काठमाडौं । विश्वको आधाभन्दा बढी जनसंख्याले सामाजिक सञ्जाल प्रयोग गरिरहेको छ । आजको दिनमा सामाजिक सञ्जाल हरेक कुराका लागि एउटा उपयुक्त प्लेटफर्म बनेको छ ।
सामाजिक सञ्जालमा उपस्थित हुनेहरूको यो संख्याले तपाईंको व्यवसायलाई बलियो बनाउन पनि मद्दत गर्न सक्छ । तर संख्या सबैथोक पनि नहुन सक्छ ।
संख्याकै आधारमा हेर्ने हो भने त हाल विश्वभर चार अर्ब ६२ करोड जनसंख्या सामाजिक सञ्जालमा उपस्थित छन् र सामाजिक सञ्जालको दैनिक प्रयोग औसतमा साढे दुई घण्टा पनि कम छ ।
यो देख्दा सामाजिक सञ्जाल खास नलाग्न पनि सक्छ, अथवा यो संख्याले तपाईंलाई लाग्न सक्छ कि, तपाईंको व्यवसायलाई ग्राहकसम्म पुर्याउने माध्यम सामाजिक सञ्जाल नै हो ।
यद्यपि तपाईंको व्यवसायको लागि सामाजिक सञ्जाल त्यो प्लेटफर्म हो, जुन तपाईंको ग्राहक र तपाईंको सामाजिक सञ्जाल प्रयोग गर्ने तरिकामा निर्भर हुन्छ ।
अन्यथा सामाजिक सञ्जालले तपाईंको व्यवसायलाई हानी पनि गर्न सक्छ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु जरुरी छ ।
के तपाईंको ग्राहक सामाजिक सञ्जालको प्रयोगकर्ता हो ?
तपाईंले आफ्नो व्यवसाय सुरु गर्नुअगाडि तपाईंको लक्षित बजारको बारेमा अध्ययन गर्नु राम्रो हुन्छ । बजारको आकार अथवा ग्राहकको संख्या मात्र हेरेर हुँदैन ।
तपाईंले आफ्नो ग्राहकले कतिसम्म खर्च गर्न सक्छन्, उनीहरू कहाँ बस्छन्, कुन उमेरका छन्, कति किनमेल गर्छन् लगायत इन्टरनेटमा कति समय बिताउँछन् र अनलाइनबाट कति सामान खरिद गर्छन् लगायतका जानकारी लिनु उपयुक्त हुन्छ ।
यदि तपाईंका ग्राहक इन्टरनेटमा समय नै बिताउँदैनन् अथवा सीमित समयमात्र इन्टरनेट प्रयोग गर्छन् भने टिकटक, फेसबुक लगायत अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा आफ्नो व्यवसाय प्रोमोट गर्न खोज्नु तपाईंको लागि उल्टै हानी मात्र हुनसक्छ ।
यसो भयो भने तपाईंका लागि सामाजिक सञ्जाल उपयुक्त हुँदैन । तर यदि तपाईंको ग्राहक सामाजिक सञ्जालमा अभ्यस्त छ भने तपाईंले केही सामान्य अध्ययन गरेर आफ्नो व्यवसाय अगाडि बढाउन सक्नुहुन्छ ।
यसका लागि सामाजिक सञ्जालका कुन प्लेटफर्ममा कति प्रयोगकर्ता छन् र कुन प्लेटफर्म कस्तो व्यावसायिक कामको लागि ठीक छ भने थाहा पाउन जरुरी हुन्छ । केही प्लेटफर्मको बारेमा तल उल्लेख गरिएको छ ।
फेसबुक
सामान्यतया फेसबुक प्रयोगकर्ताहरू हरेक उमेरका भए पनि धेरै संख्यामा भने २५ देखि ३४ वर्ष उमेरका प्रयोगकर्ता छन् । यसैले यो प्लेटफर्म तपाईंको व्यवसाय प्रवर्द्धन गर्नको लागि, उत्पादनहरू सार्वजनिक गर्नको लागि, आफ्नो कम्पनीको अफरहरूको प्रचार प्रसार गर्नका लागि साथै प्रयोगकर्ताको जिज्ञासाहरू लिन अनि तपाईंको उत्पादनमा प्रयोगकर्ताको प्रतिक्रिया लिन पनि यो प्लेटफर्म उपयुक्त छ । किनभने प्रायजसो मानिसहरू फेसबुकमा अन्तर्क्रिया गर्न इच्छुक हुन्छन् ।
युट्युव
युट्युवमा पनि २५ देखि ३४ वर्ष उमेरका प्रयोगकर्ता बढी छन् । यो प्लेटफर्म तपाईंले आफ्नो व्यवसायको भिडिओ सामग्रीहरू बनाउनका लागि, विज्ञापनहरू राख्नका लागि, आफ्नो ब्रान्डको कथाहरू प्रस्तुत गर्नका लागि, केही नयाँ कुराहरू सिकाउनका लागि तथा प्रडक्टहरू प्रस्तुत गर्नको लागि प्रयोग गर्न सक्नुहन्छ ।
पिनट्रेस्ट
पिनट्रेस्टका पनि सबैभन्दा धेरै प्रयोगकर्ता २५ देखि ३४ वर्ष उमेरका छन् । यो प्लेटफर्म विशेषगरी भिजुअल प्रडक्टहरू प्रोमोट गर्नको लागि प्रयोग हुन्छ । ग्राफिक डिजाइनिङका प्रडक्टहरू, इन्टेरियर डिजाइन, फर्निचर, गरगहना लगायतका व्यवसायको लागि यो प्लेटफर्म उपयुक्त हुन्छ ।
इन्स्टाग्राम
फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्राम व्यवसायका लागि अहिले सबैभन्दा चलेको प्लेटफर्मको रुपमा स्थापित छ । यो प्लेटफर्मका पनि धेरै प्रयोगकर्ता २५ देखि ३४ वर्ष उमेरका छन् । इन्स्टाग्राम विशेषगरी इन्फ्लुएन्सर मार्केटिङ गर्ने प्लेटफर्म हो ।
अर्थात धेरै फलोअर भएको व्यक्ति वा कुनै चर्चित व्यक्तिले तपाईंको उत्पादनहरू इन्स्टाग्राममा प्रोमोट गर्ने गर्छन् । यो सँगै तपाईं आफैले पनि आफ्नो फोटोहरू पोस्ट गरेर अथवा छोटो भिडिओहरू राखेर पनि आफ्नो प्रडक्ट प्रोमोट गर्न सक्नुहुन्छ ।
टिकटक
टिकटक अहिलेको सबैभन्दा चर्चित एप हो जहाँ छोटो भिडिओको माध्यमबाट प्रोमोट गर्ने गरिन्छ । टिकटकमा सबै भन्दा धेरै १८ वर्ष देखि १४ वर्ष सम्मको प्रयोगकर्ताहरू छन् । यो भाइरल मार्केटिङ हो र इन्स्टाग्राम जस्तै इन्फ्लुएन्सर मार्केटिङ पनि हो । छोटो भिडिओको माध्यमबाट आफ्नो प्रोडक्टहरू प्रोमोट गर्न यो प्लेटफर्म उपयुक्त हुन्छ ।
लिंक्डइन
व्यावसायिक प्लेटफर्मको रुपमा परिचित लिंक्डइनका सबैभन्दा धेरै प्रयोगकर्ता ३० देखि ६४ वर्ष उमेरका छन् ।
यो प्लेटफर्म आफ्नो प्रडक्टहरू प्रोमोट गर्न, आफ्नो विचार व्यक्त गर्न, प्रेरणात्मक कुराहरू सिकाउन, नयाँ जानकारी दिन, कर्मचारी माग गर्न, व्यवसायिक सम्बन्ध विस्तार गर्न लगायतका कामका लागि निकै नै उपयुक्त हुन्छ ।
माथि उल्लेखित केही प्लेटफर्महरू उदाहरण हुन् । तपाईंले आफ्नो व्यवसायको लागि ग्राहकले कुन प्लेटफर्म बढि प्रयोग गर्छ भनेर बुझ्नु जरुरी हुन्छ ।
के तपाईं सामाजिक सञ्जालको बारेमा जानकार हुनुहुन्छ ?
तपाईंले आफ्नो बजार र ग्राहकको बारेमा अध्ययन गर्नुभएपछि तपाईंले सामाजिक सञ्जालबाट के चाहनुभएको त्यो निश्चित गर्नु । अर्थात् तपाईं तपाईंको लक्षित वर्गमाझ चेतना फैलाउन चाहनुहुन्छ वा आफ्नो उत्पादन बिक्री गर्न चाहनुहुन्छ, निर्क्यौल गर्नुहोस् ।
सामाजिक सञ्जालका प्लेटफर्म त धेरै छन् । यसैले सबैतिर म बराबर काम गर्छु भन्ने सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । यसले तपाईंलाई नै अप्ठ्याराे पार्नसक्छ । त्यसैले आफ्ना लागि कुनै एउटा प्लेटफर्म छान्नुहोस् ।
एकचोटी तपाईंले आफ्नो व्यवसायको लागि सही प्लेटफर्महरू छान्नु भएपछि, तपाईंले शेयर गर्ने सामग्रीको प्रकारमा ध्यान दिनुहोस् । अर्थात तपाईं धेरै फोटो मात्र शेयर गर्नुहुन्छ कि, भिडिओ मात्र शेयर गर्नुहुन्छ कि वा दुवै शेयर गर्नुहुन्छ निर्णय गर्नुहोस् ।
साथै तपाईंसँग तपाईंले नियमित रूपमा पोस्ट गर्नु भएको सामग्रीमा आउने प्रतिक्रियालाई फलोअप गर्ने समय छ कि छैन वा समय दिन सक्नुहुन्छ कि हुन्न त्यहि अनुसार सामाजिक सञ्जालमा लाग्नुहोस् ।
तपाईंका फलोअर सँग तपाईंले निरन्तर अन्तरक्रिया गर्नुपर्ने हुन्छ । दुवैतर्फबाट अन्तर्क्रिया हुनु नै सामाजिक सञ्जाल सबैभन्दा प्रभावकारी हुनु हो । साथै पोस्ट गर्ने सामग्रीको लागि योजना बनाएर पोस्ट शेयर गर्नुहोस् ।
तपाईंले आफ्नो सामाजिक मिडिया व्यवस्थापनको लागि कोही विशेषज्ञ व्यक्ति वा कुनै एजेन्सीलाई पनि जिम्मा दिन सक्नुहुन्छ ।
गर्नुपर्ने कामहरू
– सबैभन्दा पहिले आफ्नो व्यवसायको प्रोफाइल सेटअप गर्नुहोस्
– नियमित रूपमा पोस्ट गर्नुहोस् र आफ्नो व्यावसायिक जानकारीलाई अपडेट गरिरहनुहोस्
– प्रश्न, गुनासो तथा अन्य प्रतिक्रियाको तुरुन्तै जवाफ दिनुहोस्
– बजारमा चलेका नयाँ ट्रेन्डहरूमा ध्यान दिनुहोस्
– आफ्नो प्रतिस्पर्धी वा अन्य व्यवसायहरु फलो गर्नुहोस्
– तपाईंको व्यवसायलाई प्रोमोट गर्ने किसिमका पोस्टहरू बुस्ट गर्नुहोस्
गर्न नहुने कामहरू
– विवादास्पद सामग्री र व्यक्तिगत विचार पोस्ट नगर्नुहोस्
– नकारात्मक टिप्पणी वा समीक्षाहरूलाई बेवास्ता नगर्नुहोस् वा नमेटाउनुहोस्
– अनावश्यक धेरै पोस्ट नगर्नुहोस्
– तुरुन्त नतिजाको अपेक्षा नगर्नुहोस्
– पोस्ट गर्नुअघि आफ्नो व्याकरण लगायत जानकारी पनि राम्रोसँग जाँच गर्न नबिर्सनुहोस्