायोस एउटा बुट हुने माध्यम खोज्छ, त्यसपछि त्यही माध्यमलाई रिड गरेर आवश्यक फाइललाई र्याममा लोड गर्छ । यो प्रक्रिया सकियो भने मात्र अपरेटिङ सिस्टम खुल्छ ।
यसरी बायोसले सम्पूर्ण कम्प्युटर सिस्टम नियन्त्रण गरेको हुन्छ । भन्नुको अर्थ सिस्टममा भएका सम्पूर्ण गतिविधि यसकै माध्यमबाट चलिरहेका हुन्छन् ।