close

होली खेल्दा यसरी जोगाउनुहोस् आफ्नो स्मार्टफोन

टेकपाना टेकपाना

चैत ३, २०७८ ८:१

होली खेल्दा यसरी जोगाउनुहोस् आफ्नो स्मार्टफोन

काठमाडौं । आज र भोलि नेपालमा विभिन्न क्षेत्रमा होली पर्व मनाइँदै छ । यदि तपाईं पनि होली खेल्दै हुनुहुन्छ भने साथमा रहेको माेबाइललाई बिग्रनबाट जोगाउन सावधानी अपनाउनुहोस् ।

होलीकै दिन धेरै मानिसहरुले आफ्नो मोबाइल बिगार्ने गरेको पाइन्छ । यदि ध्यान दिन सकिएन भने एकैछिनमा होलीको रंगीन उत्सव अमिलो बन्न सक्छ ।

यसकारण मोबाइललाई जोगाउँदै यो उत्सवको मज्जा लिन चाहनुहुन्छ भने आफ्नो स्मार्टफोन सुरक्षित राख्ने टिप्स पनि जानेको राम्रै हुन्छ ।

१. सबैभन्दा उत्तम उपाय त, होली मनाइरहँदा स्मार्टफोन घरमै छोड्नु सुरक्षित तरिका हो । तर अधिकांश मानिसहरु आफू जहाँ जहाँ जान्छन्, त्यहाँ स्मार्टफोट लैजान्छन् । बरू स्मार्टफोनको सट्टा होलीका बेला पुरानो वा फिचर फोन लान पनि सक्नुहुन्छ ।

२. जिपलक प्लाउच प्रयोग गर्नुहोस् । तपाईंले पसलबाट जिपलक प्लाउच वा प्लास्टिकको थैली किनेर स्मार्टफोनलाई सुरक्षित राख्न सक्नुहुन्छ । यसले पानी, रङ र धुलोबाट स्मार्टफोन बचाउँछ ।

३. वाटरप्रुफ केस प्रयोग गर्नुहोस् । मोबाइलको कारोबार हुने पसल वा स्टोरबाट ट्रान्स्प्यारेन्ट वाटरप्रुफ केस किन्नुहोस् । होलीमा मात्र होइन, अरुबेला पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गरेर पानीबाट मोबाइल त जोगाउन सकियो नै, हाेली खेलिरहँदा फोन गर्न, उठाउन, फोटो खिच्न र मोबाइलमा अन्य काम पनि गर्न सक्नुहुन्छ ।

४. वाटर बेलुन प्रयोग गर्नुहोस् । मोबाइलको बडीलाई अस्थायी रुपमा वाटर बेलुन प्रयोग गरेर पनि जोगाउन सकिन्छ । यसका साथै यो मोबाइल स्क्रिन जोगाउन स्क्र्याच गार्ड वा स्क्रिन प्रोटेक्टक्टर प्रयोग गर्न सक्नुहुन्छ ।

५. यदि अन्य विधि प्रयाेग गर्नुभएकाे छैन भने फोन उठाउन इयरफोन प्रयोग गर्नुहोस् ।

पानीमा भिज्याे भने के गर्ने ?

फोन पानीमा भिजेकाे छ भने अब तपाईंले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् । यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ ।

अर्को महत्वपूर्ण कुरा पानी पसेको फोनलाई भुलेर पनि चार्जिङमा नजोड्नुहोस् । मोबाइलमा इलेक्ट्रिक फ्लो भएर शर्ट सर्किट हुनसक्छ । जसकारण माेबाइल सधैंका लागि नबन्ने पनि हुनसक्छ ।

यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिम कार्डलाई सजिलो गरी निकाल्नुहोस् ।

यदि फोनमा ब्याट्री निकाल्न मिल्दैन भने शर्ट हुने खतरा रहिरहन्छ । अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर (ब्लोअर) मार्फत सुकाउनुहोस् ।

फोनमा देखिने पानी र फाेहरलाई कपडा वा पेपर न्याप्किनले विस्तारै पुछ्नुहोस् । यदि तपाईंसँग हेयर ड्रायर छैन भने फोनलाई सुक्खा चामलको बीचमा राख्नुहोस् । तर चामलको गेडा हेडफोन ज्याकबाट भित्र जानसक्ने कुरामा ख्याल गर्नुहोस् । यसरी फोनलाई कम्तिमा २४ घण्टासम्म सुक्नका लागि छोडिदिनुहोस् ।

भिजेको फोन सुकाउने यो उपयोगी र सजिलो उपाय हो । अब फोनलाई चामलबाट बाहिर निकालेर अन गर्नुहोस् ।

यदि फोन अन भएन भने चार्जमा लगाउनुहोस् । त्यसपछि पनि फोन खुलेन भने नजिकैको मोबाइल बनाउने ठाउँमा वा सम्बन्धित सर्भिस सेन्टरमा जानुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३