close

आफ्नो फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

टेकपाना टेकपाना

चैत ८, २०७८ ९:२१

आफ्नो फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

काठमाडौं । फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालहरू मध्येको एक हो । साथी, परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहनका लागि विश्वभरका प्रयोगकर्ताले फेसबुक चलाइरहेका हुन्छन् ।

प्रयोगकर्ता धेरै भएकै कारण यसमा ह्याकरहरूले अनेक जालझेल गरिरहेका हुन्छन् । यस्तोमा तपाईँले केही निश्चित मापदण्ड तथा प्रक्रिया पूरा गरेर आफ्नो फेसबुक अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुन्छ ।

आज हामी तपाईँलाई आफ्नो फेसबुक आईडी सुरक्षित राख्न र ह्याकरको पहुँचबाट जोगाउन अपनाउनुपर्ने सावधानीको बारेमा बताउँदैछौँ । 

१. बलियो पासवर्ड राख्नुहोस्ः 

ह्याकरबाट तपाईँको फेसबुक अकाउन्ट जोगाउने पहिलो सुरक्षा घेरा हो तपाईँको पासवर्ड । त्यसैले अरुले अनुमान समेत गर्न नसक्ने बलियो र मौलिक प्रकारको पासवर्ड राख्नु उचित हुन्छ । आफ्नो जन्म मिति, नाम, सवारीसाधनको नम्बर आदिलाई पासवर्डमा नराख्नुहोस् ।

साथै अन्य सामाजिक सञ्जाल अकाउन्टका लागि राखिएको पासवर्ड फेसबुकमा समेत राख्ने गल्ती नगर्नुहोस् । अङ्ग्रेजी साना तथा ठूला अक्षर, अङ्क, सङ्केत आदि मिलाएर कम्तिमा आठ अङ्कभन्दा लामो पासवर्ड राख्नुहोस् । उदाहरणको लागि ‘4@?VxkYV4BZS’ साथै आफ्नो पासवर्ड अन्य कसैलाई पनि नदिनुहोस् । 

२. टु-फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस्ः 

आफ्नो फेसबुकमा टु-फ्याक्टर अथेन्टिकेसन (2FA) इनेबल गर्नुहोस् । यसो गर्दा कुनै मोबाइल वा कम्प्युटरबाट तपाईँको फेसबुक लग-ईन गर्दा मोबाइल नम्बर वा माइक्रोसफ्ट तथा गुगल अथेन्टिकेटरको माध्यमबाट पहिचान प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

यसको अर्थ यदि तपाईँले आफ्नो फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नु भएको छ भने कुनै अर्को व्यक्तिले तपाईँको युजरनेम र पासवर्ड थाहा पाएको खन्डमा पनि तपाईँको फेसबुकमा लग-ईन गर्न सक्ने छैन ।

यसका लागि आफ्नो फेसबुकको सेटिङमा जानुहोस् र सेक्युरिटी एन्ड लग-ईन भित्र गएर ‘टु-फ्याक्टर अथेन्टिकेसन’ (Two-factor authentication) इनेबल गर्नुहोस् । 

३. ‘अनरिकग्नाइज्ड लगईन अलर्ट’ ‘अन’ गर्नुहोस्ः 

फेसबुकले कुनै अपरिचित मोबाइल वा कम्प्युटरबाट तपाईँको फेसबुक अकाउन्ट ‘लगइन’ गर्ने प्रयास भएको अवस्थामा तपाईँलाई त्यसको ‘अलर्ट’ दिने गर्दछ ।

यसका लागि आफ्नो फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ रहेको ‘सेक्युरिटी एन्ड लगइन’ भित्र गएर ‘सेटिङ अप एक्स्ट्रा सेक्युरिटी’ भित्र रहेको ‘गेट अलर्ट्स अबाउट अनरिकग्जाइज्ड लगइन्स’ लाई ‘अन’ गर्नुहोस् । 

४. गुगल, डकडकगो जस्ता ‘सर्च इन्जिन’बाट आफ्नो फेसबुक टाढा राख्नुहोस्ः 

आफ्नो फेसबुक प्रोफाइल गुगल सर्च, डकडक गो जस्ता सर्च इन्जिनमा खोज्दा नभेटिने कुराको सुनिश्चित गर्नुहोस् । आफ्नो फेसबुक अकाउन्टको ‘सेटिङ’बाट ‘प्रोफाइल सेटिङ’ हुँदै ‘प्रोफाइल प्राइभेसी’मा जानुहोस् ।

त्यहाँ अन्तिममा रहेको ‘डु यू वान्ट सर्च इन्जिन आउटसाइड फेसबुक टु लिङ्क टु योर फ्रोफाइल’ लाई बन्द गर्नुहोस् । 

५. अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस्ः 

आफूले चिनेका व्यक्तिहरूलाई मात्र फेसबुकमा साथी बनाउनुहोस् । अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस् । कतिपयले तपाईँले चिनेजानेका व्यक्तिहरूको नाममा फोटो सहित प्रोफाइल बनाएर समेत रिक्वेस्ट पठाउन सक्छन्, त्यस्ता विषयमा पनि सचेत रहनुहोस् । 

६. कुनै पनि लिङ्क र एक्स्टेन्सनमा क्लिक नगर्नुहोस्ः 

फेसबुक प्रयोग गर्दा जथाभावी लिङ्कमा क्लिक गर्ने गल्ती नगर्नुहोस् । कहिले कहिँ तपाईँले चिनेजानेकै व्यक्तिको अकाउन्टमाथि पहुँच बनाएर ह्याकरले झुक्याउने लिङ्क पठाउन सक्छन्, यस्तोमा तपाईँ उनीहरूको जालमा पर्न सक्नुहुन्छ ।

कतिपय बेला यस्ता लिङ्कमा क्लिक गर्दा आफ्नो युजरनेम, पासवर्ड लगायतका गोप्य विवरण समेत ह्याकरको हातमा पुग्न सक्छन् ।

साथै मोबाइलमा थर्डपार्टी एप डाउनलोड गरी फेसबुक चलाउने अथवा कम्प्युटरमा ब्राउजर एक्सटेन्सन प्रयोग गर्ने विषयमा सतर्क रहनु होस् । ह्याकर तथा असुरक्षाबाट बच्न चाहनुहुन्छ भने सकेसम्म यस्ता कुराबाट टाढा रहनुहोस् । 

७. ट्रस्टेड कन्ट्याक्ट सेटअप गर्नुहोस्ः 

फेसबुकमा ट्रस्टेड कन्ट्याक्ट सेटअप गर्दा तपाईँको फेसबुक अकाउन्ट र पेजमा पहुँच बनाउन सहयोग पुग्छ । फेसबुकमा रहेका आफ्नो नजिकका साथी तथा आफन्तलाई यस्ता ट्रस्टेड कन्ट्याक्टको रुपमा राख्ने सुविधा हुन्छ । जसले कुनै कारण तपाईँको फेसबुक लक हुँदा त्यसमा पहुँच बनाउन तपाईँलाई सहयोग गर्न सक्छन् ।

यस्तोमा तपाईँले आफ्ना ट्रस्टेड कन्ट्याक्टमा रहेका साथीहरूलाई एउटा यूआरएल लिङ्क पठाउनुपर्ने हुन्छ र त्यसमा देखिएको कोड माग्नुपर्ने हुन्छ ।

तर याद राख्नुहोस् ट्रस्टेड कन्ट्याक्टमा राख्दा पूरा ५ जना राख्नुहोस् । यस्तोमा आवश्यक पर्ने कम्तिमा तीन ओटा कोड जुटाउन तपाईँलाई सहज हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२