close

नेपालमा अब पेटेन्ट दर्ताको काम नास्टले गर्ने

टेकपाना टेकपाना

चैत १०, २०७८ १२:४९

नेपालमा अब पेटेन्ट दर्ताको काम नास्टले गर्ने

काठमाडौं । पेटेन्ट दर्तालाई नेपालमा त्यति धेरै महत्व दिएको पाइँदैन । आफूले कुनै नयाँ कुराको आविष्कार गरेको छ भने त्यो पूर्ण रुपमा आफैंले बनाएको हो र यसमा मेरो अधिकार छ भनेर कानूनी रुपमा दर्ता नगर्दा कतिपय त्यस्ता आविष्कार अरुले दुरुपयोग गरिरहेको हुनसक्छ ।

पेटेन्ट दर्ता अर्थात् आफ्नो आविष्कार, अनुसन्धानजस्ता महत्त्वपूर्ण कुरा आफ्नो नाममा दर्ता गर्नु हो । विश्व बजारमा पेटेन्ट दर्ताका लागि प्रतिस्पर्धा नै हुने गरेको छ । पछिल्लो समय फाइभजीमा ह्वावेले मात्रै आफ्नो नाममा सात हजारभन्दा बढी पेटेन्ट दर्ता गराएको छ ।

यसरी पेटेन्ट दर्ता गराउँदा यदि कसैले उक्त प्रविधि प्रयोगमा ल्याएको खण्डमा पेटेन्ट दर्ता गराउनेले प्रविधि प्रयोग गरेबापत शुल्क बुझाउनुपर्ने हुन्छ । त्यसैले यही पेटेन्टमार्फत नै अर्बौं आम्दानी गर्ने कम्पनीहरू पनि छन् ।

तर, नेपालको परिवेशमा भने त्यो खालको प्रवृत्ति विकास भइसकेको छैन । पछिल्लो समय प्राज्ञिक व्यक्तिले भने पेटेन्ट दर्ताको विषयलाई महत्वका साथ लिएका छन् । फलस्वरुप अब पेटेन्ट दर्ताको काम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गर्ने भएको छ ।

यसअघि उद्योग विभागअन्तर्गत रहेको यो कार्यलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नास्टले यसको जिम्मा लिने तयारी गरेको हो ।

‘पेटेन्ट दर्ताको काम प्रभावकारी नभएको भन्दै प्राज्ञिक व्यक्तिबाट हामीलाई गुनासो आइरहेको थियो,’ नास्टका प्रविधि संकाय प्रमुख रविन्द्रप्रसाद ढकालले भने, ‘त्यसैका आधारमा हामीले उद्योग विभागसँग यसको जिम्मा हामीलाई दिन आग्रह गरेका थियौं ।’

त्यसैका आधारमा विभागले पेटेन्ट दर्ताको काम नास्टको सहकार्यमा गर्ने तयारी गरेको हो । त्यसका लागि आवश्यक तयारी पुरा भइसकेको र चाँडै उद्योग विभागले नास्टलाई यो जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२