close

जसले नेपालमै बनाएको ड्रोनले तान्दैछ हाइटेन्सन लाइन

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ ७, २०७९ २०:५

जसले नेपालमै बनाएको ड्रोनले तान्दैछ हाइटेन्सन लाइन

काठमाडौं । प्रविधिको विकाससँगै दिनानु दिन नयाँनयाँ उपकरणको प्रयोग बढ्दै गइरहेको छ । नेपालमा पछिल्लो समय व्यापकता पाउँदै गएको त्यस्तै एउटा प्रविधि हो, ड्रोन । म्युजिक भिडिओ, चलचित्र, भ्लगिङ, डकुमेन्ट्री, समाचार सामग्रीमा समेत ‘ड्रोन शट’ प्रचलित नै भइसक्यो । 

त्यसबाहेक ड्रोन उपयोगिता अन्य महत्त्वपूर्ण र अत्यावश्यकीय क्षेत्र समेत रहेका छन् । नेपालमै ड्रोनको विकास कार्यमा क्रियाशील एक इन्जिनियर हुन्, रामकृष्ण यादव । २६ वर्षीय यादवको घर सिराहा हो । सरकारी जागिरे उनका बुबाको सरुवा झापा भएपछि उनको सपरिवार उतै बसाइ सर्‍यो ।

झापाको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका यादव माध्यमिक तह अध्ययन गर्न काठमाडौं आए । क्यारेबियन कलेजमा भर्ना भएर विज्ञान विषय पढ्न थाले । उनमा हवाईजहाजको क्षेत्रमा निकै रुचि बढ्न थाल्यो ।

“सानोमा त ड्रोन वा रोबोटका बारेमा केही थाहा थिएन,” उनी भन्छन्, “मलाई उड्ने चिजबिजहरूमा निकै रहर थियो । यता प्लस टु पढ्न थालेपछि प्लेन कसरी उड्छ होला भन्ने सोचिरहन्थेँ र त्यसैको बारेमा खोज्ने गर्थेँ ।” हवाईजहाजबारे विभिन्न विषय खोज्दै जाँदा उनी कैयौँ पटक निराश हुन्थे । 

रामकृष्णले प्लस टु पढ्दा देखि नै ड्रोन (मानव रहित विमान) बनाउन खोजेका थिए । तर, आवश्यक सामग्रीको अभाव भएपछि सो कार्य अगाडि बढाउन नसकेको बताएका छन् । पछि इन्टरनेटमा पहुँच पाएपछि उनी थप खोज गर्न थाले । हवाईजहाजको बारेमा विभिन्न कुराहरू खोज्दै जाँदा उनी विस्तारै ड्रोनको क्षेत्रमा जोडिए । 

प्लस टुको अध्ययन सकिएपछि उनी इन्जिनियरिङ पढ्ने विषयमा सोचिरहेका थिए । पढाइप्रति राम्रो लगाव भएका यादवले नेसनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ अध्ययन गर्न थाले ।

“मेरो भाग्य भन्नुपर्छ म जुन क्षेत्रतर्फ आकर्षित थिएँ, नेसनल कलेज अफ इन्जिनियरिङमा त्यही क्षेत्रमा आवद्ध हुने मौका पाएँ,” उनी भन्छन्, “म त्यहाँको रोबोटिक्स क्लबमा जोडिएँ । त्यही वर्ष रोबोटिक्स एसोसियसन नेपालले रोबोटिक्स कम्पिटिसन आयोजना गर्‍यो । कलेजबाट उक्त प्रतिस्पर्धामा सहभागी भएपछि मैले पहिलो पटक ड्रोन बनाउने अवसर पाएँ ।”

उक्त ड्रोन बनाएको पल नै उनको जीवनको सबैभन्दा अविष्मरणीय बन्न पुग्यो । त्यसपछि विभिन्न प्रतिस्पर्धामा सहभागी हुन थालेका यादव सन् २०१८ मा रोबोटिक्सतर्फको लोकसको ड्रोनाचार्य (पुल्चोक इन्जिनियरिङको इलेक्ट्रोनिक्स तर्फ) मा पहिलो बनेका उनी मेकट्रिक्सको ‘कुरुक्षेत्र’ (मेकानिकल इन्जिनियरिङतर्फ) फर्स्ट रनरअप बन्न सफल भए । 

यसरी विभिन्न प्रतिस्पर्धामा सहभागी हुँदै जाँदा उनको भेट बिक्रान्त कार्कीसँग भयो । “रोबोटिक्स एसोसियसनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा विक्रान्त दाइसँग मेरो भेट भएको थियो,” उनी सुनाउँछन्, “त्यसपछि उहाँ इनोभेसन घरमा आउनु भएपछि म पनि त्यसैमा जोडिएँ ।”

‘पार्ट टाइम’को रूपमा इनोभेटिभ घर नेपालमा आवद्ध भएका रामकृष्ण सुरुवाती दिनमा त्यहाँका विभिन्न प्रोजेक्टमा सघाउन थाले । पछि ड्रोन संयोजक हुँदै उनी हाल इनोभेटिभ घरको अनुसन्धान र विकास प्रमुख बनेका छन् ।

ड्रोन निर्माणको कार्य गर्दै जाँदा उनी विभिन्न परियोजनाका लागि स्टार्टअप कम्पनी मधुका ड्रोनसँग जोडिए । कार्यालय समयमा उनी मधुका ड्रोनमा आएका प्रोजेक्टमा काम गर्थे भने बाँकी समय इनोभेटिभ घर नेपालमा बिताउँथे ।

२०७० बाट सुरु भएको इनोभेटिभ घर नेपाल प्रभावकारी ढङ्गले अगाडि बढ्न सकिरहेको थिएन । यादव र कार्की जोडिएपछि पकेट कम्पनीका रूपमा रहेको इनोभेटिभ घरले गति लिन थाल्यो । 

गैर नाफाम‍ूलक यो संस्था विशेषगरी अनुसन्धान र विकासमा केन्द्रित छ । जहाँबाट आफूले थुप्रै कुरा सिक्ने अवसर पाएको यादव बताउँछन् ।

इनोभेटिभ घर नेपालमा रहेर उनले पोखराको फेवा ताल सफा गर्ने रोबोट र नगरपालिकाको धुलो सफा गर्ने ब्रुमरको प्रोटोटाइप बनाएर प्रदर्शन समेत गरे ।

“हामीले तयार पारेको ब्रुमरको प्रोटोटाइप देखेपछि उहाँहरू हामीसँग काम गर्न इच्छुक देखिनु भएको थियो,” उनी भन्छन्, “तर, खै कसरी अन्तिममा बाहिरबाट सामान आयो । हामीले यहीँ निर्माण गर्ने भनेर ठूलो ठाउँ पनि लिएका थियौँ । त्यहाँ हामीले मण्डला थियटरको स्टेज सहितको ट्रक पनि निर्माण गरेका थियौँ ।”

त्यसो त नास्टले बनाएको भनिएको यान्त्रिका रोबोटका परिकल्पनाकार समेत यिनै रामकृष्ण यादव हुन् । इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङमा स्नातक पूरा गरेका उनले दुई वर्षदेखि आफ्नो पढाइ बीचैमा रोकेर विभिन्न परियोजनामा काम गरिरहेका छन् । ड्रोन नेपालका लागि उच्च सम्भावना बोकेको क्षेत्र भएको उनको बुझाई छ ।

“हाम्रो नेपालमा जुन किसिमको भौगोलिक बनावट छ, त्यसका लागि ड्रोन एकदमै सुहाउँदो र फाइदाजनक उपकरण हो,” उनी भन्छन् ।

“तर, यहाँ प्रविधि भित्र्याएर मात्र पनि हुँदैन । त्यसलाई मान्छेले आत्मसाथ गर्ने वातावरण पनि सिर्जना गर्नु पर्छ । अहिले नेपालमा ड्रोनका लागि विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्था पनि लागू भएको अवस्था छ । कडा नियम भएकाले साधारण मानिसहरूलाई काम गर्न पनि गाह्रो छ । ड्रोनलाई देख्ने वित्तिकै जो कोहीले यसलाई गैरकानूनी ठान्ने स्थिति छ ।”

यसरी विभिन्न नीतिका कारण सर्वसाधारणले गाह्रो परिस्थिति सामना गर्नु परेको यादवको बुझाई छ । देश विकासका लागि ड्रोनको प्रचुर सम्भावना भएपनि विभिन्न नीतिले गर्दा गाह्रो बनाएको उनी बताउँछन् ।

यद्यपि उनी इनोभेटिभ घर मार्फत नेपाल सरकारले बनाएका नीति पछ्याउँदै विभिन्न खोज तथा अनुसन्धानका कार्यमा केन्द्रित छन् । यादवले नेपालको कृषि क्षेत्रमा ड्रोन प्रयोगको राम्रो सम्भावना देखेका छन् । मानिसहरूले नयाँ प्रविधि स्वीकार गर्न समय लाग्ने भएकाले कृषि क्षेत्रमा ड्रोनको प्रयोगका लागि समेत अझै कुर्नुपर्ने उनको भनाइ छ ।

इनोभेटिभ घर नेपाल मार्फत कृषिका लागि ड्रोन निर्माण गर्दा सही नीति नभएकाले प्रयोगात्मक रूपमा अघि बढ्न नसकेको उनको तीतो अनुभव छ । “हामीले कृषिका लागि यस्तो मोडालिटीमा काम गरेका थियौँ, जहाँ कुनै एउटा व्यक्तिले ड्रोन प्रयोग गरेर निश्चित क्षेत्रभर रहेका किसानलाई सुविधा दिन सकोस्,” उनी भन्छन् ।

“अन्य ड्रोन जस्तो ठूला ड्रोनका लागि देशमा सुहाउँदो नीति छैन । यदि सरकारले त्यस्ता क्षेत्रलाई सहज हुनेगरि नीति बनाइदिए राम्रोसँग दिगो रूपमा काम गर्न सकिन्छ ।” सरकारले बनाएका नीतिमा रहेर ड्रोन उडाउने प्रक्रिया निकै झन्झटिलो भएको यादवको भोगाइ छ । त्यसका लागि सरकारले सहजीकरण गर्ने किसिमको नीति बनाएर काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने मत उनको छ ।

यादव आफ्नै शैलीमा ड्रोन क्षेत्रबाट देशका विभिन्न परियोजनामा काम गर्न चाहन्छन् । तर, नेपालमै ड्रोन बनाउन तथा एसेम्बल गर्न आवश्यक सामग्री पाउन भने निकै गाह्रो छ । “ड्रोन भन्ने बित्तिकै सरकारी अधिकारीहरूले त्यसलाई लामो प्रक्रियामा धकेलिदिन्छन्,” उनी भन्छन् ।

“यसमा काम गर्नका लागि हरेक सरकारी निकायका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सामान ल्याउन चीन बाहेक अर्को विकल्प छैन । जसले गर्दा ड्रोनको परियोजनामा काम गरिरहँदा विभिन्न समस्या सामना गरिरहनु पर्छ ।” ड्रोनलाई व्यवसायिक रूपमा अगाडि बढाउन सके त्यसमा राम्रो सम्भावना रहेको उनी बताउँछन् ।

“अन्य देशमा ड्रोनको जति बजार छ, नेपालमा पनि त्यही स्तरको बजार विस्तार गर्न सकिन्छ,” उनी भन्छन्, “हामीले ५/७ वर्षको व्यापारिक योजना बनाएर अगाडि बढ्यौँ भने राम्रो तरिकाले व्यापार गर्न सक्छौँ । ड्रोनका लागि नेपालमा कृषि मात्र नभएर डेलिभरीमा पनि राम्रो सम्भावना छ ।”

तर यादव आफू भने व्यवसाय गर्नेभन्दा पनि विभिन्न नयाँ नयाँ परियोजनामा काम गर्न रुचाउँछन् । एउटै प्रकृतिको काम गर्दा त्यसले आफूलाई सन्तुष्टि नदिने उनी बताउँछन् । यादवले हालसम्म ५० भन्दा बढी विभिन्न फरकफरक ड्रोन परियोजनामा काम गरिसकेका छन् ।

मधुका ड्रोन सर्भिसमा छँदा उनले विशेषगरी कृषिमा आधारित ड्रोनका लागि काम गरे । उक्त ड्रोनले खेत बारीमा औषधी छर्किने काम गर्ने गर्दथ्यो । जसमा १० लिटर र १६ लिटर क्षमताका ड्रोन थिए ।

त्यस्तै उनले डेलिभरी ड्रोनमा पनि सक्रिय भएर काम गरेका छन् । डेलिभरी ड्रोन विशेषगरी विभिन्न पहाडी क्षेत्रमा हाइटेन्सन लाइनको तार विस्तार गर्न प्रयोग भइरहेको छ ।

त्यसबाहेक पनि उनले ड्रोनमा आधारित अन्य परियोजनामा पनि काम गरेका छन् । उनले नेपाली सेनाका लागि आवश्यक बम डिस्पोजल रोबोट तथा ‘पेलोड ड्रपिङ’ ड्रोनमा सहकार्य गरिरहेका छन् ।

उनलाई सबैभन्दा बढी रुचिको क्षेत्र भने ‘रेसिङ ड्रोन’ हो । रेसिङ ड्रोन हाल विभिन्न भिडियोग्राफीमा लागि उपयोगी मानिन्छ । यादवले तीन ओटा रेसिङ ड्रोन समेत तयार पारेर काम गरिरहेका छन् । 

यादव आफूले बनाएका रेसिङ ड्रोन प्रयोग गरेर विभिन्न किसिमको भिडिओ समेत तयार पार्ने काम गर्दै आएका छन् । विशेषगरी विज्ञापन, म्युजिक भिडिओ र फिल्मका लागि उनले ड्रोन शट खिच्ने गर्छन् ।

यसरी आफैले एसेम्बल गरेर तयार पारेका ड्रोनबाट भएको आम्दानीमा आफू सन्तुष्ट रहेको उनी बताउँछन् । त्यसैगरी विभिन्न परियोजनामा काम गर्दा त्यहाँबाट समेत उनले धेरथोर आम्दानी जुटाइरहेका हुन्छन् । 

नेपाल ड्रोनका लागि नौलो ठाउँ भएकाले यसमा धेरै काम गर्न बाँकी रहेको यादवले देखेका छन् । तर ड्रोन प्रचलनमा आउनु अगावै नेपालमा यसलाई गलत तरिकाले हेर्न थालिएको उनी बताउँछन् ।

“ड्रोन कसलाई बिक्री गर्न दिने, कसले खरिद गर्न पाउने, कसले उडाउन पाउने भन्ने कुराको सही नीति ल्याउनु आवश्यक छ,” उनी भन्छन्, “ड्रोन भिडिओ बनाउन मात्र प्रयोग गरिँदैन, यसलाई हरेक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि सरकारले कस्तो ठाउँमा ड्रोन परीक्षण गर्न पाउने, कस्तो ठाउँमा व्यवसायिक उडान गर्न सकिने, कस्तो ठाउँमा प्रतिबन्ध लगाउने भन्नेमा व्यवहारिक नीति बनाउन सक्नु पर्छ ।”

यादव ड्रोनलाई लिएर नेपालमै केही गर्न चाहन्छन् । स्नातक तहको पढाइ सकेका उनी अहिले त्यसबारे थप अध्ययनका लागि विदेश जाने योजना बनाइका छन् । कहिले जाने, कुन देश जाने भन्ने कुरा भने अझै निश्चित नभइसकेको उनले बताए । अध्ययन सकेपछि पुनः नेपालमा फर्केर यस क्षेत्रमा योगदान दिने उनको अभिलाषा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३