close

अध्ययन भन्छः व्यक्तिको स्वस्थतामा अनलाइन गेम खेल्न बिताउने समयको कुनै सम्बन्ध छैन

टेकपाना टेकपाना

साउन ११, २०७९ २२:४५

अध्ययन भन्छः व्यक्तिको स्वस्थतामा अनलाइन गेम खेल्न बिताउने समयको कुनै सम्बन्ध छैन

३९ हजार भिडिओ गेमरहरूमाथि गरिएको एक अध्ययनमा खेलमा व्यतीत गर्ने समयले उनीहरूको स्वस्थतामा पार्ने असर ‘थोरैदेखि प्रमाण विहीन’ देखिएको छ । जसअनुसार उनीहरूमा कुनै किसिमको भिन्नता देखा पर्नका लागि सामान्यतः प्रति दिन १० घण्टा भन्दा बढी समय अनलाइन गेम खेल्नुपर्ने हुन्छ ।

जीवनप्रतिको सन्तुष्टि र खुशी, दुःख, रिस र निराशाको विषयमा सोधेर स्वस्थताको मापन गरिएको थियो । पछिल्लो परिणाम सन् २०२० को अध्ययनसँग बाझिने किसिमको छ । जब कि दुवै अध्ययन अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटको उही विभागले गरेको हो ।

अधिकतर खेलाडीहरूको उस्तै ग्रुपहरूमाथि अध्ययन गरिएको भए पनि सन् २०२० को अध्ययनले जसले जति धेरै लामो समय खेल्छ, ऊ नै थप खुशी हुने गरेको नतिजा सुझाएको थियो ।

“सामान्य अर्थमा भन्न सकिन्छ, यदि तपाईँसँग भिडिओ गेम खेल्न खाली समय बढी छ भने, सम्भवतः तपाईँ खुशी हुनेहरूमा पर्नुहुन्छ,” दुवै अध्ययनमा काम गरेका प्राध्यापक एन्ड्र्यु प्रजिबेल्स्की भन्छन् ।

“तर गेम हाम्रा लागि राम्रो वा नराम्रो भन्नेमा हामी के सोच्छौँ भन्ने विषयमा मतभेद भए पनि, हामीले निर्णायक अर्थमा स्पष्ट दृष्टान्त के पाएका छौँ भने (पछिल्लो अध्ययनमा) तपाईँ कति समय खेल्नुहुन्छ भन्ने कुराले तपाईँको स्वस्थतामा कुनै असर गर्दैन ।”

“यदि खेलाडीहरूले बाध्य भएर भन्दा पनि चाहेरै खेलिरहेका छन् भने, उनीहरूमा त्यसबाट राम्रो महसुस गर्ने भएकैले त्यस्तो झुकाव थियो भन्ने हुनुपर्छ ।”  अहिलेको समयमा सोनी, माइक्रोसफ्ट, नेन्टान्डियो लगायतका प्रविधि कम्पनीले खेलाडीहरूको सहमति लिएरै छ हप्ताको डेटा उपलब्ध गराएका छन् ।

जसमा एनिमल क्रसिङः न्यु होराइजन्स, एपेक्स लेजेन्ड्स, इभ अनलाइन, फ्रोजा होराइजन ४, ग्रान टुरिज्मो स्पोर्ट, द क्रु २ रहेका छन् । त्यस समयमा एक जना खेलाडी मात्र ‘रोयल सोसाइटी ओपन साइन्स जर्नल’मा प्रकाशित अध्ययनबाट बाहिरिएका थिए ।

मानसिक स्वास्थ्यः 

चीनमा बालबालिकाहरूलाई केवल शुक्रबार, शनिबार र आइतबार दैनिक एक घण्टा मात्र खेल्ने अनुमति छ । तर विश्वभरका धेरै गेमरहरूले अनलाइन गेम खेलाईले उनीहरूको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने गरेको बताउँछन् ।

‘लेमिङ्ग्स एन्ड ग्रान्ड थेफ्ट अटो’का सर्जक माइक डेल्ली अनलाइन गेमका फाइदाहरू विविध किसिमका हुने बताउँछन् ।  “केवल ‘स्वस्थता’ (वेल-बिङ)को स्थिति जस्तो कुराले मात्रै यसको मापन गर्न सकिन्छ भन्नेमा म निश्चिन्त छैन,” उनी भन्छन् ।

“जीवनमा हरेक कुरा भए जस्तै, यो सन्तुलनको विषय हो । २४ घण्टा खेलेरै बिताउने कुरा राम्रो हुन सक्दैन । त्यसैगरी २४ सै घण्टा खाने र काम गर्ने कुरा पनि राम्रो होइन ।” 

बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३