काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो असाेज ३ देखि ‘साउथ एसिया टेलिकम्युनिकेसन रेगुलेटर्स काउन्सिल (एसएटीआरसी)’ वर्कशप आयोजना गर्ने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने वर्कशपमा दक्षिण एसियाका दूरसञ्चार नियामकसहित विभिन्न कम्पनी र साझेदारहरूकाे सहभागिता हुनेछ ।
वर्कशपमा विशेषगरी फाइभजी, आर्टिफिसियल इन्टिलिजेन्स (एआई), ब्लकचेन, मसिन लर्निङ लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
एसएटीआरसी दक्षिण एसियाली मुलुकका दूरसञ्चार नियामकहरुकाे साझा संगठन हो ।
यसअन्तगर्त सदस्य मुलुकहरूले हरेक वर्ष वर्कशप आयोजना गर्दै आएका छन् । सोही अनुरुप यो वर्ष नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा वर्कशप हुन लागेको हो ।
धुलिखेलको हिमालयन दृष्य रिसोर्टमा आयोजना हुने कार्यक्रममा एसएटीआरसीका महासचिव मासानोरी कोन्डोसहित दूरसञ्चार क्षेत्रसँग सम्बन्धित ३० जना विदेशी प्रतिनिधि र ५० जना नेपाली प्रतिनिधिहरुको उपस्थिति रहने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश अचार्यले जानकारी दिए ।
विश्व दूरसञ्चार क्षेत्रका समयसान्दर्भिक विषयलाई उठान गरिने यो छलफलमा सार्क क्षेत्रका सबै देशसहित इरानबाट समत प्रतिनिधि उपस्थित हुने उनले बताए ।
कार्यक्रममा कुल १० ओटा सत्र चल्नेछ, जसमा फाइभजीको आवश्यकता र फाइभजी लागू गर्दा हुनसक्ने चुनौतीको विषयमा विशेष छलफल हुनेछ ।
यो विषयमा ह्वावे, जीएसएमए, क्वालकम इन्डिया, भुटान, नेपाल, माल्दिभ्स तथा दूरसञ्चार कम्पनीका प्रतिनिधिले प्रस्तुति दिनेछन् ।
त्यस्तै कार्यक्रममा लास्ट माइलसम्म कनेक्टीभिटीका लागि नयाँ प्रविधिको विषयमा समेत छलफल हुने जनाइएको छ । अर्थात् नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहकको घरसम्म सेवा दिने विषयमा छलफल हुनेछ ।
यो विषयमा विभिन्न देश तथा कम्पनीका प्रतिनिधिले आफ्नो धारण राख्नेछन् ।
साथै नयाँ प्रविधि ब्लकचेन, एआई, मसिन लर्निङ लगायतका विषयमा पनि छलफल हुनेछ ।
कार्यक्रमको अन्तिम सत्रमा व्यक्तिगत डेटा सुरक्षासँग सम्बन्धित विषयमा छलफल हुनेछ । यो सत्रमा फेसबुक र एसएटीआरसीका प्रतिनिधिले आफ्नो प्रस्तुति दिने तय भएको अचार्यले जनाए ।