close

कुन बेला कस्तो चस्मा लगाउने ?

टेकपाना टेकपाना

जेठ २२, २०७९ १९:४५

कुन बेला कस्तो चस्मा लगाउने ?

काठमाडौं । हाम्रो जीवनशैलीमा चस्माको प्रयोग सामान्य बनिसकेको छ । विशेषगरी दृष्टि सुधारका लागि चस्माको विकास भएपनि अहिले आँखाको सामान्य सुरक्षाका लागि समेत चस्मा प्रयाेग हुने गर्छ । यतिमात्रै होइन फेसन र सौन्दर्य सामग्रीका रूपमा पनि चस्मा खरिदबिक्री हुने गरेको पाइन्छ ।

चस्मालाई फेसनका रुपमा लिँदा आँखाको दृष्टिमा केही समस्या नभएका मानिसहरूले विशेषज्ञकाे स्वीकृति वा सिफारिसबिनै मनपर्दी प्रयाेग गर्छन् ।

विभिन्न फ्रेम र लेन्सका चस्मा र कुन अवस्थामा कस्तो चस्मा लगाउने भन्ने उपचार विधि हुँदाहुँदै पनि मानिसहरू बजारमा जुन नयाँ आएको छ, त्यसैलाई फेसनका रूपमा प्रयोग गरिरहेका छन् ।

आज हामी बजारमा कति प्रकारका चस्मा उपलब्ध छन् र तिनलाई कस्तो अवस्थामा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

चस्माका प्रकार

बजारमा आएका कुनै पनि चस्मा किन्नुअघि सबैभन्दा पहिले आँखा विशेषज्ञकहाँ जानु निकै महत्त्वपूर्ण हुन्छ । तपाईंले त्यहाँ आफ्नो आँखा परीक्षण गरी आफूलाई कस्तो चस्माको आवश्यक छ भन्ने जानकारी पाउन सक्नुहुन्छ । त्यसपछि आँखा विशेषज्ञको सल्लाहमा चस्मा खरिद गरी प्रयोग गर्न सक्नुहुन्छ ।

सिंगल भिजन लेन्स

सिंगल भिजन लेन्स सबैभन्दा सस्तो र धेरै प्रचलित चस्मा हो । एक विशिष्ट दूरीमा भएको दृष्टिमा सुधार ल्याउने भएकाले यस्ता चस्मा बढी प्रयोग हुने गर्छन् । यदि तपाईं नजिकको नदेखेर टाढाको मात्र देख्नुहुन्छ वा नजिकको देखेर टाढाको देख्न सक्नुहुन्न वा एस्टिगमेटिज्म (कुनै पनि दूरीका वस्तु धमिलो देखिने) अवस्थामा हुनुहुन्छ भने विशेषज्ञले यस्ता किसिमका चस्मा लगाउन सुझाव दिन्छन् ।

बायोफोकल लेन्स

बायोफोकल लेन्समा दुई प्रकारका पावर समावेश हुन्छन् । यसमा विशेषगरी दुईवटा भाग छुट्याइएको हुन्छ । आँखा विशेषज्ञले नजिक र टाढा (दुवै) नदेख्ने मानिसहरूका लागि यो लेन्स प्रयोग गर्न परामर्श दिन्छन् ।

ट्राइफोकल

ट्राइफोकल लेन्स बायोफोकल लेन्सजस्तै हुन्छ । तर, यसमा मध्यवर्ती दृष्टि (नजिक र टाढाको बीच भागको दृष्टि) समावेश गरिएको हुन्छ । उदाहरणका लागि इन्टरमिडियट दृष्टि (मध्यवर्ती दृष्टि) कम्प्युटरको स्क्रिनको भाग हेर्न प्रयोग गरिन्छ ।

बायोफोकल र ट्राइफोकल लेन्समा विभिन्न भागका लागि फरक-फरक लाइनहरू राखिएको हुन्छ । त्यसरी एउटै लेन्समा फरक-फरक दृष्टि (नजिक, बीच र टाढा) मा समस्या भएका मानिसले यसलाई प्रयोग गर्न सक्छन् ।

प्रोग्रेसिभ

प्रोग्रेसिभ लेन्स बायोफोकल वा ट्राइफोकल लेन्स आवश्यक परेका मानिसहरूका लागि उपयुक्त हुन्छ । प्रोग्रेसिभ लेन्सले नजिक र टाढाको दृष्टिमा हुने कमजोरीलाई सुधार गर्छ । यसमा भने बायोफोकल र ट्राइफोकल लेन्सजस्तो लाइनहरू समावेश भएको हुँदैन ।

धेरै मानिसहरू प्रोग्रेसिभ लेन्स प्रयोग गर्न रुचाउँछन् । किनभने यसको विभिन्न भागलाई छुट्टाउने लाइन वा ट्रान्जिसन बाहिरबाट प्रस्ट देखिँदैन ।

अन्य चस्माहरू

पढ्दा लगाउने चस्मा

पढ्दा लगाउने चस्मा वा रिडिङ लेन्स विशेषगरी चस्मा पसलबाट खरिद गर्न सकिन्छ । यस्ता चस्मा विशेषज्ञको परामर्शमा समेत प्रयोग गर्न सकिन्छ ।

यसलाई विशेषगरी पुस्तक, पत्रपत्रिका पढ्दा वा कम्प्युटर र फोनको स्क्रिनसँग सम्पर्कमा आइरहँदा नजिकका कुराहरू देख्ने क्षमता सुधारका लागि प्रयोग गर्न सकिन्छ ।

डक्टरले सुझाव नगरेका चस्मा पसलहरूमा रिडिङ ग्लास उही भिजनमा उपलब्ध हुने गर्छन् । यस्तो चस्मा प्रष्ट देख्ने मानिसहरूले समेत प्रयोग गर्न सक्छन् ।

यसको क्षमता +१.० देखि +४.० हुने भएकाले यो रेन्जको पावर आवश्यक हुनेले रिडिङ ग्लास प्रयोग गर्न सक्छन् ।

यदि तपाईंलाई यस्ता चस्मा प्रयोग गर्दा टाउको दुख्ने, एउटै वस्तु डबल देख्ने जस्ता समस्या आएको खण्डमा तपाईं आँखा विशेषज्ञकहाँ गएर जाँच गराउन सक्नुहुन्छ ।

डिजिटल प्रोटेक्सन (ब्लु लाइट ब्लकिङ)

ब्लु लाइट ग्लासलाई डिजिटल प्रोटेक्सन ग्लास अथवा कम्प्युटर ग्लास समेत भनिन्छ । मानिसहरूको काम र दैनिकी कम्प्युटरमा बढी हुने भएकाले अहिले ब्लु लाइट ग्लास निकै नै चल्तीमा छन् ।

कम्प्युटर, फोन, वा ट्याब्लेटमा काम गरिरहँदा त्यसबाट आउने प्रकाशका किरणले आँखामा समस्या निम्तिन सक्छ । स्क्रिन टाइम अत्याधिक हुँदा मानसिक समस्यासमेत निम्तिन सक्ने भएकाले बेलैमा यस्तो चस्मा प्रयोग गर्नु उचित हुन्छ ।

सेफ्टी लेन्स

विज्ञान प्रयोगशाला, निर्माण क्षेत्र, विद्युतीय काम, प्लम्बिङ, अटो रिपेरिङ जस्ता क्षेत्रमा सेफ्टी लेन्स निकै प्रयोग गरिन्छ । यस्ता चस्मा आधारभूत सुरक्षाका लागि काम लाग्ने भएकाले सस्तो मूल्यमा पाउन सकिन्छ ।

यदि तपाईं विभिन्न पेसाहरू जहाँ सेफ्टी लेन्स आवश्यक पर्छ, यहाँ काम गर्नुहुन्छ र तपाईंलाई दृष्टि सुधार (भिजन करेक्सन) का लेन्स आवश्यक परेकाे छ भने विशेषज्ञको परामर्शमा तयार भएको लेन्स सेफ्टी ग्लासमा फिट गर्न सक्नुहुन्छ ।

सनग्लास

सनग्लास पनि विशेषज्ञको परामर्श वा बिना परामर्श खरिद गरेर प्रयोग गर्न सकिन्छ । त्यसमा पोलराइज लेन्स वा अल्ट्रा भाइलेट प्रोटेक्सन हुने भएकाले त्यस्ता विकिरणबाट बच्नका लागि सनग्लास प्रयोग गर्न सकिन्छ ।

विशेषज्ञको परामर्श बिनाका चस्मा

यस्ता चस्माहरू फेसनका रुपमा निकै परिचित छन् । तर यसकाे प्रयाेगबाट विविध किसिमका जोखिमबाट आँखा बचाउन सकिन्छ ।

लेन्सका प्रकार

चस्मा लगाउने चाहना भयो वा चस्मा लगाउनुपर्ने अवस्था आयो भने विभिन्न प्रकारका लेन्सहरू प्रयोग गर्न सकिन्छ । लेन्सका विभिन्न प्रकारहरू यहाँ उल्लेख गरिएको छ ।

ग्लास लेन्स

उत्कृष्ट दृष्टिका हिसाबले ग्लास लेन्स उपयुक्त हुन्छ । तर यस्ताे लेन्समा बढी नै जोखिम लिनुपर्ने हुन्छ । ग्लासका लेन्सको तौल बढी हुनुका साथै फुट्ने डर बढी हुन्छ ।

यसको तौल अन्यको तुलनामा बढी हुने भएकाले त्यति प्रचलनमा छैन । ग्लासको लेन्स अहिले उपलब्ध हुने भएपनि अहिले प्लास्टिकका लेन्सहरू बढी प्रयोगमा छन् ।

प्लास्टिक लेन्स

प्लास्टिकको लेन्सले ग्लासको लेन्स जस्तै परिणाम दिने भएकाले मानिसहरू प्लास्टिकका लेन्स प्रयोग गर्न रुचाउँछन् । त्यसबाहेक पनि प्लास्टिक लेन्स सस्तो, हलुका र ग्लास लेन्सभन्दा सुरक्षित हुन्छ ।

हाई-इन्डेक्स प्लास्टिक लेन्स

हाई-इन्डेक्स प्लास्टिक लेन्स प्लास्टिक लेन्सभन्दा पातलाे र हलुका हुनेगर्छ ।

पोलिकार्बोनेट र ट्राइभेक्स लेन्स

पोलिकार्बोनेट लेन्सलाई सुरक्षित लेन्स मानिन्छ । यो लेन्स विशेषगरी कुनै पनि खेल खेल्दा र बालबालिकाका लागि बढी प्रयोग गरिन्छ । यो लेन्स क्र्याक हुने सम्भावना कम हुन्छ ।

ट्राइभेक्स लेन्स कम तौलको हुनुका साथसाथै धेरै टिकाउ हुने गर्छन् । यो लेन्सलाई वातावरणीय जोखिम कम भएको अवस्थामा प्रयोग गर्न सकिन्छ ।

ट्रान्जिसन लेन्स

ट्रान्जिसन लेन्स अल्ट्रा भाइलेट विकिरणको सम्पर्कमा आउँदा अँध्यारो देखाउँछ । यसले गर्दा सनग्लासको आवश्यकता कम गरिदिन्छ । ट्रन्जिसन लेन्स विशेषज्ञले सुझाव दिएका हरेक प्रकारमा उपलब्ध हुन्छन् ।

अल्ट्राभाइलेट ब्लकिङ लेन्स ट्रिटमेन्ट

तपाईंले आँखालाई विभिन्न विकिरणबाट बचाउन के प्रयोग गर्ने सोच्नुभएको छ भने अल्ट्राभाइलेट ब्लकिङ प्रयोग गर्न सक्नुहुन्छ । यसले आँखामा आउने विकिरणलाई कम गरिदिन्छ ।

चस्माको फ्रेमका प्रकार 

चस्माको लेन्स जत्तिको महत्त्वपूर्ण हुन्छ, त्यसको फ्रेम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तपाईंले त्यस्तो फ्रेम छान्नुपर्छ, जो तपाईंको व्यक्तित्वसँग सुहाउँछ र लामो समयसम्म टिकाउ हुन्छ ।

फ्रेम सामग्रीहरू

चस्माको फ्रेम बनाउन विशेषगरी दुई प्रकारका सामग्री प्रयोग गरिन्छ ।

प्लास्टिक फ्रेम

निर्माताले चस्माको फ्रेम बनाउँदा विभिन्न किसिमका प्लास्टिक प्रयोग गरेका हुन्छन्, जसमा जाइलोनाइट (Zylonite), नाइलन ब्लेन्ड र कास्टर सिड आयल समावेश गरिन्छ ।

फाइदा

  • विभिन्न कलरमा उपलब्ध हुन्छ
  • एलर्जी कम हुने
  • कम शुल्क

बेफाइदा

  • कम टिकाउ
  • कलर हराउने

मेटल फ्रेम

चस्माको फ्रेम बनाउन फ्लास्टिक बाहेक धातुजन्य पदार्थ पनि प्रयोग हुनेगर्छ । फ्रेम बनाउन प्रयोग हुने धातु यस प्रकारका छन्:

  • मानेल
  • टाइटानियम
  • बेरिलियम
  • स्टिनलेस स्टिल
  • फेलेक्जन
  • अल्मुनियम

धातुबाट निर्माण भएका फ्रेमको मूल्य प्लास्टिकको तुलनामा बढी पर्न जान्छ । धातुहरूमा पनि कुन प्रयोग भएको छ भन्ने कुराले मूल्य निर्धारण गर्ने गर्छ ।

फाइदा

  • टिकाउ हुन्छ
  • हलुका हुन्छ
  • जंग प्रतिरोधी (रसायन र वातावरणीय असरबाट बच्ने)

बेफाइदा

  • महँगो हुन्छ
  • कसैको छालामा असर गर्नसक्छ
  • छान्नलाई कमै रङ्गका चस्मा उपलब्ध हुन्छन्

चस्माले प्रविधिमा पनि निकै फड्को मारिसकेको छ । आज चस्मा आकर्षक देखिन, दृष्टि सुधार गर्न वा कुनै जोखिमबाट बच्नलाई मात्र नभई विभिन्न कामलाई नियन्त्रण गर्नसमेत प्रयोग हुने भएको छ । प्रविधिका केही कम्पनीहरूले स्मार्ट ग्लास बजारमा ल्याइसकेका छन्, जसबाट असंख्य काम गर्न सकिन्छ ।

मेटाका संस्थापक मार्क जुकरबर्गले २०२४ मा अग्मेन्टेड रियालिटी (एआर) मा आधारित चस्मा ल्याउने घोषणा गरेका छन् । उनले ल्याउन लागेको रे-बनको स्मार्ट चस्माले मेसेन्जरका विभिन्न फिचरहरू सपोर्ट गर्ने बताइएको छ ।

प्रायः स्मार्ट ग्लासलाई त्यसमा समावेश विभिन्न फिचरहरू प्रयोग गर्न ब्लुटुथ कनेक्टीभिटी आवश्यक पर्छ । बजारमा उपलब्ध केही स्मार्ट ग्लासको फ्रेम सामान्य चस्माभन्दा फकाकिलाे हुन्छ ।

यस्ताे फ्रेममा सेन्सर, क्यामेरा, माइक्रोफन समावेश गरिएको हुन्छ । सोही माइक्रोफोनको माध्यमबाट भ्वाइस असिस्टेन्टलाई आफ्नो आवाजको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

साथै तपाईंले फोनमा आएका कल रिसिभ गरेर बोल्नसमेत सक्नुहुन्छ ।

फेसबुकको रे-बन चस्मामा ५ मेगापिक्सेलकाे क्यामेरा समेत रहेको छ, जसका माध्यमबाट सामान्य फोटो खिच्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३