काठमाडौं । आगोमा नपोली इट्टा बनाउने ‘गुड ब्रिक्स सिस्टम’ नेपाल भित्रिएको छ । वातावरणमैत्री निर्माण सामग्री बनाउँदै आएको कोरियाली कम्पनी इन्नो सीएसआर (InnoCSR) ले यो प्रविधि नेपालमा पनि भित्र्याएको हो ।
याे प्रविधि प्रयाेग गरी व्यवसायीले उत्पादन क्षमता अनुसार ४० लाखदेखि डेढ करोड रुपैयाँ लगानीमा इट्टा उद्योग सुरु गर्नसक्ने जनाइएकाे छ ।
९० प्रतिशत माटो, ९.८ प्रतिशत सिमेन्ट र ०.२ प्रतिशत सोइल स्टेब्लाइजरको मिश्रणलाई पूर्ण स्वचालित हाइड्रोलिक प्रेसले कम्प्रेस गरेर एक पटकमा १८ वटासम्म इट्टा उत्पादन गर्न सकिने सोयल इन्जिनियर रमेश न्यौपानेले बताए ।
यो प्रविधिमार्फत दैनिक ४० हजार वटासम्म इट्टा उत्पादन गर्न सकिन्छ भने वार्षिक करिब डेड करोड वटासम्म इट्टा उत्पादन गर्न सकिन्छ ।
मौसमी प्रभाव नपर्ने यो प्रविधिमार्फत ३६५ दिन नै उत्पादन लिन सकिने जनाइएकाे छ ।
यो प्रविधिमा इट्टालाई पकाउन नपर्ने र यसमा कोइला लगायत अन्य जैविक इन्धनको प्रयोग नहुनाले यो पूर्ण रुपमा वातावरणमैत्री प्रविधि रहेको वातावरणविद् धर्मराज केसी बताउँछन् ।
इट्टाको निर्माणमा माटो, सिमेन्ट र सोयल स्टेब्लाइजरको प्रयोग हुन्छ । कम्पनीको भक्तपुरमा रहेको आधिकारिक परीक्षण केन्द्रमा माटोदेखि इट्टाको अवस्था र क्षमता परीक्षण गरिन्छ ।
सोयल स्टेब्लाइजरको प्रयोगले सिमेन्ट र माटोलाई मजबुतसँग जोड्ने कम्पनीकाे दावी छ । साथै सोयल स्टेबलाइजर अर्ग्यानिक हुने हुँदा साइड इफेक्टसमेत नहुने कम्पनीले उल्लेख गरेकाे छ ।
यो प्रविधिमा गोरखा, भक्तपुर र गाईघाटमा उद्योग सञ्चालनमा आइसकेका छन् ।
ग्राहक सेवा सहजतालाई मध्यनजर गर्दै छिट्टै कम्पनीले सातै प्रदेशमा उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
पछिल्लो समय यस्ताे प्रविधिकाे इट्टाको माग वृद्धि हुँदै आएको गोरखास्थित गुड ब्रिक्स सिस्टम उद्योग ‘गोरखा इनोटेक प्रालि’ का सञ्चालक विकास श्रेष्ठले बताए ।
नेपाल सरकारले पोलेको इट्टाको मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ ३.५ एमपीए तोकेको छ भने इन्नो सीएसआर प्रविधिको इट्टाको कम्प्रेसिभ स्ट्रेन्थ थोरैमा ८ एमपीए हुने बताइएको छ ।
‘पोलेको इट्टा तयार हुन कम्तिमा एक महिना, धेरै जनशक्ति, धेरै जमिन आवश्यक पर्छ भने यो नयाँ प्रविधिबाट ८-१० दिनमा इट्टा उत्पादन हुने, जम्मा १०-१५ जनशक्ति भए पुग्ने, ८/१० रोपनी क्षेत्रफलमा प्लान्ट गर्न सकिने र तुलनात्मक रुपमा पोलेको इट्टा भन्दा लामो आयुको हुन्छ,’ श्रेष्ठले भने ।
कोरियामा २००८ मा स्थापना भएको इन्नो सीएसआरले कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, चीन, नेपाल लगायत विभिन्न मुलुकका निजी र सरकारी क्षेत्रमा ‘सस्टेनेबल इम्प्याक्ट टेक्नोलोजी सोलुसन’को काम गर्दै आएको छ ।
सन् २०१८ मा नेपाल प्रवेश गरेको यो कम्पनीले करिब दुई वर्ष आवश्यक अध्ययन गरेपछि इट्टा उत्पादन सुरु गरेको हो । कम्पनीले सोयल स्टेब्लाइजरकै प्रयोगमार्फत सडक तयारका लागि गृहकार्य समेत सुरु गरेको छ ।
यो प्रविधिमार्फत इट्टा उत्पादन गर्न चाहने उद्योगीहरूलाई कम्पनीले जनशक्ति तालिम, माटो परीक्षण, उपकरण समन्वयसँगै बजारीकरणसम्म सहयोग गर्ने कुरा इन्नो सीएसआरका सीईओ युन सुक लीले बताए ।