close

अपूर्व क्षितिजको कमेडी भिडिओमाथि साम्प्रदायिक राजनीतिको दाउपेच

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १७, २०७९ १८:५६

अपूर्व क्षितिजको कमेडी भिडिओमाथि साम्प्रदायिक राजनीतिको दाउपेच

काठमाडौं । सामाजिक सञ्जाल तथा इन्टरनेटको बढ्दो प्रयोगले समाजमा अनेक घटना निम्त्याइ रहेको छ । सामान्य विषयवस्तु समेत सामाजिक सञ्जालको प्रयोगले निकै विवादित र संवेदनशील बनिदिन्छन् ।

पछिल्लो समय हास्य कार्यक्रम कमेडी क्याफे नामक कार्यक्रममा ‘नेवारको परम्परा’ शीर्षकमा स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहले गरेको हास्य व्यङ्ग्य भिडिओ सामग्रीकै कारण परिस्थितिले गम्भिर रूप लिएको छ । 

उनले आफ्नो युट्युब च्यानलमा उक्त भिडिओ अपलोड गरेका थिए । नकारात्मक कमेन्टको बाढी आएपछि उनले उक्त भिडिओ हटाउँदै माफी समेत मागे । नेवारी लवज, बोली र परम्परालाई कमेडी क्याफेमा हास्यको मुख्य विषयवस्तु बनाएका उनले आफ्नो मधेसी परम्परा र संस्कृतिलाई समेत जोडेका छन् ।

तर नेवारी समुदाय र परम्पराको खिल्ली उडाएको आरोप लगाउँदै केही व्यक्तिहरूले प्रहरीमा जाहेरी दिए । त्यसै आधारमा पक्राउ परेका उनीमाथि अदालतबाट १० दिनको म्याद थपेर प्रहरीले अनुसन्धान चलाएको छ ।

अहिले उनलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १० को दफा १६५ को सामाजिक रीतिस्थितिलाई खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । अदालतबाट कसूर प्रमाणित भएको खण्डमा अपूर्वलाई एक वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिवानाको सजाय हुनसक्छ ।

उनी पक्राउ परेपछि थुप्रै व्यक्तिहरूले अनेक कोणबाट विश्लेषण गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने क्रम सुरु भएको छ । कसैले उनको भिडिओ सामग्रीलाई अनजानमा भएको सामान्य गल्ति भनेका छन् भने कतिले राजनीतिक स्वार्थ प्रेरित रहेको ठानेका छन् ।

त्यसो त कुनै पनि धार्मिक समुदाय, क्षेत्र वा जात जातिमाथि गरिएका व्यङ्ग्यात्मक सामग्रीबाट विवाद सिर्जना भएको यो नौलो घटना होइन । तर कुनै समुदायमाथि गरिएको व्यङ्ग्यकै कारण कलाकार हिरासतमा पुगेका दृष्टान्त भने विरलै छन् ।

अनलाइन कानूनी परामर्श सम्बन्धी कम्पनी मेरोअड्डाका संस्थापक आलोक सुवेदी अपूर्व क्षितिज प्रकरण राजनीतिक मुद्दा बनाइएको हुनसक्ने आशङ्का गर्छन् । “किनभने यसअघि कमेडियन प्रनेश गौतम व्यङ्ग्यात्मक भिडिओ सामग्रीकै कारण हिरासतमा पुगिसकेका छन् । त्यतिखेर प्रहरी प्रशासनको उक्त कदमको निकै विरोध भएको थियो । एकपटक भइसकेको कुरालाई फेरी बिउँत्याउन खोज्नुको पछाडि राजनीतिक मुद्दा बनाइरहेको जस्तो लाग्छ ।”

यो विषय वाक स्वतन्त्रताको कुरा मात्र नभई एक कमेडियनले आफ्नो पेसागत काम मात्र गरेको उनको भनाई छ । सामाजिक सञ्जाल तथा इन्टरनेटमा हेर्नका लागि अनेकौँ सामग्री भइरहँदा उस्तै विषयलाई लिएर साम्प्रदायिक दङ्गा निम्त्याउन खोज्नु अस्वभाविक रहेको सुवेदीको तर्क छ ।

यहाँनिर स्वतन्त्र रूपमा समाजिक विषयवस्तुलाई व्यङ्ग्य मार्फत पस्किँदै आएका कमेडियनसँग एक्कासी कसरी राजनीतिक मुद्दामा जोडियो भन्ने कुरा आउँछ । यसो त अपूर्व क्षितिज सिंहले कहिल्यै राजनीतिक पात्रका रूपमा कमेडी गरेका छैनन् । “यसलाई राजनीतिक मुद्दा बनाइएको बारे केही रोमाञ्चक विषयहरू छन्,” सुवेदी भन्छन् ।

“पछिल्लो समय सम्पन्न भएको स्थानीय तहको चुनावमा काठमाडौंमा बालेनको पक्षमा समर्थन बढी थियो । त्यसबेला पनि मेयर पदमा उठेका सुमन सायमी र उपमेयर पदकी उम्मेदवार विद्या शाक्य जिको समर्थनका लागि जातीय कुरा उठाएर बालेन लगायत अन्य दलका नेताहरूको विरोध भइरहेको थियो । अहिले पनि केन्द्रिय तथा प्रदेशस्तरीय चुनाव हुँदै छ, एउटा समुदायको भोट पाउनका लागि यो सानो विषयलाई राजनीतिक मुद्दा बनाउन खोजिएको छ ।”

यस्ता घटना सतहमा आइरहँदा ‘वाक स्वतन्त्रता’का कुरा गर्ने गगन थापा जस्ता नेताहरूले मौनता साँध्नुलाई सुवेदीले अर्थपूर्ण रहेको विश्लेषण गरेका छन् । “उहाँहरू चुनावले गर्दा नै मौन बस्नु भएको छ । यो अरू केही नभएर चुनावमा समुदायको भोट पाउनका राजनीतिक मुद्दा बनाइएको हो,” उनी थप्छन् । 

कुनै पनि देशमा यही प्रकृतिको हास्य व्यङ्ग्य गर्दा मुद्दा तथा साम्प्रदायिक दङ्गा नफैलिएको पृष्ठभूमिमा राजनीतिक स्वार्थका लागि अहिले मसला बनाउन खोजिएको र यसबाट नराम्रो संस्कृतिको बिजारोपण भइरहेकोमा उनले जोड दिए । यही प्रकृतिका हास्य व्यङ्ग्य गर्ने प्रचलन रहेको छिमेकी देश भारतमा त्यहाँको कडा कानूनी संयन्त्रका कारण उछालिन नपाएको उनको बुझाई छ ।

“भारतीय कानूनले कमेडियनलाई सुरक्षा दिएको छ,” उनी भन्छन्, “त्यहाँको व्यवस्थाले नै यसरी कमेडी गरेकै भरमा जेल लैजान नहुने नियम बनाएको छ । तर हाम्रोमा भने जनतामाथि भेदभाव भइरहेको  छ । मधेसीको बारेमा हरेक पटक कमेडी गरिन्छ, मिमिक्री गरिन्छ, वर्गमा केन्द्रित भएर कमेडी गरेको पाइन्छ । कमेडीमा मात्र नभई सार्वजनिक रूपमा पनि भेदभाव गरिरहेका हुन्छन् । त्यसमा कुनै एक्सन लिँदैनौँ हामी । तर कलाकारमाथि भने एक्सन लिइरहेका हुन्छौँ ।”

राजनीतिक रूपमा स्थापित व्यक्तिले सामाजिक सञ्जालमा जतिसुकै अपाच्य शब्द बोले पनि, आरोप लगाए पनि कुनै किसिमको कारबाहीको विषय बन्दैन । तर, एउटा कमेडियनले आफ्नो पेसागत काम गर्दा त्यसलाई राजनीतिक मुद्दा बनाएर फसाउन खोज्नु अस्वभाविक रहेको उनले बताए ।

हुन त यसअघि कमेडीको विषयवस्तुलाई लिएर साम्प्रदायिक राजनीतिक गर्न नखोजिएको पनि होइन । मधेसी पात्रको भूमिकामा हास्य व्यङ्ग्य गर्दै आएका कमेडियन सन्दीप क्षेत्री समेत यस्तै विवादको सिकार बने ।

उनको ‘मिठाइलाल जादव’को चरित्रलाई लिएर मधेसी समुदायमा साम्प्रदायिक भावना ब्युँताउन खोजिएपछि त्यस उपरान्त हास्य व्यङ्ग्य कार्यक्रम ‘ह्वाट्स द फ्लप’ आउन छोडेको छ । मधेसी समुदायलाई होच्याएको भन्दै उनको चर्को आलोचना गरिएको थियो । 

गत वैशाखमा भएको स्थानीय तहको चुनावमा माओवादी नेतृ रेणु दाहाललाई शुभकामना दिएको विषयलाई लिएर समेत उनलाई थप विवादित बनाइयो । उनले सामान्य शुभकामना दिएको बताए पनि थुप्रै मानिसहरूले उनको कार्यक्रम बहिष्कार गर्ने अभियान नै चलाए ।

कमेडियन राजनीतिक सिकार बनेको विषयमा हामीले बुझ्न खोज्दा क्षेत्री खुल्न चाहेनन् । आफू केही दिन अघि मात्र विदेशबाट फर्किएकाले अर्का कमेडियन अपूर्व क्षितिजको विषयमा आफू जानकार नभएको क्षेत्रीले बताए । 

धार्मिक विषय वस्तुमा कमेडी गर्दा समेत नेपाली कमेडी क्षेत्र पटक पटक विवादमा आइरहेको हुन्छ । दुई वर्षअघि कमेडी च्याम्पियन नामक ‘हास्य व्यङ्य’ प्रतिस्पर्धामा कमेडियन हिमेश पन्त राम र सीताको कुरा उठाउँदा विवादमा तानिए । प्रतिस्पर्धाको अन्तिम मोडमा धार्मिक विषय उठाउँदा उनका समर्थकभन्दा विरोधी बढी भए ।

उनले माफी मागेपछि उक्त घटना शान्त भएको थियो । त्यस्तै केही साता अघि मात्र धार्मिक भावनामाथि ठेस पुर्‍याएको भन्दै ‘कमेडी हब’का सञ्चलाक तथा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र कमेडियन सिता न्यौपाने विवादमा परे ।

उनीहरूले उक्त कार्यक्रममा भगवान शिव र पार्वतीको खिल्ली उडाएको भन्दै कार्यक्रम बहिष्कारसम्मको आवाज उठाइयो । उनीहरूले सार्वजनिक रूपमा माफी माग्दै युट्युबबाट भिडिओ डिलिट गरेपछि मात्रै उक्त विषय शान्त भयो । 

अब यहाँनिर प्रश्न उठ्छ, धार्मिक जस्तै सामाजिक विषयवस्तुमा कमेडी गर्दा अपूर्व क्षितिज चाहिँ किन हिरासतमा पुगे ? अपूर्वको कमेडीलाई लिएर मुद्दा चलाउनु पर्ने भन्दै अभियान चलाउने समूहको नेतृत्व स्थानीय तह निर्वाचनमा काठमाडौंबाट मेयर पदका लागि उठेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले गरिरहेका छन् । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ८ बाट प्रतिस्पर्धा गर्दैछन् ।

उनी पहिले देखि नै नेवार समुदायको जातिगत भोटबाटै चुनाव जित्ने दाउ खेलिरहेका छन् । एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै सायमीले नेवार जातीको अपमान गर्न खोज्नेलाई कारवाही गर्नुपर्ने मत राखेका छन् । “यस्तो विषयमा माफी दिएर मात्र हुँदैन, भोलि फेरि हुन्छ,” उनले उक्त अन्तर्वार्तामा भनेका छन्, “आज एउटालाई भयो, भोलि अर्कोलाई हुन्छ । यसले जातीय द्वन्द्व निम्त्याउने भएकाले कारबाही गर्नुपर्छ ।”

सिंहलाई कानूनी प्रक्रियामा लगेर कारबाही नगरिकन यो विषय नटुङ्गिने कुरामा उनले लगातार जोड दिइरहेका छन् । यसरी कारबाही गर्दा भोलि अर्को मान्छे सचेत हुने र जातीय भावनामा खेलवाड गर्ने दुस्साहस नगर्ने उनले बताएका छन् । उनी भन्छन, “आज माफी दिँदा भोलि यो समुदायका मान्छे सहने रहेछन् भनेर यस्तो आतङ्क बढ्दै जान्छ, त्यसैले कानून अनुसार कारबाही गर्नुपर्छ ।”

यसो त कमेडियन सिंहले त्यसअघि नै सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत माफी मागिसकेका थिए । अब उप्रान्त त्यसो नगर्ने र आफूबाट गल्ती भएको स्वीकार समेत उनले गरेका थिए । त्यसपछि पनि सामाजिक सञ्जालमा भिडिओ सामग्री पोस्ट गर्दै उनले माफी मागे ।

यसरी बारम्बार माफी मागेपछि उनीबाट अनजानमा गल्ती भएको हुनसक्ने भन्दै उनी विरुद्ध खनिएका केही व्यक्तिहरू लचिलो बन्न समेत खोजे । तर सायमी भने यसलाई जानीजानी गरेको गल्ती भनिरहेका छन् । यसले नेवा समुदायमाथि नै प्रहार गरेको उनको आरोप छ ।

नेवार समुदायबाटै आएका अर्का कमेडियन आयुष श्रेष्ठ भने अपूर्व क्षितिजमाथि कारबाही गर्नुपर्ने मागको विपक्षमा छन् । “यसमा सबैभन्दा पहिले फ्रिडम अफ स्पीच अर्थात वाक स्वतन्त्रताको कुरा आउँछ,” उनी भन्छन्, “वाक स्वतन्त्रता भनेको आफ्नो कुराहरू बोल्न पाउनु पर्छ भन्ने हो ।”

“त्यसैगरी कमेडीको क्षेत्रमा हामी वास्तविकता र अवास्तविकता बीचमा रहेर फिक्सन (काल्पनिकता) मा खेलिरहेका हुन्छौँ । मलाई पनि उसले (अपूर्व क्षितिजले) त्यो भिडिओमा भनेका कति कुरा मन परेको छैन । यसको अर्थ मलाई मन परेन भन्दैमा उसले बोल्नै नपाउने भन्ने हुँदैन । आफ्नो मनको कुरा चाहिँ बोल्न पाउनु पर्छ ।”

बोल्न पाउने भन्दैमा जे पनि बोल्दै हिँड्न नहुने कुरामा जोड दिँदै आयुष भन्छन्, “द्वन्द्व निम्त्याउने र हिंसा फैलाउने किसिमले चाहिँ बोल्नु हुँदैन । कसैलाई गएर पिट, कसैलाई गएर मार भनेको छ भने छुट्टै कुरा हो । तर, त्यो गरेको छैन र उसको आशय जातीय दङ्गा फैलाउने होइन भने कमसेकम बोल्न त पाउनु पर्छ ।”

हरेकलाई सबै कुरा चित्त बुझ्छ भन्ने नहुने भन्दै उनी आफूलाई कुनै कुरा मन नपरेको खण्डमा कारबाही नै गर्नुपर्छ भन्ने माग राख्नु गलत भएको उनको बुझाई छ । “कसैलाई कुनै कुरा मन परेन भने उसले मन परेन भन्न पाउँछ, गाली गर्न पनि पाउँछ, नहेर्न पनि पाउँछ । तर, माफी मागिसक्दा पनि कारवाही नै गर्न खोज्नु गलत हो,” उनी भन्छन् ।

“यसमा समुदायले प्रतिकार गर्नु पनि जायज नै हो । तैँले गल्ती गरेको छस् भन्दा अपूर्वले माफी माग्यो र भिडिओ पनि हटाइयो । यही नै त हो वाक स्वतन्त्रता । यहाँसम्म सबै ठीक थियो । तर, जब कुरा पुलिस प्रशासनमा पुग्यो, जब यसलाई थुन्नुपर्छ, कुट्नु पर्छ भन्ने कुरा आयो, नचाहिने रोपहरू लगाइयो र राजनीतिसँग जोडियो, त्यसपछि मात्र कुरा बिग्रिएको हो ।”

कतिपयले अपूर्व क्षितिज स्वयम् राजनीतिक दलबाट परिचालित भएको आरोप समेत लगाउने गरेको आयुषले सुनेका छन् । चुनाव नजिकिँदै गर्दा समुदायमा आफ्नो प्रभाव पार्न केही अभियान्ताहरूले यो कदम चालिरहेको उनको बुझाई छ । सस्तो लोकप्रियता र रानजीतिमा आफ्नो करियर बनाउनका लागि एउटा निर्दोष मान्छेलाई फसाउन खोज्नु नाजयज भएको उनी बताउँछन् ।

यो विषयमा कुनै अमुक व्यक्तिको राजनीतिक स्वार्थ जोडिँदा अनावश्यक रुपमा बल्झिएको आयुषको बुझाई छ । “जातीय कुरामा क्षितिज अबुझ भएको हो, म मान्छु,” उनले थपे, “उनले भनेका कत्ति कुरा मलाई पनि मन परेको छैन । तर, अबुझ हुनु अपराधी हुनु होइन नि त ।”

यो अभियान चलाउनेले राखेका हरेक माग पूरा गर्छौँ वा मान्न तयार छौँ भन्दा पनि उनीहरूले यो घटना मिलाउन नखोजेको उनले आरोप लगाए । “आफ्नो स्वार्थका लागि उहाँहरू अनावश्यक रूपमा यो घटना लम्ब्याइ रहनु भएको छ,” आयुषले भने । जति नै संवेदनशील कुरा भए पनि थप मानिसहरूलाई आकर्षित गर्नका लागि बहस हुनुपर्ने, हँसि मजाक गर्न पाउनु पर्ने कुरामा खुला रहन आयुषको आग्रह छ ।

वाक स्वतन्त्रताका नाममा आफूलाई लागेका सबै कुरा भन्न पाउनु पर्छ भन्ने कुरामा विश्लेषक श्याम श्रेष्ठ असहमत छन् । “कसैलाई पनि जुनसुकै बेला जे पनि बोल्न पाउनु पर्छ भन्ने स्वतन्त्रता हुँदैन । स्वतन्त्रतामा कर्तव्य पनि हुन्छ,” उनी भन्छन् ।

“हाम्रोमा स्वतन्त्रतालाई अधिकारका रूपमा लिइयो तर कर्तव्य बिर्सिइयो । स्वतन्त्रता भनेको कर्तव्य र अधिकार गरी दुई खुट्टामा हिँड्ने विषय हो । त्यसैले कर्तव्यलाई बिर्सेर अधिकारलाई मात्र खोज्नु गलत हो । सँगसँगै अधिकार हेरेर कर्तव्य बिर्सनु पनि गलत हो ।”

वाक स्वतन्त्रतामा यी दुवै विषयबीच सन्तुलन कायम गर्दै जानुपर्ने कुरामा उनी जोड दिन्छन् । विश्लेषक श्रेष्ठ भन्छन्, “स्वतन्त्रतालाई लिएर सामाजिक दायित्व बिर्सिने घटना हाम्रो समाजमा बढिरहेका छन् । स्वतन्त्रतामा दायित्व ख्याल गरेको देखिँदैन भने दायित्वमा स्वतन्त्रताको पनि याद गरेको देखिँदैन । हाम्रो समाजमा यी दुवै कुराको अभाव छ ।”

अपूर्व क्षितिज सिंहको घटनामा के भएको भन्ने कुरा विश्लेषण गर्न नभ्याइसकेका उनी भन्छन्, “यस घटनामा म अनविज्ञ भए पनि पछिल्लो समय हास्य व्यङ्ग्यले फरक रूप लिइरहेको मैले अनुभव गरेको छु । विगतमा पञ्चायतका अघि उनीहरूको शासनको विरोध गर्दा मह-जोडीले जुन प्रकारले गर्थे, त्यस्तो अहिले छैन ।”

सामाजिक सञ्जाल तथा इन्टरनेटको पहुँच बढ्दै गएपछि छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय कलाकालरका फिल्म बहिष्कार गर्ने अभियान चलिरहेको छ । कुनै धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै आमिर खानको ‘लाल सिंह चड्डा’ बहिष्कार हुँदा खानले करियरमै फ्लप फिल्मको नमीठो स्वाद चाख्नु पर्‍यो ।

धार्मिक संवेदनामा खलल पुर्‍याइएकाले भारतमा प्रायः धार्मिक द्वन्द्व भइरहेको विषय जोड्दै उनी भन्छन्, “भारतमा एक धार्मिक समूहले अर्को धार्मिक समूहको आस्थामा चोट पुर्‍याउँदा दङ्गा भएका घटना छन् । कुनै पनि समाज निरपेक्ष हुँदैन । हरेक समुदायको संवेदनशीलता हुन्छ । जातीय सेन्टिमेन्ट र धार्मिक सेन्टिमेन्ट सबैभन्दा छिटो भड्किन्छ ।

“किनभने त्यो धेरै नै संवेदनशील हुन्छ । अरू संवेदनशीलतालाई मान्छेले सजिलै पचाउँछ । तर, इतिहासमा जातीय, सामुदायिक तथा धार्मिक संवेदनशीलतालाई मानिसहरूले पचाएको देखिँदैन । त्यो घटना बुझेको खण्डमा मात्र के हुनुपर्थ्यो वा कस्तो भइरहेको छ भन्ने कुरा अनुमान गर्न सकिएला ।”

नेवा समुदायलाई कमेडी मन नपर्नु र त्यस विरुद्ध आवाज उठाउनुलाई स्वभाविक मान्न सकिए पनि त्यत्तिकै आधारमा कलाकारलाई जेल पठाउन उचित नहुने साइबर कानूनका अधिवक्ता तथा युट्युबर राष्ट्र बिमोचन तिमल्सेनाको भनाई छ । “प्रस्तुति आपत्तिजनक लागेको विषयमा बोलाएर सम्झाई बुझाई गरेर टुङ्ग्याउन सकिन्थ्यो,” उनी भन्छन्, “होइन भने कुन विषयलाई जोक बनाउने भन्ने कुरा सरकारले नै कानूनमा स्पष्ट उल्लेख गरिदिनु पर्‍यो ।”

कमेडियनले चित्रण गरेको विषय दर्शकको रूपमा कसैलाई मन नपर्नु र त्यस विरुद्ध आफ्नो मत प्रकट गर्नु समेत अभिव्यक्ति स्वतन्त्रताकै विषय भएको उनको बुझाई छ । “तर कसैको अभिव्यक्ति मन परेन भन्दैमा जेल नै हाल्नुपर्छ भन्ने कुरा हुँदैन । अन्यथा अर्काको कुरा चित्त नबुझे थुनामा राख्ने अवस्था बन्न सक्छ । त्यस्तोमा अहिले मैले बोलेको यही कुराका आधारमा भोलि म जेल जानुपर्ने हुनसक्छ ।”

इन्टरनेटले गर्दा सामाजिक परिवेश बढेको र त्यसै अनुसार नयाँ पुस्तामा सोचाइको दायरा समेत खुकुलो हुनुपर्ने तिमल्सेनाको बताउँछन् । चुनाव नजिकिँदै गर्दा सुमन सायमीले त्यो ‘सेन्टिमेन्ट’को फाइदा उठाउन खोजेको बझाईमा उनी समेत सहमत छन् । “प्रनेश गौतम पक्राउ पर्दा बोल्नेहरू अहिले मौन छन्,” उनी भन्छन्, “चुनावमा भोट काटिने डरले उहाँहरू खुलेर नबोल्नु भएको हो । अन्य कलाकारलाई पनि बोलेर आफू किन विवादित बन्ने भन्ने लागेको हुनसक्छ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३