close

सजिलो भनिएको डिजिटल भुक्तानीमा बेलाबेला किन आइपर्छ बाधा ?

टेकपाना टेकपाना

बैशाख २०, २०८२ ०:७

सजिलो भनिएको डिजिटल भुक्तानीमा बेलाबेला किन आइपर्छ बाधा ?

काठमाडौं । मोबाइलबाट पैसा पठाउँदा वा पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने क्रममा कहिलेकाहीँ सेवा अवरुद्ध हुँदा तपाईंले पनि सास्ती भोग्नुभएको होला । डिजिटल भुक्तानीले दैनिक जीवन सहज बनाए पनि बेलाबेलामा देखिने यस्ता समस्याले प्रयोगकर्तालाई हैरान बनाउने गर्छ भने सेवा प्रदायकलाई तत्काल समाधानका लागि दबाब पर्छ । आखिर दैनिक जीवनको अभिन्न अंग बनिसकेको डिजिटल भुक्तानी प्रणाली कहिलेकाहीँ किन अवरुद्ध हुन्छ त ?

डिजिटल भुक्तानी प्रणाली हामीले प्रयोग गर्दा जति सहज देखिन्छ, यसको पछाडिको संरचना त्यति नै जटिल र अन्तरनिर्भर छ । काठमाडौं फिनटेकका संस्थापक संजिव सुब्बा भन्छन्, “हामीले प्रयोग गर्ने सेवा बैंक, वालेट वा भुक्तानी सेवा प्रदायकमा मात्र सीमित हुँदैन । यसको पछाडि विद्युत, इन्टरनेट, टेलिफोन, डेटा सेन्टर र अन्य थुप्रै तेस्रो पक्ष (थर्ड पार्टी) हरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

उनी एक अनुभव सुनाउँछन्, “एकपटक कार्ड सिस्टम अवरुद्ध भयो । कारण खोज्दै जाँदा थाहा भयो, कतै कुनै मजदुरले अन्जानमा इन्टरनेटको फाइबर अप्टिक काटिदिनु भएको रहेछ, जसले गर्दा कार्डसँगको कम्युनिकेशन नै बन्द भयो ।” उनको अनुभवले देखाउँछ, समस्या सेवा प्रदायकको आफ्नै प्रणालीमा मात्र नभई बाह्य कारणले पनि आउन सक्छ, जसको समाधानमा अरूमाथि निर्भर हुनुपर्दा समय लाग्छ ।

डिजिटल बैंकिङ क्षेत्रका जानकार रोबिन कुमार नेपालका अनुसार प्रयोगकर्ताले २४ सै घण्टा सेवा सुचारु होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । तर, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) सधैं एकनासले बलियो नहुन सक्छ । उनी भन्छन्, “डीपीआई सबै ठाउँमा उत्तिकै राम्रो र रोबस्ट नहुन सक्छ, कहिलेकाहीँ समस्या देखिन सक्छ । समस्या आउँदैमा सीधै बैंक वा वालेटलाई मात्र दोष दिन मिल्दैन, समस्याको जड कहाँ छ भनेर पहिल्याउनुपर्छ ।”

यो प्रणालीलाई सुचारु राख्न र सुधार गर्न निरन्तर ठुलो लगानी आवश्यक पर्छ । खल्ती डिजिटल वालेटका सीईओ विनय खड्का पूर्वाधार र लगानीको महत्व दर्शाउँदै भन्छन्, “कुनै पनि क्षेत्र सुधार हुन त्यसमा गरिएको लगानीको सुनिश्चितता चाहिन्छ । सर्भर आयात, कर, दक्ष जनशक्ति, सुरक्षा प्रणाली र मर्मतसम्भारमा ठुलो लागत हुन्छ ।” उनी थप्छन्, “यो लागत धान्ने र प्रणालीलाई थप सुदृढ गर्न पुनः लगानी गर्ने खालको दिगो आर्थिक मोडेल (रेभिन्यु फ्रेमवर्क) आवश्यक छ । उदाहरणका लागि, हामीले ग्राहक सेवाका लागि मात्रै पचासौं जनशक्ति राखेका छौं, जसले सञ्चालन खर्च बढाउँछ ।” प्रभावकारी ग्राहक सेवा र समस्या समाधान संयन्त्र पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

डिजिटल भुक्तानीमा अवरोध आउनु नेपालको मात्र समस्या नभइ विश्वव्यापी चुनौती भएको जानकार बताउँछन् । संजिव सुब्बा भारतको लोकप्रिय यूपीआईमा पनि बारम्बार ठूला आउटेज (सेवा अवरोध) हुने गरेको उदाहरण दिन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले धैर्य गर्नुपर्ने र उपलब्ध वैकल्पिक माध्यम प्रयोग गर्नुपर्ने उनको सुझाव छ । “कहिलेकाहीँ समस्या आउँछ, तर यसलाई लिएर प्रणाली नै खत्तम भयो भनेर निराश हुनुभन्दा हौसला दिनुपर्छ । नेपाली कम्पनी र बैंकहरूले विश्वस्तरीय सेवा दिइरहेका छन्,” सुब्बा भन्छन् ।

विगतमा नेपालमा पनि नबिल बैंकको एनबैंक एप, इसेवा, एफवानसफ्टद्वारा निर्मित विभिन्न मोबाइल बैंकिङ, एनआईसी एसिया बैंकको एप तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणालीमा समस्या देखिएका थिए । यी घटनाहरूले प्रणालीको जटिलता र सुधारको निरन्तर आवश्यकतालाई दर्शाएको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ ०:७