काठमाडौं । स्याङ्जाका १७ वर्षीय नवीन तिवारीले प्रोग्रामरका लागि उपयोगी अपरेटिङ सिस्टम तयार पारेका छन् । उनले तयार पारेकाे अपरेटिङ सिस्टमकाे नाम हाे, मेटिस लिनक्स ।
कक्षा ७ मा पढ्दा नै प्रोग्रामिङतिर आकर्षित तिवारीले १२ कक्षा पढ्दै गर्दा ओपन सोर्समा आधारित अपरेटिङ सिस्टम तयार पारेको बताएका छन् ।
“हामीलाई विद्यालय पढ्दा कम्प्युटरसम्बन्धी सामान्य कुरा मात्र सिकाइन्थ्यो । मेरो रुचि कम्प्युटरतर्फ बढी भएकाले बाहिर आफैँ रिसर्च गरेर अध्ययन गर्थेँ । ८ कक्षा पढ्दा आफ्नै ल्याप्टप भएपछि मलाई स्वअध्ययन गर्न सहज भयो,” उनले टेकपानासँग सुनाए ।
यसपछि कम्म्प्युटरसम्बन्धी विभिन्न कुरा खोज्दै जाँदा उनले प्रोग्रामर ल्युक स्मिथबारे जानकारी पाए । स्मिथका विभिन्न परियोजनालाई पछ्याउँदै उनी त्यससँग सम्बन्धित कुरा सिक्दै गए ।
त्यसपछि तिवारीले अष्ट्रेलियाका प्रोग्रामर डिलानार्याप्सका बारेमा थाहा पाए । डिलानार्याप्सको किस लिनक्स प्रोजेक्टबाट प्रभावित भएका तिवारीले त्यसैको आधारमा मेटिस लिनक्स तयार पारे ।
“मैले स्वअध्ययन गर्दै जाँदा थुप्रै प्रोग्रामर चिनेको थिएँ,” उनी भन्छन्, “त्यसमध्ये मलाई सबैभन्दा बढी मन परेको डिलानार्याप्सको ‘किस लिनक्स’ भन्ने प्रोजेक्ट थियो । त्यसैलाई फलो गरेर मैले मेटिस लिनक्स तयार पारेको हुँ ।”
यो अपरेटिङ सिस्टम प्रोग्रामरका लागि उपयोगी हुने उनको भनाइ छ ।
“माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्तालाई त म प्रयोग नगर्न नै सुझाव दिन्छु,’’ उनले भने । विशेषगरी कमाण्ड लाइनतिर मानिसहरूलाई आकर्षित बनाउन सो अपरेटिङ सिस्टम निर्माण गरेको तिवारी बताउँछन् ।
यसलाई २५० एमबी र्याम र ३ जीबी स्टोरेज आवश्यक पर्ने भएकाले पुरानो डिभाइसमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।
एट्रिक्स लिनक्समा आधारित यो अपरेटिङ सिस्टम लिनक्सको कोर कुरा बुझेका व्यक्तिले प्रयोग गर्नसक्ने उनको बुझाइ छ ।
“लिनक्सको कोर कुरा बुझेका र यसको युटिलिटीसँग फेमिलियर मानिसहरूले आफ्नो दैनिकी फलदायी बनाउन यो अपरेटिङ सिस्टम प्रयोग गर्न सक्छन्,” उनी भन्छन्, “पुरानो हार्डवेयर भएका र अनावश्यक प्याकेजले दिक्क भएका प्रयोगकर्ताले मेटिस लिनक्स प्रयोग गर्न सक्छन् ।”
इनिट सिस्टम रनिट प्रयोग भएको यस अपरेटिङ सिस्टममा सकलेस टुलका रूपमा डीडब्लूइम (DWM), एसटी (ST) र एसएलस्टाटस (SLStatus) प्रयोग भएको छ ।
यो अपरेटिङ सिस्टमका लागि तिवारीले साथी योगेश लामिछाने र सफल पियाबाट भरपुर साथ पाएकाे बताउँछन् । प्रोग्रामिङ ल्याङ्ग्वेज सी र सी++ द्वारा लेखिएको यो अपरेटिङ सिस्टममा धेरै ट्याब एकैपटक खोल्न सकिन्छ ।
यसमा विशेषगरी एउटा ट्याबमा प्रोग्रामिङ गरेर गरेर अर्को ट्याबमा परीक्षण गर्न सकिन्छ । यो अपरेटिङ सिस्टम ओपन सोर्स भएकाले निःशुल्क प्रयोग गर्न सकिन्छ ।
हाल कक्षा १२ को जाँच दिएर बसेका तिवारी कम्प्युटर इन्जिनियर बन्न चाहन्छन् । सानैबाट छुट्टै अपरेटिङ सिस्टम बनाउने चाहना पालेका उनले अब भने उनी बग बाउन्टीमा काम गर्ने योजना बनाइरहेका छन् ।
बिना कुनै कम्प्युटर पृष्ठभूमि सानै उमेरमा अपरेटिङ सिस्टम विकास गरेका तिवारी प्रोग्रामिङका लागि स्वअध्ययन बढी उपयुक्त हुने बताउँछन् ।
‘प्रोग्रामिङ पढेर भन्दा आफैँले बुझेर काम गर्दा सफल भइन्छ भन्ने मेराे विचार छ,’ उनी भन्छन् । आफ्नो अपरेटिङ सिस्टमका प्रयोगकर्ता प्रायः विदेशी रहेको जानकारी दिँदै उनले अधिकांश प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।