close

एलन मस्कः एउटा यस्तो समय पनि थियो, उनले साथीसँग सापटी लिनुपरेको थियो

टेकपाना टेकपाना

बैशाख १६, २०७९ २२:२१

एलन मस्कः एउटा यस्तो समय पनि थियो, उनले साथीसँग सापटी लिनुपरेको थियो

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर खरिद गर्ने डिल गरेका छन् र त्यसै कारण लगातार उनी चर्चामा छन् । खर्बौँ रुपैयाँको यो डिलबाट अन्दाज लगाउन मुस्किल छैन कि मस्क विश्वका सबैभन्दा मालदार व्यक्ति हुन् ।

तर त्यति धेरै पुरानो कुरा पनि होइन जब उनको कम्पनी रकम अभावसँग जुधिरहेको  थियो र सन् २०१८ मा कयौँ आपतको सामना गर्नुपर्‍यो । खाता तीव्र रुपमा खालि भइरहेको थियो र कम्पनी टाट पल्टिने बाटोमा थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको रुपमा मस्क दैनिक २२-२२ घण्टासम्म फ्याक्ट्रीमा आफ्नो समय बिताउँथे । पछि एक अन्तर्वार्तामा मस्कले आफैँ पनि स्वीकार  गरे कि कम्पनी अन्त्य हुने अवस्थामा थियो । तर दुई वर्षमा परिस्थिति बदलियो ।

भर्खरै कार बजारमा उतारिएको थियो र कम्पनीको शेयर आश्चर्यजनक रूपले वृद्धि भइरहेको थियो । जसमा ५० प्रतिशतभन्दा बढीको वृद्धि भयो । सन् २०२० मा लगातार चार त्रैमासिकमा कम्पनीले नाफा कायम गर्‍यो ।

कोरोना महामारीको समयमा जब कार कम्पनी सेमिकण्डक्टरको अभावसँग जुधिरहेको थियो, टेस्ला कीर्तिमानी नाफा गरिरहेको थियो । सन् २०२१ मा कम्पनीको बजार मूल्य १.२ ट्रिलियन डलरसम्म पुग्यो र एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, अमेजनपछि टेस्ला सबैभन्दा ठूलो कम्पनीको सूचीमा प्रवेश गर्‍यो ।

कार कम्पनीमा यो सबैभन्दा छिटो एक ट्रिलियन डलरको आँकडासम्म पुगेको थियो र ब्रान्ड भ्यालुको मामिलामा सबैभन्दा ठुलो बन्यो । 

को हुन एलन मस्क र केके गर्छन् उनी ? 

एलन मस्कको कामको दायरा केवल भविष्यको कार बनाउने कम्पनीमा सीमित छैन । उनको कम्पनी टेस्ला विद्युतीय कारमा लाग्ने पाटपुर्जा र ब्याट्री समेत बनाउँछ । जुन अन्य कार निर्माता कम्पनीलाई बिक्री गरिन्छ ।

कम्पनीले घरमा लाग्ने सोलार ऊर्जा प्रणाली पनि बनाउँछ । जसको माग समयसँगै बढ्दै गएको छ । उनी एक अन्तरिक्ष अन्वेषण कम्पनी समेत चलाउँछन् ।

साथै उनी अमेरिकामा सुपर फास्ट अन्डरग्राउन्ड ट्रान्सपोर्ट सिस्टमको खाका समेत बनाइरहेका छन् । आजको समयमा एलन मस्कको पहिचान एक अमेरिकी उद्यमीको रुपमा छ । तर उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो ।

उनकी आमा क्यानडा मूलकी हुन् भने बुबा दक्षिण अफ्रिकी । मस्कका अनुसार उनलाई सानैदेखि पुस्तक पढ्ने निकै सोख थियो । उनी भन्छन् कि ‘सानो छँदा म निकै धेरै शान्त बस्थेँ, जसले गर्दा मलाई निकै हैरान समेत पारियो ।’

१० वर्षको उमेरमा मस्कले कम्प्युटर प्रोग्रामिङ सिके र १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामक एक भिडिओ गेम तयार पारे । जसलाई स्थानीय एक म्यागेजिनले उनीसँग पाँच सय अमेरिकी डलरमा खरिद गर्‍यो ।

जसलाई मस्कको पहिलो व्यापारिक उपलब्धि मान्न सकिन्छ । ४९ वर्षीय एलन मस्कको व्यवसायको सुरुवात वास्तवमा सन् १९९९ मा भयो । जब उनी र उनका दाजु किम्बलले आफ्नो सफ्टवेयर कम्पनी ‘जिप-२’ का लागि एक सफल डिल भेटे ।

यसबाट प्राप्त पैसा २७ वर्षको उमेरमा मस्कले एउटा नयाँ  कम्पनीमा लगाए । जसको नाम थियो, ‘एक्स डटकम’ । उक्त कम्पनीको दाबी थियो कि ‘कम्पनीले रकम ट्रान्सफर गर्ने व्यवस्थामा क्रान्ति ल्याउनेछ ।’

मस्कको उक्त कम्पनीलाई अहिले ‘पे-पाल’को नामबाट चिन्ने गरिन्छ । जसलाई सन् २००२ मा ई-बेले खरिद गरेको थियो र त्यसका लागि मस्कलाई १६५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।

यो उनको करियरको ठूलो उपलब्धि थियो । त्यसपछि मस्कले अन्तरिक्ष अन्वेषणको प्रविधिमा काम गर्न सुरु गरे । उनको यो कार्यक्रमलाई ‘स्पेस-एक्स’ नाम दिइएको छ ।

जसले ‘मानिसहरूको बसोबास आगामी समयमा अर्को ग्रहमा समेत हुने’ बताएको छ । सन् २००४ मा एलन मस्कले विद्युतीय कार कम्पनी टेस्लाको योजना बनाए र उनले भने, ‘भविष्यमा सबै विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेटसहित टेस्लाले यो परिवर्तन ल्याउन अहम् भूमिका निभाउनेछन् ।’

मस्कको सफलताको राज के हो ? 

बीबीसी सम्वाददाता जस्टिन रोलेटले एलन मस्कसँगको एक साक्षात्कारको समयमा सोधे कि ‘तपाईँको सफलताको राज के हो ?’ जवाफमा उनले पाए कि ‘एलन मस्कको व्यवसाय प्रति ‘एटिच्युड’ यानकी व्यापार र आफ्नो कामलाई लिएर उनको नजर नै बेग्लै छ ।’

केही वर्ष अघि भएको उक्त साक्षात्कारमा मस्कले भनेका थिए, ‘मसँग कति सम्पत्ति छ भन्ने कुरा मलाई थाहा छैन । यो त्यस्तो होइन कि कहिँ नोटका बन्डल थुपारिएको छ । यसलाई टेस्ला, स्पेस एक्स र सोलर सिटीमा मेरो हिस्सेदारी र बजारमा उक्त हिस्सेदारीको केही मूल्य छ भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । तर मलाई वास्तवमा त्यसले फरक पर्दैन किन कि मेरो काम गर्ने लक्ष्य यो होइन ।’

रोलेट लेख्छन् कि ‘मस्कको यो हेराइले सायद काम गरिरहेको छ । उनीसँग आज जति सम्पत्ति छ, त्यसबाट उनले चाहे भने विश्वको कयौँ ठूलो कार निर्माता कम्पनीहरू एकसाथ खरिद गर्न सक्छन् । उनी यस वर्ष ५० वर्षका हुनेछन् । तर एक धनाढ्य व्यक्तिको रुपमा संसारलाई अलबिदा भन्ने उनको सपना अवश्य पनि छैन ।’

मस्क भन्छन् कि उनी मङ्गल ग्रहमा एक जग बनाउनका लागि आफ्नो सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा लगाउन चाहन्छन् र उनी यो मिसन सफल बनाउन आफ्नो सम्पूर्ण सम्पत्ति खर्च गर्नुपरे पनि उनलाई त्यसबाट कुनै आश्चर्य हुनेछैन । मङ्गल ग्रहमा मानवको एक धरातल, मस्कको नजरमा सबैभन्दा ठूलो सफलता हुनेछ ।

उनी ठान्छन् कि ‘यसबाट भविष्य राम्रो हुनेछ’ । स्पेस-एक्सको स्थापनाको विषयलाई लिएर समेत बीबीसीसँगको साक्षात्कारमा मस्कले भनेका थिए, ‘मैले कम्पनी यसकारण बनाएँ, किन कि म अमेरिकी स्पेस एजेन्सी अन्तरिक्ष अन्वेषणलाई लिएर अझ महत्वाकाङ्क्षी किन छैन, उ किन अगाडिको कुरा सोच्न सकिरहेको छैन भन्ने कुरालाई लिएर म असन्तुष्ट थिएँ । मेरो आशा छ कि भविष्यमा म चन्द्रमा र मङ्गल ग्रह हाम्रो आधार होस् र त्यहाँका लागि निरन्तर उडान भइरहून् ।’

‘मानिसहरूले मलाई इन्जिनियरको रुपमा चिनुन्’ 

मस्क चाहन्छन् कि मानिसहरू उनलाई एउटा लगानीकर्ताभन्दा बढी एक इन्जिनियरको रुपमा  चिनुन् । रोलेटसँगको साक्षात्कारमा उनले भनेका छन्, ‘म हरेक बिहान कुनै नयाँ प्राविधिक समस्याको समाधान खोज्नका लागि उठ्न चाहन्छु ।

बैंकमा कति पैसा छ, त्यसलाई म सफलताको मापक मात्रा ठान्दिनँ ।’ रोलेट लेख्छन्, ‘मस्क कार उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउन चाहन्छन् । उनी मङ्गल ग्रहमा कोलोनी बनाउन चाहन्छन् ।

भ्याकुम टनेलमा चल्ने सुपर-फास्ट रेल कुदाउन चाहन्छन् । मानिसको दिमागमा आर्टिफिसियल इन्टेलिजेन्स जोड्न चाहन्छन् र सौर्य ऊर्जाबाट विश्व सञ्चालन गर्न चाहन्छन् । यी सबै चिजमा एक चिज समान छ, त्यो के हो भने यस्तो भविष्यको कल्पना तपाईँलाई सन् १९८० को दशकको सुरुवातमा पाइने बाल पत्रिकामा भेटिन्थे ।

यसमा कुनै कुरा छिपेको छैन कि मस्कको बालापन दक्षिण अफ्रिकामा धेरै पत्रपत्रिका, किताब पढेर र फिल्म हेरेर बित्यो ।’ मस्क परिवर्तनको सुस्त गतिमा विश्वास गर्दैनन् । उनी चाँडोभन्दा चाँडो जीवाश्म इन्धनलाई पछाडि छोड्न चाहन्छन् । साथै मानवताको अस्तित्वलाई लामो समयसम्म कायम राख्नका लागि उनी मङ्गल ग्रहमा उपनिवेश विकसित गर्ने कार्यका पक्षधर हुन् ।

जोखिम उठाउने स्वभाव एलन मस्क जोखिम उठाउने पात्र हुन र उनले त्यसलाई साबित गरेर समेत देखाएका छन् । सन् २००८ मा जब विश्व आर्थिक मन्दीको सामना गरिरहेको थियो, मस्कको हालत पनि निकै खराब भइसकेको थियो ।

त्यसपछि उनको नयाँ कम्पनीमा कयौँ असफलताहरू देखिए । स्पेस-एक्सका सुरुवाती तीन ओटै प्रक्षेपण असफल भए । टेस्लामा समेत उत्पादनसँग सम्बन्धित कयौँ समस्या आउन थाले र मस्क तनावमा फसे ।

आफ्नो साक्षात्कारमा एलन मस्कले बताएका थिए कि एक समय यस्तो पनि आयो जब उनले आफ्नो खर्चका लागि साथीसँग सापटी माग्नु पर्‍यो । तर के उनमा कहिल्यै टाट पल्टिने डर पैदा भएन ?  

यो सवालको जवाफमा एलन मस्कले जस्टिन रोलेटसँग भनेका थिए, ‘धेरैमा धेरै के हुन्थ्यो, मेरा बालबच्चाहरूले सरकारी स्कुलमा जानुपर्ने हुन्थ्यो । त्यो कुन चाहिँ ठुलो कुरा हुन्थ्यो, म स्वयम् सरकारी स्कुलमा पढेको हुँ ।’

रोलेट लेख्छन्, ‘हाम्रो भेटघाटका दौरान मैले पाएँ कि मस्क एक चिजबाट अवश्य निराश थिए र त्यो थियो आलोचना । उनको भनाई थियो कि आलोचनाहरू कुनै आधारमा हुनुपर्छ । तर यहाँ मानिसहरू खुला रुपमा टेस्ला डुब्ने पर्खाइमा छन् ।

यद्यपि उनले भने कि आफू आलोचनाका कारण आफ्नो सोच कहिल्यै परिवर्तन गर्दैनन् । मस्कका अनुसार जब उनले स्पेस-एक्स र टेस्लाको जग हालेका थिए, त्यतिखेर स्वयम्‌ उनलाई नै विश्वास थिएन कि त्यसबाट उनले पैसा कमाउन सक्नेछन् ।’

कामको लत

एलन मस्कलाई नजिकबाट चिन्नेहरू भन्छन् कि उनलाई काम गर्ने लत छ । टेस्ला मोडल-थ्री तयार गर्दाको समय उनले भनेका थिए कि उनी हप्तामा १२० घण्टा काम गर्छन् र त्यसबाट उनलाई आनन्द मिल्छ ।

कोरोना महामरीको दौरान जब सानफ्रान्सिस्को स्थित उनको फ्याक्ट्री बन्द गर्नुपर्‍यो, त्यसपछि लकडाउनको प्रतिबन्ध विरुद्ध एलन मस्क खुलेर बोले । उनले भनेका थिए, ‘जो मानिसहरू महामारीलाई हौवा बनाइरहेका छन्, तिनीहरू बेवकुफ हुन् ।’

उनले घरमै बस्नुपर्ने आदेशलाई ‘जबरजस्ती’ बताए र भनेका थिए, ‘कोभिड लकडाउन संवैधानिक अधिकारको विरुद्धमा छ ।’ महामारीको दौरानमै एलन मस्कको घरमा छोराको जन्म भयो ।

त्यस अवसरमा ट्वीटरको माध्यमबाट उनले दुनियाँलाई जानकारी गराए कि उनले आफ्नो छोराको नाम एक्स एई ए-१२ (X Æ A-12) राखेका छन् । केही मानिसहरू ठान्छन् कि एलन मस्कको मनलाई पढ्न सकिन्न र उनको व्यवहारको पूर्वानुमान मुस्किल छ । तर उनको काममा त्यसको असर अलिकति पनि पर्दैन ।

बरु उद्यमीको रुपमा उनी एक दूरदर्शी व्यक्ति हुन् । सेप्टेम्बर २०२० मा उनले भनेका थिए कि ‘चाँडै नै  कम्पनीका सबै कार सेल्फ ड्राइभिङ (स्वचालित) हुनेछन् ।’ उनी आगामी तीन वर्षमा सस्ता विद्युतीय कार ल्याउने आशा समेत राख्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२