close

नेपालको डिजिटल मेट्रिक ठेगाना प्रणाली: अब मान्छेले होइन, घर नम्बरले देखाउँछ बाटो !

टेकपाना टेकपाना

असार ३, २०८२ १६:१६

नेपालको डिजिटल मेट्रिक ठेगाना प्रणाली: अब मान्छेले होइन, घर नम्बरले देखाउँछ बाटो !

काठमाडौँ । कुनै पनि स्थानको सही ठेगाना हुनुको अर्थ त्यहाँसम्म पुग्न सहज हुनु मात्र होइन । सही ठेगानाले सहरी विकासका कार्यहरूलाई सरल बनाउन सहयोग गर्छ, पिछडिएका क्षेत्रहरू पहिचान गर्न र तिनका स्रोत तथा साधनहरूलाई व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ । यसका अतिरिक्त ठेगानाको महत्त्व कर सङ्कलन, मतदाता दर्ता, ट्रयाकिङ, अनलाइन डेलिभरीजस्ता सेवामा झन् बढ्दै गएको छ ।

यस्ता कार्यलाई सहज बनाउन विकसित गरिएको प्रणाली हो: डिजिटल मेट्रिक ठेगाना प्रणाली । यूके इन्टरनेसनल डेभलपमेन्टको सहयोगमा द एसिया फाउन्डेसन अन्तर्गत डेटा फर डेभलपमेन्ट परियोजनामार्फत यो सेवा उपलब्ध गराइएको हो । यसका लागि नक्साले प्रणाली व्यवस्थापनको काम गरिरहेको छ ।

यो प्रणालीमार्फत डिजिटल घर नम्बर तयार गर्न सकिन्छ । जसले प्रत्येक घरमा बस्ने मानिसहरूको संख्या, सो घरका व्यक्तिहरूले पाउनुपर्ने सार्वजनिक सुविधा लगायत बाटोघाटोको अवस्था लगायतको सटीक जानकारी दिन्छ ।

नक्साका प्रोजेक्ट कोअर्डिनेटर कुन्दनजंग थापाका अनुसार यस प्रणालीमार्फत प्रत्येक घरमा डिजिटल ठेगाना तयार गरिन्छ । जसअन्तर्गत एउटा घरको एउटा युनिक कोड हुन्छ । “उक्त कोड प्रयोग गरेर आफ्नो क्षेत्रमा बसोबास गर्ने नागरिकको जानकारी पालिकाले सहजै पाउन सक्छ । यस्ता तथ्याङ्क प्रयोग गरेर पालिकाले आफ्नो आगामी योजनाहरू पनि तयार गर्नसक्छन्,” उनले भने ।  

हाल यो प्रणाली काठमाडौँको टोखा नगरपालिका, भक्तपुरको चागुँनारायण नगरपालिका, पर्साको वीरगन्ज महानगरपालिका र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा लागु भइरहेको छ । प्रणालीबाट प्राप्त तथ्याङ्कले पछिल्लो समयमा बढ्दै गइरहेको सहरीकरण व्यवस्थापन र विकासको गतिलाई समात्न सघाउने जनकपुरधाम उपमहानगरपालिकाका भूमि व्यवस्था शाखाका सर्वेक्षक रत्नकुमार साह बताउँछन् । 

यो प्रणालीले सबैभन्दा धेरै सहज त पालिकाका प्राविधिकहरूलाई बनाएको छ । पालिकाका प्राविधिकहरूलाई विभिन्न नक्साङ्कन लगायतका कामहरूका लागि फिल्डमा गइरहनुपर्ने हुन्छ । उनीहरूले फिल्डमा गएर नक्सा अनुरूप काम भइरहेको छ वा छैन लगायतका कुराहरूको पनि निगरानी राख्नुपर्ने हुन्छ । यस्तोमा पटक-पटक फिल्डमा जानुपर्ने तथा सेवाग्राहीलाई भेटिरहनुपर्ने झन्झट यो प्रणालीले हटाएको छ । 

उपमहानगरकी इन्जिनियर सोनाली कुमारी साह भन्छिन्, “फिल्डमा गइरहनुपर्ने झन्झट हटेको छ । यस प्रणालीमार्फत कहाँ नक्सा के कस्तो भनेर थाहा हुन्छ । अर्कोतिर कतै जानुपर्ने भयो भने सोधी सोधी जानुपर्दैन । घर नम्बरको आधारमा कुन घर कहाँ छ भनेर ठ्याक्कै पत्ता लगाई ठाउँमै पुग्न सकिन्छ ।”

यति मात्र नभइ उक्त क्षेत्रमा रहेका बैंकहरूले घर नक्सा भर्नुपर्ने फारममा घर नम्बर मात्र लेखे पुग्ने व्यवस्था गरेको उनले बताइन् । साथै यो प्रणालीले घरजग्गालाई लिएर नागरिकबिच हुने विवादलाइ समेत समाधान गरेको उनी सुनाउँछिन् । कतिपय अवस्थामा पालिकाहरूलाई आफ्नो क्षेत्र कहाँसम्म हो, वडाहरूको सीमाना कहाँसम्म पर्छ भन्ने यकिन पनि हुँदैन । यस्तो अवस्थामा पनि फिल्डमा नगई प्रणालीमै हेरेर काम अगाडि बढाउन सकिएको साहले बताइन् ।  

अर्कोतिर, आफ्नो क्षेत्रमा कुनै समस्या पर्‍यो अथवा कुनै पूर्वाधार विकास तथा मर्मतका काम गर्नुपर्‍यो भने यसै प्रणालीमार्फत जानकारी लिई तुरुन्त समाधानका एक्सन लिन सकिने वडा नं ७ का वडा सदस्य फुलकुमारी साह बताउँछिन् । यो प्रणालीले स्थानीय तहहरूको निर्णय गर्ने क्षमतालाई थप प्रभावकारी बनाएको उनको भनाइ छ।  

“अब वडाबासीले फोन गर्छन्, ‘फूलकुमारी दिदी, यहाँ आगलागी भयो रे’ । म तुरुन्त सोध्छु, 'घर नम्बर कति हो ?' ‘सडक नम्बर ७, घर नम्बर २२५ ।’ अनि तुरुन्त नगरपालिकालाई जानकारी दिन्छु र सेवा त्यहीँ पुग्छ,” उनले भनिन्, “वडा सदस्यको नाताले नागरिकलाई छरितो सेवा दिन सहज भएको छ ।” 

उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह यो प्रणालीका कारण आफ्नो क्षेत्रमा कति घरधुरी छन्, कतिले नक्सा पास गरेका छन् लगायत कर संकलनमा सहजीकरण हुनेमा विश्वस्त छन् । “कति घरधुरी छ, कति नक्सा पास गरेको छ, कतिले अनुमति लिएको छ कि छैन, यस्ता कुराहरू थाहा पाउन सकिएको छैन,” उनी भन्छन्, “हामीसँग अहिलेसम्म धेरै घरहरूले नक्सा पास गराएका छैनन्, कर प्रणालीमा छैनन् । अब यो प्रणालीले सबैको विवरण दर्ता गरेर कर संकलन र कारबाही सहज बनाउनेछ ।” 

कुनै पनि सहरको विकास हुँदै गर्दा त्यहाँको भौतिक, आर्थिक सामाजिक लगायतका विकासका लागि तथ्याङ्क महत्त्वपूर्ण हुने र यसका लागि यो प्रणालीले भूमिका खेल्ने डेटा फर डेभलपमेन्टका प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापित बताउँछन् । 

उनी भन्छन्, “सहर समयसँगै कसरी परिवर्तन हुँदैछ ? जनसंख्या कसरी बढ्दैछ ? सामाजिक अन्तरक्रिया कहाँ भइरहेको छ ? यी सबै बुझ्न डेटा अपरिहार्य हुन्छ । यस प्रणालीले सहरको समग्र विकास योजना बनाउन सहयोग पुर्‍याउँछ।” 

यो प्रणालीले स्थानीय तहहरूलाई योजनाबद्ध रूपमा पूर्वाधार विकास गर्न मद्दत गर्ने र नागरिक सेवाहरूलाई पनि प्रभावकारी बनाउन टेवा पुग्ने डेटा फर डेभलपमेन्ट परियोजनाको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ १६:५०