काठमाडौं । सामान्य दैनिकीको हिसाबले हेर्दा पुराना चिज बढी भरपर्दो हुने हाम्रो विश्वास छ । अंग्रेजी भाषामा ‘ओल्ड इज गोल्ड’ अर्थात् पुराना कुरा बहुमूल्य हुन्छ भनेझैं धेरै यस्ता व्यवसाय छन्, जुन पुनर्जीवित भएर बजारमा राम्रो व्यवसाय गरिरहेका छन् ।
डुब्ने अवस्थामा पुगिसकेका केही ब्राण्ड पछि नयाँ अवधारणासहित बजारमा पुनः प्रवेश गरेर सफल भएका धेरै उदाहरण छन् भने केही बजारमा नयाँ योजना सहित फर्कने प्रयासमा असफल भएका ब्राण्ड पनि छन् ।
यद्यपि प्रविधिको क्षेत्रमा आजसम्म डुब्न लागेका कम्पनी नयाँ अवधारणा सहित आएर बजारमा सफल भएको उदाहरण धेरै कम छ ।
यसको बलियो प्रमाण हो, बजारमा आएका केही मोबाइल कम्पनीहरू, जो बजारमा पुनः प्रवेश गर्ने प्रयासमा पटक-पटक असफल भएका छन् । तीमध्ये एउटा ब्राण्ड हो, ब्ल्याकबेरी ।
‘अनवार्ड मोबिलिटी’ कम्पनीले २०२० मा ब्ल्याकबेरी फोनलाई पुनः बजारमा ल्याउने घोषणा गरेको थियो । आज उक्त घोषणाको दुई वर्ष बित्यो । न त फोन सार्वजनिक भयो, न त सार्वजनिक हुने कुनै संकेत छ ।
बजारबाट हराइसकेको फोन बजारमा पुनः फर्कने प्रयास गर्ने यो नै पहिलो प्रयास भने होइन । एक दशक अघिसम्म ब्ल्याकबेरीको आफ्नो छुट्टै इकोसिस्टम थियो । म्यासेजिङका लागि ब्ल्याकबेरीले हालको आईफोनमा ‘आईम्यासेज’ को फिचर जस्तै ‘बीबीएम’ फिचर राखेको थियो ।
सन् २००५ मा ब्ल्याकबेरीले ‘बीबीएम’ म्यासेजिङ फिचरको सुरुवात गरेको थियो । जसमा म्यासेज पठाउन मात्र होइन, फोटो, भ्वाइस नोट पठाउन लगायत फोन गर्न सकिने सुविधा पनि थियो । यसले ठ्याक्कै अहिलेको आईम्यासेजले जस्तै काम गर्थ्यो ।
तर प्रविधिले एक पछि अर्को गर्दै छोटो समयमा नै फड्को मारिरहेको यो समयमा कम्पनीले लामो समयसम्म ब्ल्याकबेरीलाई लिएर टिक्न सकेन ।
आफ्नो अस्तित्व बचाइराख्न कम्पनीले बीबीएमलाई एन्ड्रोइड र आईओएसमा सार्ने प्रयास गरेपनि कम्पनी सफल हुन सकेन र अन्ततः बजारबाट बिदा लिनुपर्ने समय आयो ।
यसपछि ब्ल्याकबेरीको मुख्य कम्पनी ‘मोसन’ले अन्य कम्पनी जस्तै टीसीएल, अप्टिमस इन्फ्राकम लगायत अन्य ब्राण्डलाई ब्ल्याकबेरीको नामको लाइसेन्स प्रदान गरेको थियो । तर नयाँ कम्पनीहरूले पनि ब्ल्याकबेरीको वास्तविक युनिक म्यासेजिङ फिचरबाट बजार गर्न सकेनन् ।
यस्तै कहानी ‘पाम’ कम्पनीको पनि छ । सन् १९९२ मा स्थापना भएको कम्पनीले ल्याएका उत्पादनले पर्सनल डिजिटल असिस्टेन्ट डिभाइसको रुपमा निकै नै चर्चा कमाएको थियो । यो कम्पनीले स्मार्टफोन कस्तो हुनुपर्छ भनेर परिभाषित गरेको थियो ।
त्यस्तै सन् २००९ मा वेबओएसमा डेब्यु गरेर कम्पनीले स्मार्टफोनको आधुनिक इन्टरफेसहरू सेट गर्न सफल भएको थियो । यही वर्ष सार्वजनिक भएको ‘पाम प्रि’ सँगै कम्पनीले विश्वको पहिलो मल्टिटास्किङ स्मार्टफोन सार्वजनिक गरेको थियो । अहिले आईफोन र एन्ड्रोइडमा प्रयोग हुने स्वाइप र कार्डमा आधारित इन्टरफेसमा पामको नै योगदान छ ।
ब्ल्याकबेरी जस्तै पामले पनि आफ्नो नाम बिक्री गरेको छ । एचपीले २०१० मा यसको नाम त लियो, तर वेबओएसमा आधारित टचप्याडको असफलतापछि कम्पनीले यो नाम तुरुन्तै टीसीएललाई बिक्री गरेको थियो । यद्यपि टीसीएलले पनि पामको विशेषता बुझ्न नसक्दा यसले फेरि बजारमा आफ्नो ठाउँ बनाउन सकेन ।
पामको मुख्य विशेषता भनेको नै यसको कम्पनीको नाम थियो, जसको अर्थ हाे, हत्केला । यो मोबाइलको विशेषता भनेको यो हत्केलामा ठ्याक्कै अटाउन सकिने आकारको थियो । पाम अर्थात हत्केलामा आट्ने फोन ठूला फोनहरूको लागि साथीको रूपमा डिजाइन गरिएको थियो ।
वास्तवमा यो अर्को उपकरणसँग जोड्दा मात्र प्रयोग गर्न सकिन्थ्यो । यस्तो उत्पादनका लागि बजारको आकार धेरै नै सानो भयो र व्यापार-केन्द्रित ब्राण्डलाई पाम आकारको सहायकको रूपमा पुनर्जीवित गर्ने यो योजना सुरु हुनुअघि नै मरेको थियो । सन् २०१९ देखि नै बजारमा यसको चर्चासम्म पनि हुन छोड्यो ।
नामको कारणले मात्र केही ब्राण्डहरूलाई पुनर्जीवित गराउन सकिँदैन भन्ने कुराको उदाहरण हो यो । नयाँ कम्पनीको स्वामित्वमा ब्ल्याकबेरी र पाम नयाँ स्वरुपमा केही पुराना फिचरसहित सार्वजनिक त भए । तर यी दुवै डिभाइस हार्डवेयरका लागि भन्दा पनि यिनीहरूको फरक फिचरको लागि लोकप्रिय थिए, जसमा नयाँ कम्पनीहरूले मेहेनत नगरेको देखिन्छ ।
एचएमडी ग्लोबलले नोकियासँग बजारमा प्रतिस्पर्धा गर्न सुरु गरेको भर्खरै पाँच वर्ष नाघ्यो । आजसम्म नोकियाको गुणस्तर र विश्वसनीयतालाई लिएर कम्पनीले नोकिया फोनहरूलाई उत्कृष्ट बनाउने प्रयास गरिरहेको छ ।
फ्ल्यागशिप फोनहरूको बजारमा नोकिया आजको दिनमा त्यति चर्चित नभए पनि बजेट फोनका लागि भने आज पनि नोकियाले बजारमा आफ्नो स्थान बनाएर बसेको छ ।
प्रत्येक हप्ता आकर्षक फिचरसहित नयाँ नयाँ एन्ड्रोइड फोन सार्वजनिक भइरहेको हुन्छ । यस्तोमा नोकिया सबैको छनौटमा पर्न नसक्ला । तर आजको दिनमा पनि विश्वभर राम्रो र गुणस्तरीय हार्डवेयरसहित यो फोनको ढुवानी भइरहेको छ ।
यद्यपि सस्तो फोन र हार्डवेयरमात्र नोकियाको वास्तविक आकर्षण होइन, जसलाई एचएमडीले पहिचान गर्न सकेन ।
नोकिया फोनको अर्को मुख्य विशेषता भनेको यसको फरक-फरक र नयाँ डिजाइन, उत्कृष्ट क्यामेरा, आकर्षित फिचर लगायत पनि थिए, जसलाई एचएमडीले उपयोग गर्न सकेन ।
फिचर फोनलाई छोडेर अरु फोन हेर्ने हो भने कम्पनीले नोकियालाई मात्र एउटा एन्ड्रोइड हार्डवेयरको रुपमा प्रस्तुत गरेको छ । साथै एचएमडीले फ्ल्यागशिप फोन र सफ्टवेयर अपडेटहरूमा गरेको प्रयास पनि त्यति प्रभावकारी देखिँदैन ।
स्मार्टफोनको बजारमा टिक्नु त्यति सहज कुरा होइन । विशेषगरी कुनै समयमा बजारमा आफ्नो विरासत बनाएर बसेका मोबाइललाई निरन्तरता दिनु उत्तिकै कठिन छ ।
पुराना मोबाइलको विरासतलाई निरन्तरता दिनका लागि ती मोबाइलहरूको वास्तविक फिचरहरूलाई निरन्तरता दिन जरुरी छ । यद्यपि नामले मात्र कुनै फोन बिक्री हुँदैन । यही कारण धेरै फोनले बजारमा आफ्नो स्थान फेरि पाउन सकेका छैनन् ।