ट्रेन्डिङ:
यसकारण असफल हुन्छन् प्रायः स्टार्टअप एक महिनामै भित्रियो ३ अर्बका ९ लाख मोबाइल नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! ३५ सयले लिए टेलिकमकाे ई-सिम इन्टरनेट र आईपीटिभी सहित साढे २५ हजार रूपैयाँमा सीजीको ३२ इन्चको टिभी ‘९.६ जीबीपिएस सम्मको स्पीड हुने वाइफाइ सिस्टमको तयारी गरिरहेका छौं’ गोपनीयता भंग गरेको भन्दै टिकटकलाई झन्डै ४ अर्ब जरिवाना अब स्मार्ट क्यूआर र नेपालपे क्युआर मार्फत एक आपसमा भुक्तानी गर्न सकिने यस्ता छन् एन्ड्रोइड १३ का आकर्षक नयाँ फिचरहरू आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

यसकारण असफल हुन्छन् प्रायः स्टार्टअप

टेकपाना टेकपाना

भदौ १४, २०७९

यसकारण असफल हुन्छन् प्रायः स्टार्टअप

काठमाडाैं । कुनै पनि सफल व्यवसायका अघि कैयौँ असफलता गुम्सिएका हुन्छन् । असफल होस् भनेरै कसैले व्यवसाय गरेको हुँदैन । तर, स्टार्टअप सुरु गर्न खोज्दा स-साना कुरामा ख्याल नराख्दा व्यवसाय धरापमा परिरहेकाे हुन्छ ।

स्टार्टअप व्यवसायको परिभाषा ठाउँ, क्षेत्र र भूगोल अनुसार भिन्नाभिन्नै हुन्छ । स्टार्टअप त्यस्ता व्यवसाय हुन्, जो आफ्नो क्षेत्रमा उदाइरहेका छन्, जसले नयाँ तरिका अपनाएर व्यावसायिक रूपमा आम सर्वसाधारण वा व्यवसायीका समस्यालाई समाधान गरेका हुन्छन् ।

नयाँ तरिकाले नयाँ कामको थालनी गर्नुलाई स्टार्टअप भनिन्छ । स्टार्टअप कुनै क्षेत्रका नयाँ हुन्छन् भने कुनै क्षेत्रका लागि नयाँ तरिकाले गरिएका काम हुन्छन् ।

स्टार्टअप, व्यवसायको सुरुवाती चरण भएकाले त्यसमा थुप्रै चुनौती हुने गर्छ । स्टार्टअप सुरु गर्न चाहने व्यक्तिमा त्यस्ता चुनौतीको सामना गर्ने आत्मबल हुनुपर्छ ।

आज हामी विश्वव्यापी रूपमा सुरु भएका स्टार्टअप किन असफल हुन्छन् र त्यसबाट बचाउँन उद्यमीले के के गर्न सक्छन् भन्ने विषयमा जानकारी दिँदै छौँ ।

फोर्ब्सका अनुसार व्यापारलाई ठूलो कुरा बनाउन खोज्दा ९० प्रतिशत स्टार्टअप असफल भएका छन् । त्यसोभए अन्य कुन कुन कुराले स्टार्टअप असफल भइरहेका छन् त ?

बाँकी १० प्रतिशत स्टार्टअपले त्यस्तो कुन विधि अपनाए, जसले गर्दा उनीहरू सफल भइरहेका छन् ? आज हामी यिनै प्रश्नको उत्तर दिँदैछौँ ।

सबै काम एक्लै गर्न खोज्नु

कुनै पनि कम्पनीको एक्लो संस्थापक हुनु राम्रो कुरा हो । त्यसमा तपाईंको आफ्नै योजना, सिद्धान्त र विचारले स्वतन्त्र रूपले काम गर्न पाउँछ ।

तर, यसो गर्दा स्टार्टअप आफ्नो रहर पूरा गर्न मात्र सुरु गरेजस्तो हुन्छ । यसमा विभिन्न क्षेत्रका अनुभवी तथा दक्ष व्यक्तिको आवश्यकता पर्छ ।

एक्लै सुरुवात गर्न नै सकिँदैन भन्ने पनि होइन । तर, विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिको संलग्नता र साथ भयो भने सफल भइन्छ ।

एक्लै स्टार्टअप सुरु गर्दा कहाँ गलत भइरहेको हुन्छ त ?

कुनै पनि कम्पनीको स्थापना गर्नु भनेको चुनौतीको विषय हो । बजारमा भएका अन्य प्रतिस्पर्धीभन्दा केही नयाँ र आकर्षक तरिकाले स्टार्टअप एक्लै सुरु गर्न गाह्रो हुन्छ ।

स्टार्टअपका लागि कडा परिश्रम, पूर्ण समर्पण र नौलो तरिकाले व्यापार सुरु गर्न भिन्नै रणनीति चाहिन्छ । त्यसैले आफ्नो विचार मिल्ने, समर्पण भएर काम गर्ने आफ्नै स्तरको मान्छेलाई सह-संस्थापकका रूपमा राख्दा स्टार्टअप सफल हुन सक्छ ।

जटिल व्यवासायिक योजना

व्यवसाय सानो होस् वा ठूलो, त्यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका व्यवसायिक योजनाले खेलेको हुन्छ । व्यवसायिक योजनालाई स्टार्टअपको मेरुदण्ड पनि भन्न सकिन्छ ।

कस्तो स्टार्टअप गर्ने, त्यसका लागि के कुरा आवश्यक पर्छ, बजार कस्तो छ, बजारमा आइसकेपछि त्यसको प्रभाव कस्तो पर्छ, बिक्ती भइसकेपछि त्यसको प्रतिक्रिया कस्तो हुन्छ भन्ने यावत् कुराको बारेमा एउटा निश्चित व्यवसायिक योजना हुनु आवश्यक छ ।

तर, स्यार्टअप सुरु गर्ने भन्दैमा जटिल व्यवसायिक योजना बनाउन हुँदैन । अनावश्यक लक्ष, जटिल योजनाले स्टार्टअपलाई सधैँ द्विविधामा राखिरहेको हुन्छ ।

त्यसैले कुनै पनि व्यवसायको योजना बनाउँदा कि बजार अध्ययन गर्नुपर्छ, कि कुनै विज्ञको सल्लाह लिएर त्यही अनुसारको काम गर्नुपर्छ ।

यसमा सबै काम तपाईं आफैंले गर्ने भएकाले आफैंले बजार बुझेको वा त्यस सम्बन्धी गहिरो अध्ययन गर्दा स्टार्टअप सफल हुन्छ । वैज्ञानिक रूपमा व्यवस्थित व्यवसायिक योजनाले भावी दिनमा आउन सक्ने चुनौतीलाई समाधान गर्न सघाउँछ ।

लगानी पहिल्यै प्रयोग गर्नु

स्टार्टअप कुनै व्यक्तिको विचार हो । यसलाई सुरुवात गर्न सो मान्छेसँग विचार, योजना र रणनीति बाहेक अरू कुरा नहुन सक्छ । यसमा लगानीले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

कुनै पनि लगानिकर्ताबाट लगानी भित्र्याइसकेपछि त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुराको योजना बनाउनुपर्छ ।

लगानी आउनासाथै त्यसलाई खर्च गर्न लागियो भने जुन कुरामा बढी खर्च गर्नुपर्ने हो, त्यसमा उपयुक्त तरिकाले खर्च गर्न सकिँदैन ।

यसरी खर्चको तालमेल नमिल्दा स्टार्टअप असफल हुन्छन् । त्यसका लागि सबैभन्दा पहिले लगानीको योजना बनाउनुपर्छ । विज्ञको सल्लाह लिएर धैर्य गरी लगानी गर्दा उपयुक्त हुन्छ ।

स्टार्टअप सार्वजनिक हुनुभन्दा धेरै अघिबाट पर्खाइ सुरु हुनु

हामीलाई आफूले गरेको कामको परिणाम छिट्टै आओस् भन्ने चाहना हुन्छ । त्यस्तै ग्राहकलाई पनि बजारमा कुनै नयाँ उत्पादन या सेवा आउँदै छ भन्ने जानकारी भयो भने उनीहरूलाई छिट्टै अनुभव गर्ने इच्छा हुन्छ ।

यदि हामीले सामान वा सेवा ल्याउनुभन्दा धेरै अघि नै प्रचार गर्‍यौँ भने त्यो सामान बजारमा पुग्नेबेलासम्म त्यसको लोकप्रियता घट्छ ।

त्यसका लागि तपाईंले आफूले योजना बनाएको केही समयबाट नै कामको थालनी गर्नुपर्छ ।

सेवा वा उत्पादन बजारमा ल्याउनुभन्दा केही समयअघिबाट प्रचार गरियो भने त्यसले राम्रो सफलता पाउँछ । त्यस्तै कतिपय स्टार्टअप सार्वजनिक हुन धेरै समय लगाउँछन् ।

यसरी धेरै समय लगाउँदा उनीहरूको धेरै नै खर्च भइसकेको हुन्छ । त्यसैले जतिसक्दो चाँडो स्टार्टअप लन्च गरेर सेवा वा उत्पादन विस्तार गर्नुपर्छ ।

लन्चपछि प्रयोगकर्ताको प्रतिक्रिया अस्वीकार गर्नु

तपाईंको स्टार्टअपको सफलता पछि थुप्रै प्रयोगकर्ताको प्रतिक्रियाको साथ रहेको हुन्छ । कुनै पनि सेवा वा उत्पादनलाई प्रयोगकर्ताको मागअनुसार अगाडि बढाउन सकियो राम्रो बजार पाउँछ ।

प्रायः स्टार्टअपले सुरुवातबाटै आफूलाई सफल भएको महसुस गर्छन् ।

क्षणिक चर्चा सफलता होइन भन्ने बुझ्न नसक्दा उनीहरूको स्टार्टअप धरापमा परिरहेको हुन्छ । त्यसैले प्रयोगकर्ताको प्रतिक्रियालाई आत्मसात् गर्दै त्यही अनुसार सेवा र उत्पादन विस्तार गर्दै लग्नुपर्छ ।

उचित दिशा र लगावको अभाव

स्टार्टअप सुरु गर्नु भनेको आफ्नै अस्तित्व बिर्सिएर कम्पनीको अस्तित्व जोगाउनु हो । यसमा सफल हुनका लागि दृढ संकल्प, लगाव र कडा परिश्रमका साथसाथै उपयुक्त दिशाको आवश्यकता पर्छ ।

कुनै पनि स्टार्टअपको भविष्य के वा कसरी अगाडि बढ्छ भन्ने कुरालाई त्यसमा प्रयोग भएका थुप्रै कुराले निर्धारण गरेका हुन्छन् ।

आफूले कुन उद्देश्यले स्टार्टअप सुरु गरेको हो, त्यसैलाई निरन्तरता दिन नसक्दा कैयौँ स्टार्टअप असफल भएका घटना छन् । त्यसैले स्टार्टअपको लक्ष के हो भन्ने कुरालाई आत्मसात् गरी त्यसैमा लागियो भने सफल भइन्छ ।

गलत कर्मचारी राख्नु

स्टार्टअप भनेको सानो स्रोत तथा साधनबाट सुरु हुने व्यवसाय हो । यसमा कुनै पनि कुरा आवश्यकता भन्दा बढी भयो भने असफलताको भुमरीमा पर्न जान्छ ।

उदाहरणका लागि स्टार्टअप सुरु गर्दा प्रायः संस्थापकले कम्पनी ठूलो छ भन्ने देखाउनका लागि अनावश्यक कर्मचारी राखिरहेका हुन्छन्, जसले गर्दा खर्च त बढ्छ नै, साथसाथै व्यवस्थापनमा समेत चुनौती आउँछ ।

अर्को कुरा कर्मचारी सङ्ख्या आवश्यकता अनुसार राखे पनि कम्पनीलाई उपयुक्त कर्मचारी राख्न नसक्दा स्टार्टअप असफल भइरहेका हुन्छन् ।

त्यसैले आफ्नो स्टार्टअप कम्पनीका लागि उपयुक्त कर्मचारी छनौटमा विज्ञको सहयोग लिन सक्नुहुन्छ ।

अपरिपक्व र अपर्याप्त तरिकाले स्टार्टअप वृद्धि गर्नु

इनोभेसन फुट प्रिन्ट्सको अध्ययन अनुसार ९० प्रतिशत स्टार्टअप अपरिपक्व तथा अपर्याप्त तरिकाले व्यवसाय वृद्धिका कारण असफल भइरहेका हुन्छन् ।

स्टार्टअप कम्पनीलाई समयभन्दा अघि नै ठूलो बनाउन वा देखाउन खोज्दा कैयौँ व्यवसाय हुर्किन नपाउँदै मरिरहेका छन् ।

यसमा सबैभन्दा बढी दोष अनावश्यक पक्षमा गरिने लगानीलाई जान्छ । कम्पनीका लागि आवश्यकभन्दा बढी सामग्री एकैपटक खरिद गर्न खोज्दा लगानी जोखिममा परिरहेको हुन्छ ।

अनावश्यक कर्मचारी, स्रोत तथा साधनले गर्दा पनि स्टार्टअप धरापमा परिरहेका छन् । त्यसका लागि स्टार्टअपलाई एकैपटक भन्दा पनि विस्तारै अगाडि बढाउँदै लग्नुपर्छ ।

यदि कुनै पनि स्टार्टअप सुरु गर्ने योजना छ भने घरको सानो कोठाबाट पनि सुरु गर्न सकिन्छ । त्यसैले अनावश्यक र अपरिपक्क रूपमा स्टार्टअपको आकार बढाउन हुँदैन ।