काठमाडौं । आज ख्याति कमाएका विभिन्न वेबसाइट, सर्च इन्जिन तथा प्रविधि कम्पनीहरू सुरुवातमा कस्ता थिए भन्ने कुराको जिज्ञासा तपाईं हामी सबैलाई भइरहन्छ ।
कुनै पनि कम्पनी बढ्दै गर्दा उनीहरूले के कस्ता कुरा समाना गरे भन्ने कुराले हामीलाई कुनै न कुनै प्रेरणा दिइरहेको नै हुन्छ ।
आज हामी त्यस्ता तथ्यका बारेमा चर्चा गर्दै छौं, जसले विभिन्न कम्पनीका केही भित्री कुरा खुलस्त पारोस् । वा अहिले कस्तो परिस्थिति सामना गरिरहेका छन् भन्ने विषयमा तथ्यमार्फत चर्चा गर्दै छौं ।
एप्पलको लोगोको इतिहास
एप्पल विश्वको सबैभन्दा बढी मूल्यवान कम्पनीहरूको सूचीमा दोस्रो स्थानमा पर्छ । के तपाईंलाई थाहा छ, एप्पलको पहिलो लोगोले स्याउलाई कहिँबाट अंकित गर्दैनथ्यो ।
भन्नुको अर्थ स्याउको फललाई लिएर एप्पल कम्पनीको परिकल्पना गरिएको थिएन । एप्पल कम्पनीको पहिलो लोगोले स्याउलाई व्याख्या गर्दैन । एप्पलको पहिलो लोगो रोनाल्ड वायेनले निर्माण गरेका थिए, जो सुरुवातमा एप्पलका सह-संस्थापक पनि थिए ।
उनले न्युटनको गुरुत्वाकर्षणको नियमलाई अंकित गर्नका लागि त्यही अनुसारको लोगो तयार पारेका थिए ।
त्यस लोगोमा सर आइज्याक न्युटन स्याउको रूखको फेदमा पढिरहँदा माथिबाट स्याउ खस्न लागेको देखाइएको थियो । त्यसपछि अहिलेको परिमार्जित एप्पलको लोगोको विकास भएको थियो ।
नासाको इन्टरनेट स्पिड
के तपाईंलाई थाहा छ, नासाको इन्टरनेट ९१ जीबी प्रति सेकेन्ड रहेको छ । एउटा त्यस्तो संस्था, जसलाई अल्ट्रा एचडीमा भिडिओ स्ट्रिमिङ गर्दा केही चिन्ता हुँदैन भने त्यो नासा नै हो ।
एउटा अन्तरिक्ष संस्थाको श्याडो नेटवर्कले प्रति सेकेन्ड ९१ जीबी डेटा ट्रान्सफर गर्नसक्छ । औसत रूपमा मानिसहरूको घरमा २५ एमबीपीएस इन्टरनेट स्पिड हुने गर्छ, जुन नासाको तुलनामा निकै नै कम हो ।
गुगल नामको संयोग
के तपाईंलाई थाहा छ गुगलको नाम अप्रत्याशित रूपमा आएको थियो । गुगलका संस्थापक ल्यारी पेज र सर्गी ब्रिन वर्ड प्लेका ठूलो फ्यान थिए ।
उनीहरूले सर्च इन्जिन बनाउने निधो गरिसकेपछि त्यसको नाम गुगोल (Googol) राख्ने योजना बनाएका थिए । जसको अर्थ हुन्छ, एकलाई सयवटा जिरोले पछ्याउनु । उनीहरूले सो नाम खोज्दा झुक्किए गुगल (Google) सर्च गरे ।
त्यो नाम फेला पारिसकेपछि आफूले सोचेको नामभन्दा अझ उत्कृष्ट र सरल लागेकाले उनीहरूले त्यसैलाई आधिकारिक बनाउने योजना बनाए ।
ट्वीटरमा हुने ट्वीटहरू
ट्वीटर एक माइक्रोब्लगगिङ सिस्टम हो, जसलाई हामी सामाजिक सञ्जालका रूपमा पनि प्रयोग गरिरहेका हुन्छौं । यसमा प्रयोगकर्ताले एउटा सिङ्गल पोस्ट (ट्वीट) मा २८० क्यारेक्टरको ट्वीट राख्न सक्छन् ।
त्यसभन्दा बढी राख्नपर्याे भने त्यसैमा अर्को ट्वीट जोड्नुपर्ने हुन्छ । त्यस्तै ट्वीटरबाट फोटो राख्न, छोटा भिडिओ राख्न, गिफ आदि ट्वीट गर्न सकिन्छ ।
कोही व्यक्तीसँग कुराकानी गर्नुपर्यो भने पनि ट्वीटरका माध्यमबाट कुरा गर्न सकिन्छ ।
ट्वीटरमा एक सेकेन्डमा करिब छ हजार ट्वीट पठाउने गरिन्छ, जुन एक मिनेटमा तीन लाख ५० हजार जति हुन जान्छ । त्यस्तै ट्वीटरमा दैनिक करिब ५० करोड ट्वीटहरू पोस्ट हुने गर्छन् । यसैलाई हिसाब गर्ने हो भने वार्षिक २०० अर्ब ट्वीट पोस्ट हुने गर्छ ।
एप्पलभन्दा सामसङ ३८ वर्ष जेठो
सामसङ विश्वको सबैभन्दा ठूलो विद्युतीय उपकरण निर्माण कम्पनी हो । के तपाईंलाई थाहा छ, सामसङ एप्पलभन्दा ३८ वर्ष १ महिनाले जेठो हो ।
सामसङ एक किराना पसलका रूपमा ली बायुङ्ग चहुलले (Lee Byung Chull) मार्च १, १९३८ मा स्थापना गरेका थिए ।
त्यस्तै एप्पलका संस्थापक स्टिभ जब्स र स्टिभ वाजनियाकले अप्रिल १, १९७६ मा स्थापना गरेका थिए ।
गुगलमा सर्वाधिक खोजिएका शब्दहरू
गुगलमा विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन हो । यसमा दैनिक लाखौं शब्दहरू खोजिने गर्छन् ।
ओबेर्लोका अनुसार २०२१ मा गुगलमा खोजिएका सर्वाधिक १० कीबाेर्डहरू क्रमशः यसप्रकार छन्; गुगल, फेसबुक, युट्युब, यु, वेदर, ट्रान्सलेट, ह्वाट्सएप, न्युज, ह्वाट्सएप वेब र अमेजन ।
यूएसबीसँग सम्बन्धित तथ्य
यूएसबी केबल प्रायः धेरै कामका लागि प्रयोग गर्ने गरिन्छ । डेटा ट्रान्सफर गर्दा होस् वा चार्जको एडाप्टरमा केबल प्रयोग गर्दा होस् यूएसबी केबल धेरै प्रयोग गरिन्छ ।
यूएसबी केबल एउटा छेउबाट मात्र यूएसबी पोर्टमा जोड्न मिल्छ । तपाईंले पनि यूएसबी केबल पोर्टमा जोड्दा धेरै पटकसम्म नमिलेको अनुभव गर्नुभएको होला ।
यसरी पहिलो पटकमा नै यूएसबी पोर्टमा जोड्न असफल हुनेहरूको सूचीमा तपाईं एक्लै हुनुहुन्छ । यूएसबी पोर्टलाई सही तरिकाले जोड्नसक्ने सम्भाव्यता ५० प्रतिशत हुने गर्छ ।
यूएसबी टाइप-सी पोर्टलाई भने दुवै छेउबाट जोड्न सकिन्छ ।
एक प्रतिवेदनका अनुसार यूएसबी पोर्टलाई ८६ प्रतिशत मानिसहरूले पहिलोपटक गलत तरिकाले यूएसबी केबल पोर्टमा जोड्ने प्रयास गर्छन् ।
युट्युबको सुरुवात
आज भिडिओ स्ट्रिमिङको सबैभन्दा चर्चित प्लेटफर्म युट्युब कुन उद्देश्यका लागि निर्माण गरिएको थियो भन्ने थाहा छ ? वास्तवमा युट्युब डेटिङ साइटका रूपमा निर्माण गरिएको थियो ।
त्यसलाई यसरी डिजाइन गरिएको थियो, जसमा प्रेमी-प्रेमिकाले उनीहरूको डेटमा आफ्ना पार्टनरहरूसँग गरेका प्रेमालापका भिडिओ अपलोड गर्न सकून् ।
त्यसमा मानिसहरूले त्यस्ता किसिमका भिडिओ अपलोड नगरेपछि सम्पूर्ण किसिमका भिडियो अपलोड गर्न मिल्नेगरी तयार गरियो ।
त्यस्तै युट्युबमा सबैभन्दा पहिले अपलोड गरिएको भिडिओ थियो, युट्युबका सह-संस्थापक जाभेद करिमले अपलोड गरेको १९ सकेन्डको ‘मि एट द जु’ शीर्षकको भिडिओ ।
कम्प्युटर भाइरस
अहिले ६ हजारभन्दा बढी नयाँ कम्प्युटर भाइरस अस्तित्वमा छन् । सन् १९९० मा विश्वभर ५० ज्ञात भाइरसकाे पहिचान गरिएकाे थियाे ।
नेटसेच न्युजका अनुसार आजकाे दिनमा ९० प्रतिशत मालवेयर ईमेलमार्फत पठाउने गरिन्छ, जुन धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले तपाईंले कुनै पनि ईमेलहरू खोल्नुअघि सुरक्षा विधिबारे ध्यान दिनुपर्ने हुन्छ ।