close

दान र सहयोग सङ्कलन गर्ने नेपाली प्लेटफर्म ‘बाई मी अ मःमः’

टेकपाना टेकपाना

साउन ३, २०७९ १३:४७

दान र सहयोग सङ्कलन गर्ने नेपाली प्लेटफर्म ‘बाई मी अ मःमः’

काठमाडौं । नेपाली सफ्टवेयर तथा वेब डेभलपमेन्ट कम्पनी सुर्सा टेक्नोलोजीले विभिन्न प्रयोजनका लागि सहयोग रकम संकलन गर्न सकिने वेबसाइट निर्माण गरेकाे छ ।

‘बाईमीअमम’ (buy me a momo) नाम दिइएकाे याे प्लेटफर्मका माध्यमबाट समाजिक अभियन्ता, कन्टेन्ट क्रियटर तथा डोनेसन आवश्यक परेका व्यक्तिले रकम संकलन गर्नसक्छन् ।

साेमबार काठमाडाैंस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै सुर्साले वेबसाइट सार्वजनिक गरेको हो ।

‘बाई मी अ मःमः’ प्लेटफर्मले धेरै समाजसेवीलाई सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलिप थापाको विश्वास छ ।

‘अन्य देशमा अन्तर्राष्ट्रिय भुक्तानीका माध्यम उपलब्ध हुने भएकाले त्यहाँ रकम संकलन गर्ने विभिन्न साइट छन्,’ उनले भने, ‘नेपालमा समाजसेवीले बैंक खाता प्रयोग गरेर सहयोग संकलन गरिरहेका हुन्छन्, जसको पारदर्शितामा सधैँ प्रश्न उठ्ने गर्छ । त्यसैको विकल्पमा हामीले ‘बाई मी अ म:म’ साइट सञ्चालनमा ल्याएका हौं ।’

नेपालकाे चर्चित परिकार मःमः भएकाले नाम पनि त्यही अनुसार राखिएको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय स्तरमा ‘बाई मी अ कफी’ नामक फण्ड रेइजिङ साइट चर्चित छ,’ उनले भने, ‘त्यस्तै प्रकृतिको नेपाली साइटका रूपमा ‘बाई मी अ मःमः’ सुरू गरेका हाैं ।’

याे प्लेटफर्ममा विशेषतः जोकोहीले पनि रकम संकलन गर्नसक्ने उनले जानकारी दिए ।

‘प्रायः सामाजिक अभियन्ताले विभिन्न व्यक्ति, संस्था वा समुदायको सहयोगका लागि रकम संकलन गरिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘त्यसलाई अझ पारदर्शी र सहज बनाउने हाम्रो अठोट रहेको छ ।’

उनले अगाडि भने, ‘यस प्लेटफर्ममा कसले कति रकम संकलन गरेको छ भन्ने कुरा पनि हेर्न सकिन्छ । त्यस्तै कुनै प्रयोजनका लागि निश्चित डोनेसन रकम अपिल गर्न सकिन्छ ।’

उदाहरणका लागि कसैलाई एक लाख सहयोग आवश्यक परेको छ भने उसले त्यहाँ एक लाख लिमिट राख्नसक्छ, जसका माध्यमबाट कति उठ्यो र कति उठ्न बाँकी छ भनेर हेर्न सकिन्छ । पठाउन चाहने व्यक्तिले न्यूनतम ५० रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँ सहयोग गर्न सक्छन् ।

यसबाट समाजसेवी मात्र नभई जोकोहीले पनि आवश्यक रकम संकलन गर्नसक्ने थापाकाे भनाइ छ ।

‘यदि कुनै विद्यार्थी पढाइमा राम्रो छ, र उसलाई थप अध्ययनका लागि रकम आवश्यक परेमा ‘बाई मी अ मःम:’ मार्फत सहयोग संकलन गर्नेसक्छन्,’ उनले भने ।

त्यस्तै विभिन्न कन्टेन्ट क्रियटरले समेत टिकटक, युट्युब वा फेसबुकमा आफ्ना फलोअरसँग सहयोग आह्वान गर्न सक्छन् । यसलाई कन्टेन्ट क्रियटरले स्ट्रिम ल्याब्सको विकल्पमा समेत प्रयोग गर्नसक्ने थापाको भनाइ छ ।

‘बाई मी अ मःमः’ प्लेटफर्मबाट रकम संकलन गर्न सो व्यक्तिले साइटमा गई लगइन गर्नुपर्ने हुन्छ ।

उनीहरूले आफूले कुन प्रयोजनका लागि रकम संकलन गरेको भन्ने डिस्क्रिप्सनमा उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि डोनेसनका लागि एउटा लिङ्क प्राप्त हुन्छ । सोही लिङ्क आफू सक्रिय भएको सामाजिक सञ्जाल वा कुनै अन्य माध्यममा ‍राख्नपर्ने हुन्छ ।

यसबीचमा ‘बाई मी अ मःमः’ टिमले सो व्यक्ति वा संस्था अप्रुभ गर्छ । अप्रुभ भएको व्यक्तिले भेरिफाइड ब्याज पाउँछ । प्रयोगकर्ताले त्यही ब्याजलाई आधार बनाएर रकम सहयोग गर्नसक्छन् । रकम संकलन गर्न चाहेको व्यक्तिले सहयोग आह्वान गरेको व्यक्तिले पठाएको लिंक सर्च गर्नुपर्ने हुन्छ ।

त्यसपछि स्थानीय वालेट (ई-सेवा वा खल्ती) मा लगइन गरी चाहेको रकम सहयोग गर्नसक्छन् । यसरी आएको रकम संकलकको ‘बाई मी मःमः’ अकाउन्टमा जम्मा हुन्छ । सो व्यक्तिले त्यहाँ भएको रकम आफ्नो बैंकमा जम्मा गर्नसक्छ ।

यो गरेबापत पेमेन्ट गेटवेले साढे एकदेखि दुई प्रतिशत कमिसन लिन्छ भने ‘बाई मी अ मःमः’ले पाँच प्रतिशत लिन्छ ।

यदि कुनै रकम संकलन सामाजिक कार्यका लागि भएको खण्डमा कम्पनीले कुनै सेवा शुल्क नलिने थापा बताउँछन् ।

‘अहिले टिकटकमा गिफ्टको सिस्टम बढी देखिन्छ,’ उनी भन्छन्, ‘त्यसमा आफ्नै मानिसहरूले सहयोग गर्दा पनि हाम्रो अर्बौं रुपैयाँ बाहिर गइरहेको छ । त्यसको विकल्पमा नेपालीले नेपालीलाई सहयोग गर्न यो प्लेटफर्म उपयुक्त हुने हाम्राे विश्वास छ ।’

हाल यो टिम युट्युबरका लागि स्ट्रिमल्याब्स (प्लेटफर्ममा लाइभ गएको कन्टेन्ट क्रिटरलाई रकम र आफूले चाहेको सन्देश पठाउन सकिने प्लेटफर्म) जस्तो सेवा उपलब्ध गराउन प्रयासरत छ ।

त्यस्तै अन्य देशमा रहेका नेपालीलाई सहयोग गर्न सजिलो माध्यमका रुपमा ‘बाई मी अ मःमः’लाई अगाडि बढाउने याेजना कम्पनीकाे छ । त्यसको कानूनी प्रक्रियामा काम गरिरहेकाले यो सेवा दुई-तीन हप्तामा सार्वजनिक हुने उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३