close

पिक्सेल फोनमा उहिल्यै आएका फिचर बल्ल आईफोनमा आयो: गुगल

टेकपाना टेकपाना

असार ४, २०८२ ८:३६

पिक्सेल फोनमा उहिल्यै आएका फिचर बल्ल आईफोनमा आयो: गुगल

काठमाडौँ । एप्पलले हालै सार्वजनिक गरेको आईओएस २६ का फिचरहरूलाई लिएर गुगलले पनि व्यंग्य गरेको छ । गुगलको ‘बेस्ट फोन्स फरेभर’ (#BestPhonesForever) नामक भिडिओ क्याम्पेनको नयाँ भागमा एप्पलका नयाँ फिचरहरू पिक्सेल फोनबाट प्रेरित रहेको दाबी गरिएको छ ।

उक्त भिडिओमा पिक्सेल र आईफोनबिचको संवाद देखाइएको छ, जहाँ पिक्सेलले अटो-ट्रान्सलेसन, होल्ड-असिस्ट, कल स्क्रिनिङजस्ता फिचरहरू पहिले नै आफूले दिएको दाबी गर्छ । पिक्सेलका अनुसार अटो-ट्रान्सलेसन चार वर्षअगाडि, होल्ड-असिस्ट पाँच वर्षअगाडि र कल स्क्रिनिङ सात वर्षअगाडि नै पिक्सेलमा उपलब्ध भइसकेको थियो ।

भिडियोको अन्त्यमा आईफोनले पिक्सेललाई पिक्सेल १० सिरिजका लागि केमा काम गरिरहेको छ भनी सोध्छ, ताकि भविष्यमा आईफोन १७ सिरिजका लागि फेरि प्रेरित हुन सकियोस् ।

प्रतिस्पर्धी प्रविधि कम्पनीहरू एक-अर्काबाट प्रेरित हुनु सामान्य भएको चर्चा गर्दै भिडिओले प्राविधिक दौडको यथार्थ चित्रण पनि गरेको छ ।

यसअघि सामसङले पनि आईओएस २६ का फिचरहरूलाई लिएर व्यंग्य गरेको थियो । 

पछिल्लो अध्यावधिक: असार ४, २०८२ ८:५३